Comments Add Comment

रुपन्देहीमा ९१३ जना एचआइभी संक्रमित

एक वर्षमा ३४ जनाको मृत्यु

२९ माघ, बुटवल । एचआइभी संक्रमणबाट रुपन्देहीमा एक वर्षमा ३४ जनाको मृत्यु भएको छ । एचआइभी एड्सको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एड्स हेल्थ फाउण्डेसन क्षेत्रीय कार्यालय बुटवलका अनुसार मृत्यु हुनेमा २७ पुरुष र ७ जना महिला छन् । मृत्यु हुनेमा ८० प्रतिशत बढी रुपन्देहीमा रहेका फाउण्डेसनका क्षेत्रीय कार्यक्रम संयोजक धर्मराज भट्टराईले बताए ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापित एआरटी सेन्टरमा १ हजार २ सय २० जना एचआइभी संक्रमितले नियमित औषधी सेवन गरिरहेका र ती मध्ये ९ सय ७३ जना रुपन्देहीका रहेका उनले बताए ।

गत वर्ष लुम्बिनी प्रादेशिक अस्पतालमा रगत जाँच गर्दा ६९ जना नयाँ संक्रमित फेला परेका र संक्रमित आमा–बुबाबाट जन्मेका ९ जना शिशुमा एचआइभी संक्रमण नभेटिएको कार्यक्रम संयोजक भट्टराईले बताए । एचआइभी संक्रमित आमा वा बुबाले नियमित औषधी सेवन गरेमा बच्चामा संक्रमण हुनबाट जोगिने उनले बताए ।

एड्स हेल्थ फाउण्डेसनको तथ्याङ्क अनुसार हाल नेपालभर २९ हजार ९ सय ४४ जना एचआइभी संक्रमित रहेका र १६ हजार ९ सय १३ जनाले मात्र एआरटी क्लिनिकबाट नियमित औषधी सेवन गरिरहेका छन् । एचआइभी संक्रमितका लागि निशुल्क औषधी वितरणका लागि नेपालभर ७८ वटा क्लिनिक र २२ वटा औषधी वितरण केन्द्र रहेका छन् ।

विश्वमा तीन करोड ६९ लाख जनसंख्यामा एचआइभी संक्रमण रहेको तथ्याङ्क छ । एड्स हेल्थ फाउण्डेसन क्षेत्रीय कार्यालय बुटवलले एचआइभी संक्रमणको जोखिमबाट बचाउन लुम्बिनी प्रादेशिक अस्पतालबाट एक वर्षमा ५० हजार कण्डम बाँडेको भट्टराईले बताए ।

कण्डम दिवस मनाइने

यसैबीच एचआइभी एड्सको क्षेत्रमा काम गर्ने आस्था समूह बुटवलको आयोजना र सामाजिक विकास मन्त्रालय तथा एड्स हेल्थ फाउण्डेसन नेपाल र बुटवल उपमहानगरपालिकाको सहयोगमा बिहीबार बुटवलमा विश्व कण्डम दिवस मनाइने भएको छ ।

एचआइभी संक्रमणको जोखिमबाट बच्न कण्डमको प्रयोगबारे जनचेतना जगाउन युवा लक्षित कन्सर्ट, नाटक प्रदर्शन र कण्डम वितरणसहित बुटवलको ट्राफिक चोकमा कण्डम दिवस मनाइने आस्था समूहका अध्यक्ष केशव पुनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment