वूगायूमी अर्थात् बुंगमती । ललितपुर महानगरपालिका अन्तर्गत् पर्ने एउटा प्राचीन र मौलिक संस्कृतिले युक्त बस्ती हो । लिच्छविकालीन शासक अंशुवर्माले संवत् २९ मा राखेको अभिलेखले वूगायूमी सम्बोधन गरेको यो ठाउँले धेरै नामबाट आफ्नो परिचय दिइसकेको छ । कहिले मच्छिन्द्रपुरी त कहिले अमरापुरी हुँदै अहिले फेरि बुंगमतीकै नामबाट चिनिने यो क्षेत्र वूगायूमीको नाममा लिच्छविकालमा निकै महत्वपूर्ण क्षेत्रको रुपमा परिचित थियो ।
वूगायूमीको मात्रै होइन, लिच्छवि कालमा चर्चित रहेका अरु विभिन्न नामहरु समेत यतिबेला धेरै परिवर्तन भइसकेको छ । त्यसमध्ये पनि त्यतिबेलाको बुंगमतीको चर्चा र तत्कालीन राजाले त्यो ठाउँलाई दिएको महत्व अरुको भन्दा धेरै छ । लिच्छविकालमा कुर्पासी नामले चिनिने ठाउँलाई अहिले खोपासी भनिन्छ । लेम्बटी नामले चिनिने ठाउँ अहिले लेले भएको छ । वूगायूमी बुंग्मती भएको छ, शङ्खा अहिले साँगा बनेको छ भने नालङ्गा अहिले नाला बनेको छ । यसबाहेक पनि धेरै नामहरु अहिले समयसँगै परिवर्तन हुँदै आएका छन् ।
अंशुबर्माले यही ठाउँमा लेखेकोे अभिलेखमा संवत् २९ को पहिलोपटक चर्चा गरेपछि त्यो संवत् कुन् हो र कसले सुरु गरेको हो ? भन्ने विषयमा धेरै बहस भयो । अझैसम्म पनि इतिहासकारहरुले यसको यकीन गर्न सकेका छैनन् । भारतबाट आएका भगवानलाल इन्द्राजीले भेटेको छैटौं अभिलेखलाई अनुवाद गरेपछि त्यहाँ लेखिएको वूगायूमी ग्रामको चर्चा बाहिर आयो । समयसँगै यहाँको ठाउँ परिवर्तन हुँदै गयो । मध्यकालमा आएपछि त्यहाँको संस्कृतिले कोल्टे फेर्यो र अहिले त्यही मध्यकालदेखि सुरु भएको संस्कृति नै बुंगमतीबासीहरुले अवलम्बन गर्दै आएका छन् ।
अंशुवर्माको सो अभिलेखको शीर्षभागमा नै ‘वूगायूमी ग्राममा बस्ने मुखिया लगायत गृहस्थीहरुलाई कुशल मंगल सोधर आज्ञा गरिएको अभिलेख’ भन्ने उल्लेख गरिएको छ । त्यसबाट पनि त्यो समयमा बुंगमतीको नाम वूगायूमी नै रहेको स्पष्ट हुन्छ ।
कसरी रहृयो वूगायूमी र बुंगमती
इतिहासप्रधान मासिक पत्रिका पूणिर्माको दोस्रो वर्ष र दोस्रो अंकमा गौतमबज्र बज्राचार्यले वूगायूमी शब्द लिच्छविकालभन्दा पहिलेदेखि नै चल्दै आएको दाबी गरेका छन् । लिच्छविकालमा सरकारी कामकाजको भाषा संस्कृत थियो । तत्कालीन राजाहरुले राखेका सबै खाले अभिलेखहरु संस्कृत भाषामा नै लेखिएका छन् । तर, वूगायूमी शब्द संस्कृत शब्द नभएकोले यो पहिलेदेखि नै चल्दै आएको शब्द हुनसक्ने बज्राचार्यको मत छ ।
त्यसो त त्यतिबेलाका अभिलेखमा संस्कृत नामहरुको पनि उल्लेख नभएको भने होइन । चाँगुनारायणको अभिलेखबाट दोलादि्र भन्ने ठाउँको नाम उल्लेख गरिएको छ । पशुपति मृगस्थली जाने बाटोको अभिलेखमा देवग्राम शब्दको उल्लेख गरिएको छ । नक्सालको भन्सारहिटीको अभिलेखमा नीलीशाला भन्ने नाम उल्लेख गरिएको छ, पाटन दरवारको तलेजु चोकको अभिलेखबाट यूपग्राम भन्ने शब्दको प्रयोग गरिएको छ । यसबाहेक हंशगृह, नवगृह जस्ता संस्कृत शब्दहरु धेरै प्रयोग भएको भएपनि वूगायूमी भन्ने गैरसंस्कृत शब्द प्रयोग भएकोले यो कुन् भाषाबाट आएको शब्द हो ? भन्नेमा इतिहासकारहरु समेत अन्योलमा देखिन्छन् ।
लिच्छविकालमा गैरसंस्कृत शब्दहरुमध्ये केही शब्दहरु किराती शब्दसँग मिल्ने पनि भेटिन्छन् । तुङ, पिङ जस्ता शब्दहरु किराँती भाषाबाट आएका शब्दहरु मानिन्छ । यसकै नामबाट फर्पिङ आदि ठाउँहरुको नाम राखिएको थियो । त्यसैले यो वूगायूमी भन्ने शब्दपनि अरु कुनै भाषाबाट आएको हुनसक्ने इतिहासकारहरुको मत छ ।
बुंगमतीको अर्थ
तर, केहीले भने वूगायूमी भन्ने ठाउँको नाम हो भन्नेकुरा मान्न तयार छैनन् । जसरी ललितपुरबासीलाई चिनाउन ललितपुरे, भक्तपुरबासीलाई चिनाउन भक्तपुरे भनिन्छ, त्यसरी नै बुंगमतीबासीलाई चिनाउनको लागि वूगायूमी भनिएको तर्क केहीले गर्ने गरेका छन् । बुंगमतीको मुखपत्रको रुपमा हरेक तीन महिनामा प्रकाशित हुने वूगायूमी त्रैमासिक पत्रिकाका सम्पादक रत्नमान तुलाधर लिच्छविकालमा पनि यो ठाउँको नाम बुंगमती नै रहेको दाबी गर्छन् । यो ठाउँसँग जोडिएका कैंयौं कथाहरुको आधारमा अंशुबर्माले यो गाउँबासीलाई सम्बोधन गर्दा वूगायूमी भनेको भएपनि यसको नाम भने बुंगमती नै रहेको उनको दाबी छ ।
नेवारी भाषामा बुंगा भनेको पानी जम्मा हुने खाल्डो परेको ठाउँ हो । बंुगा क्षेत्रमा पहिलेदेखि नै भमराहरुको धेरै बसोबास रहनेभएकोले रातो मच्छिन्ऽनाथलाई तान्त्रिक विधिद्वारा भमरा बनाएर कलशमा बन्द गरी नगर प्रवेश गराउने चलन कायमै रहेको स्थानीयहरु बताउँछन् ।
लिच्छविकालको अति महत्वपूर्ण ठाउँ
लिच्छविकालका शक्तिशाली राजा अंशुवर्माले किन सोही ठाउँलाई नै आफ्नो महत्वपूर्ण अभिलेख राख्ने ठाउँ तोके ? भन्ने कुरा चासोको विषय बनेको छ । अहिलेसम्म अंशुवर्मा बस्ने कैलाशकुट भवनको बारेमा पत्ता लागेको छैन । तर, उनले यो अभिलेख प्रकाशित गर्ने समयमा कैलाशकुट भवनबाट प्रकाशित अभिलेख भनेर उल्लेख गरेका छन् । अंशुवर्माको एकल अभिलेखमा मात्रै उनले कैलाशकुट भवनको नाम उल्लेख गरेका छन् । शिवदेवसँगको संयुक्त अभिलेखहरु मानगृहबाट नै राख्ने गरिन्थ्यो ।
त्यस्तै, नयाँ संवत्को सुरुवात भएको कुरा पनि यही अभिलेखबाटै जानकारी पाइएको छ । यस अघिसम्म संवत् ५२६सम्म उल्लेख गरेकोमा यो अभिलेखमा संवत् २९ उल्लेख गरिएको छ । अंशुवर्माले यो अभिलेखमार्फत् राष्ट्रलाई बलियो पार्न र आर्थिक अवस्था मजबूत बनाउनको लागि कृषि, पशुपालन, वाणिज्य क्षेत्रमा विशेष ध्यान दिएको देखाएका छन् ।
सो अभिलेखमा वूगायूमीका मानिसहरुले कुखुरा, सुँगुर, माछा र मल्ल्का बच्चाहरुको हेरचाह गरी उत्पादन बढाएकोले भट्टाधिकरण त्यो गाउँमा पस्न नपाउने व्यवस्था गरेको उल्लेख गरिएको छ । त्यतिबेला भट्टाधिकरणले धर्मसंकर सम्बन्धी मुद्दा हेर्ने गथ्र्याे । सो अधिकरणको अधिकार खोसेर त्यतिबेला त्यो अधिकार राजदरबारमा नै केन्दि्रत गरिएको थियो । यसबाट पनि बुंगमती त्यतिबेलादेखि नै राज्यको नजरमा पर्न सफल भएको क्षेत्र थियो भन्ने स्पष्ट भएको छ ।
ऐतिहासिक कथन अनुसार रातो मच्छिन्द्रनाथलाई स्थापित गराउने बेलामा बुुङ्गमतीमा काठमाडौं उपत्यकाका तीन वटै राज्यबाट एक सय जना प्रतिराज्यका बासिन्दाहरुलाई विशेष सुविधा दिएर त्यहाँ बस्ती बसालेको भन्ने उलेख छ । भिन्न भिन्न प्रदेशहरुबाट आएका व्यक्तिहरुलाई कोटाटोल, सतटोल, यताजो टोलमा बस्ती बसाएको उल्लेख छ । त्यो टोल अहिले पनि प्रचलनमा छ ।
बुंगमती बासीको कला कौशलता
बुंगमती बासीको कला कौशलताको बारेमा वूगायूमी त्रैमासिक पत्रिकामा मधुकर तुलाधरले केही विषयहरु उल्लेख गरेका छन् । काष्ठकला, मुर्तिकलाको लागि बुङ्गमती पहिलेदेखि नै प्रसिद्ध छ । यहाँका अधिकांश युवाहरु परम्परागतपेशाको रुपमा काष्ठकला, मुर्तिकला कार्यमा संलग्न छन् । विभिन्न बुट्टा र डिजाइनका मुर्ति र झ्याल्ढोका बनाउन यहाँका युवाहरु नामी रहेको तुलाधरले उल्लेख गरेका छन् ।
उनका अनुसार कुनै समयमा पाटन औद्योगिक क्षेत्र स्थितकाष्ठकला उद्योगहरुमा बुङ्गमतीका काष्ठकलाकर्मी भरिएका हुन्थे । हस्तकला कौशलका कारण यहाँका कलाकर्मी देश विदेशसम्म पुगेका छन् । यही नै यहाँको विशेषता हो ।
प्रतिक्रिया 4