+
+
Shares
रुपन्देही-३ उपचुनाव :

नाउपा दर्ता नभएपछि मोर्चामा अन्योल, अब को बन्छ साझा उम्मेदवार ?

निर्वाचन आयोगको निर्णयपछि उत्पन्न अन्योलबारे छलफल गर्न बुधबार (भोलि) मोर्चाको बैठक काठमाडौंमा बस्दैछ ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ भदौ ३ गते १४:२७

३ भदौ, बुटवल। आगामी १७ कात्तिकमा हुने रुपन्देही-३ को उपचुनावमा संघीय लोकतान्त्रिक मोर्चाले नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट साझा उम्मेदवार बनाउने तय गरेको थियो। तर, उक्त चुनावका लागि नाउपा निर्वाचन आयोगमा दर्ता नै हुन नपाएपछि मधेश केन्द्रित ६ दल सम्मिलित मोर्चा अन्योलमा परेको छ । उपचुनावका लागि सोमबार २६ राजनीतिक दल आयोगमा दर्ता हुँदा नाउपा भने दर्ता भएन ।

२०७९ सालको आमचुनावमा प्राप्त समानुपातिक मतका आधारमा हेर्दा संघीय लोकतान्त्रिक मोर्चा यो क्षेत्रमा सबैभन्दा ठूलो शक्तिका रूपमा छ ।

आयोगले दिएको समय सीमाभित्र नागरिक उन्मुक्ति पार्टी दर्ता नै नभएपछि अब उम्मेदवारबारे के गर्ने भन्ने अन्योल सिर्जना भएको मोर्चाका नेताहरूले बताएका छन् ।

पार्टीभित्र विवाद भएपछि आयोगमा रेशम चौधरी पक्ष र रञ्जिता श्रेष्ठ पक्षले नागरिक उन्मुक्ति पार्टीकै नाममा दुईवटा निवेदन दर्ता गरेका थिए । तर आयोगले आवश्यक कागजपत्र नपुगेको भन्दै दल दर्ता गरेन ।

नाउपा संरक्षक रहेका रेशम चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएर आफ्ना बुवा लालवीर चौधरीलाई पार्टीको नयाँ अध्यक्ष बनाएका थिए । तर आयोगले अध्यक्ष श्रेष्ठलाई नै वैधानिकता दिएको थियो ।

निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले दुवै पक्षलाई २७ साउनसम्म दल दर्ताका लागि प्रमाण पुग्ने आवश्यक कागजात पुर्‍याउन पत्राचार गरे पनि कागजात नआएपछि दर्ता नगरेको बताइन्। ‘एक हप्ताको समय दिँदा पनि नाउपाले आवश्यक प्रक्रिया पूरा गरेन । त्यसपछि दर्ताका लागि अयोग्य भएको हो,’ अर्यालले भनिन् ।

आयोगले दल नै दर्ता नगरेपछि अब के गर्ने भन्ने अन्योल बढेको नाउपा रुपन्देही अध्यक्ष तुल्सी चौधरीले बताए ।

उनले पार्टी संरक्षक रेशम र अध्यक्ष रञ्जिताबीच विवादका कारण पार्टीको हत्या भएको र रुपन्देही-३ का नेता/कार्यकर्ता र मतदाताको मनोबल गिराउने काम भएको भन्दै दुवैले जवाफ दिनुपर्ने बताए ।

नाउपा रुपन्देही अध्यक्ष तुल्सी चौधरी भन्छन्- संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवादले पार्टीको हत्या भयो । यी दुई नेताले रुपन्देही-३ का मतदातालाई जवाफ दिनुपर्छ ।

‘संरक्षक र अध्यक्षबीचको द्वन्द्वले उपचुनावमा पार्टी दर्ता हुन नपाएपछि पार्टीको हत्या भएसरह भएको छ । कार्यकर्ता र मतदाताको मनोबल गिरेको छ,’ चौधरीले भने, ‘अब पार्टीको नामबाट उम्मेदवार उठाउन नमिल्ने भएपछि कसरी जाने भन्ने झमेला आइलागेको छ।’

मोर्चा भित्रको दोस्रो ठूलो दल जसपा नेपालका महासचिव रामकुमार शर्माले नाउपा आयोगमा दर्ता नहुँदा अन्योल सिर्जना भएको बताए ।

‘मोर्चामा रहेका दलहरूले रेशम चौधरीजीको आग्रह मानेर नाउपाले दिने उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका थियौं । तर आयोगमा दल नै दर्ता नभएपछि अन्योल भएको छ,’ शर्माले भने, ‘अब रेशमजी कसरी अघि बढ्नुहुन्छ ? कसलाई प्रस्ताव गर्नुहुन्छ त्यसमा भर पर्छ ।’

लोकतान्त्रिक समाजवादी पार्टी रुपन्देही अध्यक्ष रविकुमार रौनियारले आयोगको निर्णयबारे रेशम चौधरी पक्ष अदालत जान्छ कि जाँदैन ?, गएन भने के गर्छ ? त्यसपछि मात्रै विकल्पबारे थाहा हुने बताए ।

