२९ माघ, काठमाडौं । ओमान ४-०, नेपाल २-२, अमेरिका ०-४ । नेपालमा भएको आइसीसी क्रिकेट विश्वकप लिग २ सिरिजमा सहभागी ३ टोलीको जित हार हो यो ।
घरेलु टोली नेपालको लागि मिश्रित रहेको सिरिजमा ओमानले सबै चार खेल जितेर क्लिन स्वीप नै गर्यो । अमेरिकाले भने सबै चार खेल हार्यो । २०१९ अगष्टबाट शुरु भएको आइसीसीको यो नयाँ क्रिकेट साइकलमा कुनै पनि सिरिजमा अपराजित रहने ओमान पहिलो टिम बन्यो ।
ओमानले नेपाल र अमेरिका विरुद्ध खेलेको २-२ खेल नै जित्यो । नेपालले अमेरिकालाई दुई खेलमा हरायो । नेपाल आउनुअघि अमेरिका ८ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा थियो भने ६ खेलबाट ८ अंक जोडेको ओमान चौथो स्थानमा थियो । लगातार चार खेल जितेपछि १० खेलबाट १६ अंक जोडेर ओमान शीर्ष स्थानमा उक्लियो भने अमेरिका १२ खेलबाट १२ अंकसहित दोस्रो स्थानमै रह्यो ।
यसै सिरिजबाट लिग २ मा डेब्यु गरेको नेपालले शुरुवाती ४ खेलबाट ४ अंक जोड्यो । ७ राष्ट्र सहभागि यस लिगमा नेपाल छैटौं स्थानमा छ । पपुवा न्युगिनी ८ खेल खेलिसक्दा अंकविहीन हुँदै अन्तिम स्थानमा छ ।
…….
विश्वकप लिग २ मा डेब्यु, घरेलु मैदानमा पहिलो ओडिआई सिरिज, टीयू मैदानको ओडिआई मान्यता अनि टीयू मैदानमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल (ओडीआई) जित । नेपाली टोलीका लागि नतिजासंगै यी विषयले पनि ठूलो अर्थ राख्छ । माघ २२ गते ओमानविरुद्ध नेपालल खेलेपछि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानले ओडीआईको मान्यता पायो ।
विश्वकप लिग २ मा नेपालले यसै सिरिजबाट डेब्यु गर्यो अनी घरेलु मैदान पहिलो ओडीआई जित पनि हात पार्यो । टीयू मैदानमा पहिलो ओडीआई खेल हुँदा नेपालले ओमानसंग १८ रनको हार बेहोर्यो ।
तर दोस्रो खेलमा अमेरिकालाई ३५ रनले हराउदै घरेलु मैदानमा पहिलो ओडीआई जित दर्ता गर्यो । अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै सुखद अन्त्य गर्यो ।
सिरिजमा अन्तिम खेलपछि कप्तान ज्ञानेन्द्र मल्लले पनि त्यही भने । अमेरिकाविरुद्ध कीर्तिमानी जितपछि ज्ञानेन्द्रले सोचजस्तो अन्त्य भएको बताए । ‘ सिरिजको अन्त्य जितका साथ गर्न चाहेका थियौं,’ उनले भने, ‘खेलको सुरुवात राम्रो भयो । जसरी स्यान्डी (सन्दीप) र सुशनले बलिङ गर्यो । एक्सपेक्ट गरेभन्दा चाँडै र राम्रो रिजल्ट पनि आयो । जसले गर्दा पछि ब्याटिङ गर्दा सजिलो जित भयो ।’
कप्तान ज्ञानेन्द्रले यो सिरिजमा नयाँ विषयमा सिक्ने मौकासमेत पाएको बताए । ‘यो पूरा सिरिजबाट हामीले धेरै सिक्ने मौका पायौं । नयाँ खेलाडीहरुले पनि यहाँबाट अवसर पाए । उनले भने । टिमको रुपमा ओडीआई साइकलमा हामीले अझ धेरै होमवर्क गर्न जरुरी छ जस्तो लाग्छ र अवसर पनि छ । अमेरिकालाई हराको छौँ । ओमानसँग पनि क्लोज थियौं अलीकती तलमाथी भयो । अगाडि अझ राम्रो गर्न सकिन्छ ।’
