Comments Add Comment

कीर्तिमानी जितसहित नेपालको सुखद अन्त्य

अमेरिका जितविहीन, ओमानले चारवटै खेल जित्यो

२९ माघ, काठमाडौं । ३ बलर र १२ ओभर । अमेरिकाको इनिङ्स धरासायी पार्न नेपाललाई यति नै काफी भयो । सन्दीप लामिछानेले ६ र सुशन भारीले ४ विकेट लिएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हरायो ।

नेपालले अमेरिकामाथि लगातार दोस्रो जितसहित आईसीसी क्रिकेट विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजको सुखद अन्त्य गरेको छ । ओमानले चारवटै खेल जित्दा अमेरिका भने जितविहीन बनेर घर फर्कने भएको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नेपालले सहज जित हात पार्दा केही कीर्तिमान पनि बने ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर फिल्डिङ रोजे र अमेरिकालाई पहिले ब्याटिङको निम्तो दिए । उनको निर्णयलाई बलरहरुले सही सावित गर्दा अमेरिका १२ ओभर मात्र क्रिजमा टिक्यो र ३५ रनमा अलआउट भयो । पहिलो ओभर करणले मेडन राख्दै नेपालले सुखद सुरुवात दिलाएका थिए । चोभर एण्डबाट आएका सन्दीपले दोस्रो ओभरदेखि नै विकेट झार्न थाले । त्यसपछि अमेरिकी इनिङ्स धरासायी बन्यो ।

‘हामीले नयाँनयाँ विषयमा सिक्न पायौं । नयाँ खेलाडीहरुले पनि यहाँबाट अवसर पाए’ कप्तान ज्ञानेन्द्रले भनेका छन् ।

दोस्रो ओभरको अन्तिम बलमा सन्दीपले अमेरिकी ओपनर इयान होल्याण्डलाई पारस खड्काबाट क्याचआउट गराए । तेस्रो ओभरमा अमेरिकी ओपनर जेभियर मार्सलले करण केसीलाई दुई चौका प्रहार गर्दै केही आशा जगाएका थिए । त्यसपछि छैटौं ओभरसम्म अमेरिकाले विकेट गुमाएन र २३–१ को अवस्थामा थियो । तर बाँकी ६ ओभरमा अमेरिकाको इनिङ्स पतन भयो र थप १२ रन जोड्दा बाँकी ९ विकेट गुमायो ।

सातौं ओभरमा आएका सुशन भारीले पहिलो बलमै १६ रन बनाएर जेभियर मार्सललाई स्लिपमा पारस खड्काबाट क्याचआउट गराउँदै नेपाललाई दोस्रो सफलता दिलाए । उक्त ओभरमा आरोन जोन्सले भारीलाई चौका प्रहार गरेका थिए ।

आठौं ओभरपछि त खेल पूर नेपालको पक्षमा आयो । सन्दीपले आठौं ओभरको दोस्रो बलमा मोनांक पटेललाई बोल्ड गरे । त्यही ओभरको पाँचौ बलमा सन्दीपले निसर्ग पटेललाई बोल्ड गर्दा अमेरिका २९(४ को अवस्थामा पुग्यो ।

त्यसपछि दुई ओभरमा अमेरिकाले १(१ रन जोड्यो विकेट पनि १(१ नै गुमायो । त्यसपछि नेपालले हरेक ओभरमा विकेट लियो । नवौं ओभरको तेस्रो बलमा भारीले आरोन जोन्सलाई बोल्ड गरे । दशौं ओभरमा सन्दीपले तिमिल पटेललाई एलबीडल्बू धरापमा पार्दै अमेरिकाको ६ विकेट गयो । ११औं ओभरमा सशुनले डबल मेडन विकेट लिए । पहिलो बलमा म्यामरुन स्टेभेनसनलाई बोल्ड गरेका सुशनले त्यही ओभरको अन्तिम बलमा रस्ती थेरोनलाई एलबीडब्लू आउट गरे ।

१२औं ओभरको पहिलो बलमा अमेरिकाका अक्षय होमराजले सन्दीपलाई चौका प्रहार गर्दै स्कोर ३५ पु‍र्‍याए । तर तेस्रो बलमा सन्दीपले होमराजलाई नै पारस खड्काबाट क्याचआउट गराए भने अन्तिम बलमा नासथुस केन्जिगेलाई बोल्ड गर्दै अमेरिकालाई ३५ रनमै अलआउट गराए ।