दलको तर्फबाट उम्मेदवारी दर्ता नहुँदा मोर्चाका अरू दलले नाउपाकै भए पनि स्वतन्त्र हैसियतको उम्मेदवारलाई समर्थन गर्ने कि नगर्ने भन्ने प्रश्न उब्जिएको रौनियारले बताए । आयोगको निर्णयपछि उत्पन्न अन्योलबारे छलफल गर्न बुधबार (भोलि) मोर्चाको बैठक काठमाडौंमा बस्ने जानकारी आएको रौनियारले बताए ।

रुपन्देही-३ को उपचुनावका लागि नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेपाल जनमुक्ति पार्टी लगायत दल दर्ता भएका छन्। दर्ता भएकामध्ये आधाभन्दा बढी दलका सार्वजनिक गतिविधि जिल्ला र निर्वाचन क्षेत्रमा शून्यप्राय छन् ।

दर्ता भएका अन्य दलहरूमा मङ्गोल नेसनल अर्गनाइजेसन, नेपालका लागि नेपाली पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, जनप्रजातान्त्रिक पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल), संयुक्त नागरिक पार्टी, नेकपा (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय मातृभूमि पार्टी, नेपाली जनता दल रहेका छन् ।

त्यस्तै, राष्ट्रिय यथार्थवादी पार्टी, हाम्रो नेपाली पार्टी, बहुजन शक्ति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा पनि उपचुनावका लागि दर्ता भएको आयोगले जनाएको छ ।

आयोगले आगामी २१ असोजमा उम्मेदवार मनोनयन दर्ताको मिति तय गरेको छ ।

मोर्चाको निर्णयअनुसार नाउपा जिल्ला समितिले धनिराम चौधरी, डा. सरोजसिंह चौधरी, राकेश कोइरी र अर्का एकजनालाई सिफारिस गरेको थियो ।

चारजनामध्ये एकजनाको नाम गोप्य राख्ने पार्टीमा निर्णय भएको जिल्ला अध्यक्ष तुल्सी चौधरीको भनाइ छ ।

कुन दलका उम्मेदवार को ?

यो क्षेत्रमा अहिलेसम्म राष्ट्रिय जनमोर्चाले बद्रे आलमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै गत वैशाखमा राप्रपा छाडेका भैरहवाका इँटा उद्योगी अजयकुमार गुप्ता, बुटवल मोतिपुरका लेखनाथ गैरे र बुटवलकै किरण विकले स्वतन्त्र उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका परराष्ट्र तथा खाद्य सल्लाहकार तिलोत्तमा-६ का ३३ वर्षीय सन्तोष गिरी पनि स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा छन् । बालेनकै कानुनी सल्लाहकार ओमप्रकाश अर्याल पनि उम्मेदवारी दिने/नदिनेबारे क्षेत्रका मतदाताको धारणा बुझ्दै गरेको बताएका छन् ।

रुपन्देही-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय सदस्यद्वय स्वाती थापा र बसन्तविक्रम शाही, रुपन्देही अध्यक्ष सागरप्रताप राणा, स्वर्गीय दीपक बोहराका छोराहरू गौरव बोहरा र प्रज्ज्वल बोहरा तथा जिल्ला नेता दिलिप मल्लिकको नाम सिफारिस गरेको छ ।

यस्तो छ विगतको नतिजा

२०७९ सालको चुनावमा ९० हजार मत खसेको थियो । जसमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २० हजार २७८ मत पाएको थियो । एमालेले १६ हजार ९८६ मत पाउँदा रास्वपाले १४ हजार १५४ र राप्रपाले ९ हजार १८३ मत पाएको थियो ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जसपा नेपालले ५ हजार मत पाएको थियो । लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७०० मत पाएका थिए । तर जनमत पार्टीले मोर्चाको उम्मेदवारलाई समर्थन नगर्ने र आफ्नै उम्मेदवार उठाउने बताउँदै आएको छ ।

मोर्चामा हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी, तमलोपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी समेत थपिएका छन् । सबैको मत जोड्दा रूपन्देही-३ मा संयुक्त लोकतान्त्रिक मोर्चा सबैभन्दा ठूलो शक्ति देखिन्छ ।

अहिले मोर्चामा हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी, तमलोपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी समेत थपिएका छन् । सबैको मत जोड्दा रूपन्देही-३ मा संयुक्त लोकतान्त्रिक मोर्चा सबैभन्दा ठूलो शक्ति देखिन्छ ।

यो क्षेत्रमा माओवादी केन्द्रले २ हजार ६००, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी (लौरो)ले १ हजार ३४७ र नेकपा एकीकृत समाजवादीले ७८१ मत पाएका थिए ।

रूपन्देही-३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् ।

२०७९ मा एमालेसँगको गठबन्धनबाट राप्रपाका दीपक बोहरा ३६ हजार ७१७ मत पाएर विजयी भएका थिए । उक्त चुनावमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण २ हजार ६८१ मतले पराजित भएका थिए । खाँणले ३४ हजार ३६ मत पाएका थिए । उक्त चुनावमा कांग्रेसले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलसँग गठबन्धन गरेको थियो ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?