उनले कप्तान ज्ञानेन्द्रले विश्वकप लिग २ मा नेपालले सुधार गर्नुपर्ने क्षेत्रमा ब्याटिङ नै मुख्य रहेको बताए । ‘पहिलो त ब्याटिङ नै हो । अझ ब्याटिङलाई कसरी कन्सिसटेन्समा ल्याउने मुख्य हो’, ज्ञानेन्द्रले भने ‘सानो-सानो शुरुवातलाई कसरी धेरै रनमा कन्भर्ट गर्ने भन्ने सुधार गर्नुपर्छ ।’
राम्रो शुरुवात पाइसकेपछि इनिङ्सलाई बिल्ड अप गरेर खेल अन्त्य गर्ने ओमानको खेल पद्धति सिक्न जरुरी रहेको ज्ञानेन्द्रले बताए ।
ज्ञानेन्द्रले ब्याटिङमा नेपालले अनिवार्य सुधार गर्नैपर्ने बताए । ‘ब्याटिङमा चाहिँ यो अनिवार्य नै छ । हामी खेल सक्ने कसरी भनेर सिक्नुपर्छ’ उनले भने ।
राम्रो ब्याट्सम्यान विरुद्ध खेल्दा बलिङ अझै सुधार गर्नुपर्ने ज्ञानेन्द्रले बताए । ‘यस्तै बलिङमा पनि राम्रो विकेटमा राम्रो ब्याट्सम्यानलाई बाँधेर राख्न सिक्नुपर्छ ।’
खुशी पटवाल
यसै सिरिजपछि टिमबाट राजीनामा दिने निर्णय गरिसकेका प्रशिक्षक उमेश पटवालले नेपाली टिमले आगामी सिरिजमा राम्रो गर्न सक्ने बताए ।
उनले यस सिरिजमा २ खेल जित्नु राम्रो संकेत भएको बताए । ‘यो योङ टिम हो । हामी नया जन्मेको बच्चा जस्तै हौं । २ खेल जित्नुको अर्थ हामीले धेरै राम्रो गर्यौं भन्ने होइन । हामीले शीर्ष दुई टिमसंग खेल्यौं त्यो राम्रो हो’ पटवालले भने ।
नेपालले क्रिकेटमा अझै प्रगति गर्नुपर्ने उनले बताए । ‘कहिले एकदमै राम्रो प्रदर्शन हुन्छ । कहिले खराब प्रदर्शन हुन्छ । नराम्रो हुनेबित्तिकै निराश हुनुपर्दैन । विस्तारै सुधार गर्दै जानुपर्छ’ उनले भने ।
उनले आफूले गरेको कामप्रति खुशी रहेको बताए । ‘म आफ्नो काममा खुशी छु । यदि केही गल्ती गरेको भए भन्दिनुस् म सुधार गर्नेछु’ पटवालले भने ।
निराश अमेरिका
उता लगातार चार हारपछि अमेरिकी कप्तान सौरभ नेत्रभाल्कर भने निराश देखिए । उनले खेलबाट सन्तुष्ट नभएको बताए । ‘म यस खेलमा निराश छु । पिचले साथ दिएन । नेपाली स्पिनरले राम्रो गरे,’ खेलपछि उनले भने ।
उनले यस सिरिजबाट अमेरिकाले धेरै विषय सिक्न सिक्न बताए । ‘अब हामीले ६ महिनापछि प्लोरिडामा अर्को सिरिज खेल्दैछौँ । त्यो बेलासम्म हामीले अझै सुधार गर्नुपर्ने खाँचो छ’ नेत्रभाल्करले भने ‘यस सिरिजमा हाम्रो मिडियम पेसरहरुले राम्रो खेले । इयान होल्याण्डले पनि राम्रो ब्याटिङ गरे । निसर्ग पटेलले अमेरिकाका लागि छिटो अर्धशतक बनाए ।’
अमेरिकी प्रशिक्षक जेम्स पाम्मेन्टले नेपाल खेल्नको लागि राम्रो तयारी हुन नसकेको बताए । ‘सिरिज खेलेर गएपछि खेलाडीहरु घर जान्छन् किनकी खेलाडीको फ्यासिलिटी छैन’ प्रशिक्षक जेम्स पाम्मेन्टले भने ‘हामीले यहाँ आउनुअघि भारतमा १० दिनको मात्र तयारी गर्न पायौँ । यस्तो कन्डिसनमा खेल्न हामीले राम्रोसंग तयारी गर्न पाएनौँ । त्यसैले हामी असफल भयौँ ।’