सन्दीपले ओडीआईमा नेपालकै उत्कृष्ट स्पेश गर्ने क्रममा ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिए । सुशनले ३ ओभरमा १ मेडन राख्दै ५ रन मात्र खर्चेर ४ विकेट लिए । करण केसीले ३ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिए ।

३५ रनको सामान्य लक्ष्य पाउँदा नेपाललाई १० विकेट जितको अवसर थियो । तर रेगुलर ओपनर कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेल दोस्रो ओभरमै आउट भएपछि नेपालले ३६ रनको लक्ष्य ५.२ ओभर खेल्दै २ विकेट गुमाएर पूरा ग‍र्‍‍यो । कप्तान ज्ञानेन्द्र एक र सुवास शुन्यमा आउट भए । दुवैलाई अमेरिकी बलर केन्जिगेले बोल्ड आउट गरका थिए । कप्तान ज्ञानेन्द्रले आफ्नै गल्तीले आउट हुन पुगेको बताए ।

एक रनमा दुई विकेट गुमाए पनि पारस खड्का र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि ३४ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । पाँचौ ओभरमा पारस खड्काले एक छक्का र दुई चौकासहित एक्लै १५ रन जोडे । दीपेन्द्रले छैटौं ओभरको दोस्रो बलमा उनै केन्जिगेलाई छक्का हान्दै नेपाललाई जित दिलाए । पारसले १२ बल खेल्द ३ चौका र १ छक्काको मद्दतमा अविजित २० रन बनाए । यस्तै दीपेन्द्रले ११ बलमा २ चौका र १ छक्कासहित अविजित १५ रन जोडे ।

अमेरिकाका केन्जिगेले २.२ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।

करिब १०० मिनेटमै सकिएको खेलमा सहज जित हात पारेपछि खुशी देखिएका नेपाल कप्तान ज्ञानेन्द्र मल्लले चाँडै खेल सकिने अनुमान नगरेको बताए । ‘अमेरिका राम्रो टोली हो । हामीले अमेरिकालाई ४० ओभरसम्म अल आउट गर्ने लक्ष्य बनाएका थियौं’ ज्ञानेन्द्रले भने, ‘यति छिटो खेल सकिन्छ भन्ने अनुमान पनि थिएन ।’

३६ रनको लक्ष्य पछ्याउँदा पनि दुई विकेट गुमाउनुलाई भने उनले व्याट्सम्यानहरुको ब्याड जजमेन्ट भएको बताए । ‘मेरो विकेटको हकमा ब्याड जजमेन्ट भयो । सुवासको पनि त्यस्तै भयो’ उनले भनेका छन्, ‘१० विकेटको जितभन्दा पनि ३६ रन चेस गरेर जित्नु महत्वपूर्ण विषय हो ।’

सिरिजमा ओमानसँग दुबै खेल हारेको नेपालले सिरिजबाट नयाँ कुराहरु सिक्न पाएको उनले बताए । ‘हामीले नयाँनयाँ विषयमा सिक्न पायौं । नयाँ खेलाडीहरुले पनि यहाँबाट अवसर पाए’ कप्तान ज्ञानेन्द्रले भनेका छन् ।

लगातार चार हारपछि अमेरिकी कप्तान सौरभ नेत्रभाल्कर भने निराश देखिए । ‘म यस खेलमा निराश छ । पिचले साथ दिएन । नेपाली स्पिनरले राम्रो गरे,’ अमेरिकी कप्तान सौरभ नेत्रभाल्करले खेलपछि भने ।

यो सिरिजबाट अमेरिकाले धेरै विषय सिक्नुपर्ने भन्दै उनले भने, ‘अब हामीले ६ महिनापछि प्लोरिडामा अर्को सिरिज खेल्दैछौं । त्यो बेलासम्म हामीले अझै सुधार गर्नुपर्ने खाँचो छ ।’ सिरिजमा मिडियम पेसरहरुले राम्रो खेलेको तथा इयान होल्याण्डले पनि राम्रो ब्याटिङ गरेको भन्दै उनले भने, निसर्ग पटेलले अमेरिकाका लागि छिटो अर्धशतक बनाए ।’

