
१७ भदौ, बुटवल । रुपन्देही क्षेत्र नम्बर– ३ मा हुने उपनिर्वाचनमा जनमत पार्टीले धनीराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । धनिराम केही दिनअघि मात्रै नागरिक उन्मुक्ति पार्टीबाट जनमतमा प्रवेश गरेका थिए ।
जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र यादवले धनिराम चौधरीलाई उम्मेदवार बनाउने शर्तमै पार्टीमा भित्राएकाले आज निर्णय भएको जानकारी दिए ।
चौधरी रुपन्देहीको सियारी गाउँपालिका–२ निवासी हुन् । गत २०७९ को निर्वाचनमा चौधरी नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका थिए । त्यसबेला उनले छविलाल विश्वकर्मा र घनश्याम भुसाल पछि तेस्रो स्थानमा धेरै मत प्राप्त गरेका थिए ।
जनमत प्रवेश गर्नुअघि नागरिक उन्मुक्ति पार्टीबाट पनि सिफारिश भएका तीनजना उम्मेदवारमा उनी परेका थिए । पार्टीमा रेशम चौधरी र रन्जिता श्रेष्ठ पक्षबीच विवाद उत्कर्षमा पुगेपछि उनले पार्टी परिवर्तन गरेका हुन् ।
रुपन्देही ३ मा अहिलेसम्म रास्वपाले डा. लेखजंग थापालाई र राष्ट्रिय जनमोर्चाले बद्रे आलमलाई उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् ।
नेकपा एमालेले पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, व्यवसायी शशि पौडेल, नेताहरु यज्ञजित शाह, हरि अधिकारी र अमृता गुरुङको नाम सिफारिश गरेको छ ।
माओवादी केन्द्रले सोनिया यादव, मनिषकुमार जोशी,फैज अहमद खान र तिरबहादुर रोकाय (डार्बिन) को नाम सिफारिश गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय सदस्यद्वय स्वाती थापा र बसन्तविक्रम शाही, रुपन्देही अध्यक्ष सागरप्रताप राणा, स्वर्गीय दीपक बोहराका छोराहरू गौरव बोहरा र प्रज्ज्वल बोहरा तथा जिल्ला नेता दिलिप मल्लिकको नाम सिफारिस गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले महासचिव घनश्याम भूसालसहित सात जनाको नाम सिफारिस गरेको छ ।
बुटवल मोतिपुरका लेखनाथ गैरे, भैरहवाका अजयकुमार गुप्ता र बुटवलका किरण विकले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली कांग्रेसबाट बालकृष्ण खाँण, प्रमोद यादव, रामचन्द्र ढकाल, रमेश खनाल लगायतको नाम चर्चामा छ । कांग्रेसले क्षेत्रीय समितिबाट अझै नाम सिफारिश गरेको छैन ।
उता काठमाडौंका मेयर बालेन शाहका परराष्ट्र तथा खाद्य सल्लाहकार सन्तोष गिरी पनि उम्मेदवार बन्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया 4