नेपाल आउनुअघि अमेरिका १२ अंकसहित लिगको शीर्ष स्थानमा थियो । तर नेपालको सिरिज सकिँदा अमेरिकाले १२ खेल खेलिसक्दा १२ अंक नै छ । लगातार चार खेल हारेपछि अमेरिका १२ अंकसहित दोस्रो स्थानमा झरेको छ । अमेरिकाले अब अर्को सिरिज अप्रिलमा घरेलु मैदानमा खेल्दैछ । जहाँ स्कटल्याण्ड र युएई समेत हुनेछन् ।
ओमानलाई फाप्यो नेपाल
विश्वकप क्रिकेट लिगमा सिरिजको सबै खेल जित्दै क्लिन स्वीप गर्ने पहिलो टिम बनेको ओमान अंक तालिकामा पनि शीर्ष स्थानमा उक्लेको छ । नेपाल आउनुअघि ६ खेलबाट ८ अंकसहित चौथो स्थानमा रहेको ओमानले नेपाल बसाईं सक्दा थप ८ अंक थप्यो र १६ अंकसहित शीर्ष स्थानमा पुग्यो । ओमानले अमेरिकालाई समेत ४ अंकले पछि पारिसकेको छ ।
ओमानले घरेलु टोली नेपाल र र अमेरिकाविरुद्धको अपराजित यात्रालाई निरन्तरता दिदै दुवै टोलीलाई दुई-दुई पटक हरायो । पहिलो खेलमा नेपालविरुद्ध १९७ रन पनि डिफेण्ड गर्दै १८ रनको जित हात पारेको ओमानले त्यसपछि अमेरिकालाई ६ विकेटले हरायो । तेस्रो खेलमा नेपालविरुद्ध ८ विकेटको सहज जित हात पार्दा चौथो खेलमा अमेरिकालाई ९२ रनले पराजित गर्यो ।
ओमानका अकिब इल्यासले यसै सिरिजमा लगातार दुई शतक प्रहार गरे । नेपालविरुद्धको तेस्रो खेलमा अविजित १०९ रन बनाएका उनले अमेरिकाविरुद्ध आफ्नो चौथो खेलमा १०५ रन बनाए । ओमानका लागि ओडीआईमा पहिलो शतक प्रहार गरेका अकिब लगातार दुई शतक हान्ने पहिलो ओमानी खेलाडी बने । यस्तै अमेरिकाविरुद्ध ओमानका कप्तान जिसान मक्सुदले पनि शतक प्रहार गरे ।
यस सिरिजपछि लिग २ मा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिनेमा पनि ओमानका खेलाडी अगाडि छन् । ओमानका अकिब इल्यास ६१० रनसहित शीर्ष स्थानमा छन् भने कप्तान जिसान १९ विकेटसहित शीर्ष स्थानमा छन् ।
६ खेलको नतिजा
नेपाल भर्सेस ओमान : ओमान १८ रनले विजयी
ओमान भर्सेस अमेरिका : ओमान ६ विकेटले विजयी
नेपाल भर्सेस अमेरिका : नेपाल ३५ रनले विजयी
नेपाल भर्सेस ओमान : ओमान ८ विकेटले विजयी
ओमान भर्सेस अमेरिका : ओमान ९२ रनले विजयी
नेपाल भर्सेस अमेरिका : नेपाल ८ विकेटले विजयी
नेपालले अब खेल्ने सिरिज
२०२० अप्रिल : नामिबिया, नेपाल, स्कटल्याण्ड
२०२० जुन : पपुवा न्यु गिनी, युएई, नेपाल
२०२० जुलाई : स्कटल्याण्ड, नेपाल, नामिबिया
२०२१ जनवरी : ओमान, अमेरिका, नेपाल
२०२१ फेब्रुअरी : नेपाल, युएई, पपुवा न्यु गिनी (घरेलु मैदानमा)
२०२१ अगष्ट : अमेरिका, नेपाल, ओमान
२०२१ नोभेम्वर : नेपाल, नामिबिया, स्कटल्याण्ड (घरेलु मैदानमा)
२०२२ जनवरी : युएई, पपुवा न्यु गिनी, नेपाल
टिम | खेल | जित | हार | टाई | नो रिजल्ट | अंक | नेट रनरेट |
ओमान | १० | ८ | २ | ० | ० | १६ | ०.१७७ |
अमेरिका | १२ | ६ | ६ | ० | ० | १२ | –०.३१८ |
स्कटल्याण्ड | ८ | ४ | ३ | ० | १ | ९ | ०.१३९ |
नामिबिया | ७ | ४ | ३ | ० | ० | ८ | ०.००८ |
युएई | ७ | ३ | ३ | ० | १ | ७ | –०.००४ |
नेपाल | ४ | २ | २ | ० | ० | ४ | ०.९८२ |
पपुवा न्यु गिनी | ८ | ० | ८ | ० | ० | ० | –०.४५८ |
प्रतिक्रिया 4