नेपाल आउनुअघि अमेरिका १२ अंकसहित शीर्ष स्थानमा थियो । यस सिरिजपछि ओमान १८ अकसहित लिग २ को अंकतालिकामा शीर्ष स्थानमा उक्लँदा अमेरिका पनि १२ अंककै साथ दोस्रोमा झरेको छ । ७ राष्ट्र रहेको लिग २ मा नेपाल ४ खेलबाट ४ अकसहित छेटौं स्थानमा छ ।

कीर्तिमान नै कीर्तिमान

नेपालले अमेरिकाविरुद्ध ८ विकेटको जित हात पार्दा केही कीर्तिमान पनि बनाएको छ । केही कीर्तिमान विश्वस्तरमै छन् । नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गर्दा दुई कीर्तिमान बन्यो । एउटा ओडीआई क्रिकेटमा यो संयुक्त रुपमा कम स्कोर हो ।

यसअघि सन् २००४ मा श्रीलंकाविरुद्ध जिम्बावे ३५ रनमै अलआउट भएको थियो । १६ वर्षपछि त्यो कीर्तिमान नेपालले बराबरी ग‍र्‍यो । यस्तै श्रीलंकाले उक्त खेलमा जिम्बावेलाई १८.४ ओभरमा अलआउट गरेको थियो । नेपालले मात्र १२ ओभरमै अमेरिकालाई अलआउट ग‍र्‍यो र, सबैभन्दा कम ओभरमा अलआउट गर्ने कीर्तिमान नेपालले बनायो ।

यस्तै ओडीआईमा यो तेस्रो छिटो लक्ष्य पूरा भएको खेल हो । यसअघि श्रीलंकाले जिम्मबावेविरुद्ध २००१ मा ४.१ ओभरमा र श्रीलंकाले नै २००३ मा क्यानडा विरुद्ध ४.४ ओभरमा लक्ष्य पूरा गरेको थियो ।

२६८ बल बाँकी छँदै जित हात पारेको नेपालको हकमा भने यो सबैभन्दा छिटो लक्ष्य पूरा भएको खेल हो । यस्तै विकेटको हिसावमा पनि नेपालको यो फराकिलो जित हो ।

यस्तै व्यक्तिगत प्रदर्शनमा सन्दीप लामिछाने नेपालको लागि एकै खेलमा सर्वाधिक विकेट लिने पहिलो खेलाडी बने । अमेरिकाविरुद्ध ६ विकेट लिँदै उनले सोमपाल कामीको कीर्तिमानलाई पछि पारे ।

सोमपालले गत वर्ष युएईविरुद्ध सिरिजको दोस्रो खेलमा ६.३ ओभरमा १ मेडन राख्दै ३३ रन खर्चेर ५ विकेट लिएका थिए । सन्दीपले त्यही खेलमा ४ ओभरमा १ मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिएका थिए ।

साथै यो सिरिजमा ८ विकेट लिएका सन्दीप नेपालको लागि सर्वाधिक विकेट लिने बलर बनेका छन् । उनले १० खेलबाट २३ विकेट लिएका छन् । दोस्रो स्थानमा रहेका सोमपाल र करण केसीको समान १३ विकेट छ । सोमपालले यो सिरिज खेलेनन् भने करणले ८ विकेट लादै सोमपालले भेट्टाए ।

सुशनको कीर्तिमान

यही त्रिकोणात्मक सिरिजमार्फत नेपालका लागि ओडीआईमा डेब्यु गरेका स्पिनर सुशन भारी चम्किए । उनले एउटै सिरिजमा नेपालका लागि सर्वाधिक विकेटको कीर्तिमान बनाए । सिरिजभर ४ खेलबाट सर्वाधिक ११ विकेट लिए ।

ओमानविरुद्ध पहिलो खेलमा डेब्यु गर्दै १० ओभरमा १४ रन मात्र खर्चेर ३ विकेट लिएका सुशनले अमेरिका विरुद्ध ३ विकेट लिएका थिए । त्यसपछि ओमानविरुद्ध १ विकेट लिएका सुशनले अन्तिम खेलमा उत्कृष्ट बलङ गर्दै ४ विकेट लिए । सन्दीपलाई गतिलो साथ दिएका उनले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए । खेलपछि सन्दीपले पनि सुशनको तारिफ गर्दै सिरिजभर उत्कृष्ट प्रदर्शन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment