Comments Add Comment
पूर्वएमालेको नजरमा जनयुद्ध :

‘दिवस मनाउने निर्णय भएको छैन, जनयुद्धको व्याख्या महाधिवेशनले गर्छ’

१ फागुन, काठमाडौं । आजभन्दा ठीक २५ वर्षअघि तत्कालीन नेकपा माओवादीले सशस्त्र जनयुद्धको घोषणा गर्दा संसदीय राजनीतिमा स्थापित हुँदै गरेको तत्कालिन नेकपा एमालेले त्यसलाई ‘क्रान्तिकारी लफ्फाजी’ एवं गलत बाटो भनेको थियो ।

जनयुद्ध शुरुताका आलोचनाका बीच मित्रवत सम्बन्ध रहे पनि विशेष गरी २०५६ को आम निर्वाचनपछि माओवादीको निशाना एमालेसमेत बनेको थियो । निर्वाचनको मुखैमा तत्कालीन एमालेका रुकुमका उम्मेदवार यदु गौतमको हत्यापछि एमाले–माओवादी सम्बन्ध शत्रुतामा परिणत भयो ।

तत्कालीन एमालेका ३ सय भन्दा बढी नेता–कार्यकर्ता माओवादीबाट मारिए । रोल्पाको हार्जङमा त एमालेका ८ जना कार्यकर्तालाई घरभित्रै आगो लगाएर मारियो ।

माओवादीविरुद्ध संकटकाल लगाउन तत्कालीन कांग्रेसको सरकारलाई एमालेले साथ दियो । एमालेले माओवादीको जनयुद्धलाई आतंककारी गतिविधिका रुपमा ब्याख्या गर्‍यो ।

तर, सँगसँगै वार्ता र छलफलबाट माओवादीलाई शान्तिपूर्ण बाटोमा ल्याउने प्रयास पनि एमालेले जारी राख्यो । तत्कालीन एमालेका महासचिव माधवकुमार नेपालले युद्धकै बीचमा प्रचण्ड र बाबुरामसहितका माओवादी नेतृत्वसँग भारतको सिलिगुढी र लखनउमा पुगेर वार्ता गरे । वामदेवले रोल्पा पुगेर माओवादी नेतालाई भेटे ।

देशभरि एमालेका कार्यकर्ताको हत्या र अपहरण माओवादीले गरिरहँदा तत्कालीन एमालेले जनयुद्ध गलत बाटो हो र यसले कम्युनिस्ट आन्दोलन सिध्याउँछ भन्दै माओवादीलाई शान्तिपूर्ण बाटोमा ल्याउने प्रयास गरिरह्यो ।

राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि माधव नेपालले नै २०६२ मा बामदेव गौतम र युवराज ज्ञवालीलाई प्रचण्डसँग वार्ता गर्न रोल्पाको होलेरी पठाए । त्यहाँ एमाले र माओवादीबीच ६ बुँदे समझदारी भयो, जसमा एमाले कार्यकर्तामाथिको आक्रमण रोक्ने पनि भनिएको थियो ।

तत्कालीन एमाले र माओवादीबीचको ६ बुँदे समझदारीको जगमा तत्कालीन सात दल र माओवादीबीच १२ बुँदे समझदारी भएर जनआन्दोलन उठ्यो र माओवादी जनयुद्ध २०६३ मंसिरमा आएर विधिवत अन्त्य भयो ।

माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि सबैभन्दा बढी शत्रुता एमाले र माओवादीकै भयो । शान्ति प्रक्रियामा आएपछि पनि तत्कालीन माओवादीका वाइसीएलबाट एमालेका नेता कार्यकर्ता मारिए । वाइसीएलसँग भिड्न एमालेले लडाकू दस्ता युथफोर्स नै खडा ग¥यो । निकै शत्रुतापूर्ण सम्बन्ध भइरहँदा माओवादीको सबैभन्दा कठोर आलोचक केपी ओली बने ।

तर, केपी ओलीकै नेतृत्वमा नेकपा एमाले र माओवादी एकीकरण भयो ।

एकीकृत नेकपा बनेपछि पनि माओवादीले जनयुद्ध शुरु गरेको फागुन १ गतेका दिन नेकपाले श्रद्धाञ्जली कार्यक्रम गर्न थालेको छ । यद्यपि यसलाई ‘जनयुद्ध दिवस’ भन्ने गरिएको छैन । गत वर्ष सो कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएनन् । यसपटक दुवै अध्यक्षले सम्बोधन गर्ने भनिएको थियो, तर प्रधानमन्त्री ओली सहभागी भएनन् ।

यो पनि पढ्नुहोस ‘माओवादीलाई विद्रूपीकरण गर्ने कोसिस भइराखेको छ, वर्गसंघर्ष हो, चलिराख्छ’

पार्टी एकता भए पनि जनयुद्धलाई हेर्ने दृष्टिकोणमा पूर्व एमाले र पूर्व माओवादीबीच एकमत भइसकेको छैन । सम्भवतः आगामी महाधिवेशनले यसको व्याख्या गर्नेछ । पूर्वएमालेको नजरमा जनयुद्ध दिवस र फागुन १ को औचित्य के त ? के जनयुद्धको स्वामित्व लिन पूर्वएमाले तयार छ ?

यसै सन्दर्भमा तत्कालीन एमाले पृष्ठभूमिका नेताका साथै जनयुद्धमा पति गुमाएकी नेकपा सांसदको जनयुद्धप्रतिको दृष्टिकोण यहाँ प्रस्तुत गरिएको छ ।

जनयुद्ध होइन, सशस्त्र संघर्ष भनौं

बेदुराम भुसाल, स्थायी कमिटी सदस्य

जनयुद्ध यथार्थ हो । त्यसका बारेमा आ–आफ्ना तर्क छन् । जहाँसम्म जनयुद्ध दिवसको कुरा छ, पार्टीमा अहिलेसम्म कुन–कुन दिवस मनाउने भन्ने निर्णय भएको छैन । हामीले पार्टी स्थापना दिवस वाहेक अरु दिवस मनाउने गरेको छैन । स्मृति दिवस अलग कुरा भयो ।

जनयुद्धका बारेमा बहस त महाधिवेशनसम्म हुन्छ नै । पार्टी एकताका बेला विधान मस्यौदा गर्दा मैले सशस्त्र संघर्ष भन्ने शब्द राखेको थिएँ । तर, पछि चर्काचर्की भएपछि जनयुद्ध भन्ने शब्द राखियो । तर, उपयुक्त शब्द चाहिँ सशस्त्र संघर्ष नै हो ।

सशस्त्र संघर्ष भन्यो भने नेपाल कम्युनिस्ट पार्टी स्थापनापछि गरेका सबै संघर्ष समेट्छ भनेर मैले भनेको थिएँ । सशस्त्र संघर्षको विचार ल्याउने पुष्पलाल हुन् र शान्तिपूर्ण संघर्षको विचार मनमोहन अधिकारीले ल्याउनुभएको हो । जनयुद्ध भन्ने शब्दले माओवादीद्वारा सञ्चालित संघर्षलाई मात्र समेट्छ ।

हामीले यसबारेमा व्याख्या गर्दै जाँदा एउटा निष्कर्षमा पुग्न सकिन्छ । नेकपाले स्थापनाकालपछि सशस्त्र र शान्तिपूर्ण दुवै प्रकारका संघर्ष गरेको हुनाले सशस्त्र संघर्ष भन्ने शब्दले सबैलाई समेट्छ । हामीले इतिहासलाई हेर्ने साझा दृष्टिकोण बनाउन बाँकी छ । सायद महाधिवेशनले टुंगो लगाउँछ ।

जनयुद्धको ‘वान साइडेड लभ’ आवश्यक छैन

सूर्य थापा, केन्द्रीय सदस्य

जनयुद्धको कारणले कतिपय उपलब्धी हासिल भएका छन् । गणतन्त्र लगायतका राजनीतिक उपलब्धीलाई हामीले मान्छौं । तर, जनयुद्धको महिमागान गर्नुचाहिँ आवश्यक छैन । जनयुद्ध छाडेर पार्टी एकता भएको हो । जनयुद्धका उपलब्धिहरुलाई यथोचितरुपमा सम्मान र संस्थागत गरिएको छ ।

छाडिसकेको जनयुद्धको पक्षमा धेरै ‘वान साइडेड लभ’ गरिरहनु आवश्यक छैन । जनयुद्धमा बलिदान गर्ने शहीदहरु, घाइते र अंगभंग भएकाहरु, बेपत्ता हुनेहरुको यथोचित सम्मान, क्षतिपूर्ति, खोजविन मेलमिलाप जे गर्नुपर्ने हो, शान्ति प्रक्रियासँग जोडेर यी समस्याको समाधान गर्नुपर्छ । त्यसपछि जनयुद्ध सधंैका लागि बिर्सनुपर्छ ।

जनयुद्ध स्वीकार गरेर पार्टी एकता भएको पनि होइन । जनयुद्धको कार्यदिशालाई हामीले मानेर पार्टी एकता गरेको होइन । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि यो एकता भएको हो । एमालेले अंगीकार गरेको कार्यदिशाका आधारमा पार्टी एकता भएको हो ।

जहाँसम्म जनयुद्ध दिवसको कुरा छ, जनयुद्ध दिवस भनेर मनाइएको होइन । त्यो संघर्षमा ज्यान गुमाउनेहरुको स्मरण गरिएको हो । जनयुद्ध र जनआन्दोलनका शहीदलाई जहिले सम्झिए पनि हुन्छ ।

जनयुद्धबारे महाधिवेशनले व्याख्या गर्छ

विष्णु रिजाल, केन्द्रीय सदस्य

पहिलो कुरा त पार्टीले जनयुद्ध दिवस मनाउने निर्णय गरेको छैन । फागुन १ गते जनयुद्ध र जनआन्दोलनका शहीदको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम राखिएको हो । माओवादी जनयुद्ध नेपाली राजनीतिक इतिहासको कठोर यथार्थ हो । यसका पक्ष–विपक्षमा आ–आफ्ना तर्क छन् ।

हामीले बुझ्नुपर्ने कुरा के हो भने नेकपाको एकीकरण जनयुद्ध गरिरहेको माओवादी र शान्तिपूर्ण राजनीतिको नेतृत्व गरिरहेको एमालेबीच एकता भएको होइन । जनयुद्ध बिसर्जन गरेर शान्तिपूर्ण राजनीतिमा आएको माओवादी र शान्तिपूर्ण राजनीति गरिरहेको एमालेबीच एकता भएको हो ।

हाम्रो पार्टीमा इतिहासका कतिपय घटनाहरुलाई हेर्न विषयमा एकरुपता कायम गर्न बाँकी नै छ । यो बहस, छलफलले यसले लामो समय लिन सक्छ । मचाहिँ जनयुद्ध लडेर आएका साथीहरुको चित्त दुखाउन चाहान्न । जनयुद्ध भएको दिनलाई पार्टीले मानेको छ । जनयुद्धलाई कसरी हेर्ने भन्ने आधिकारिक दृष्टिकोणबारे महाधिवेशनमा छलफल हुन्छ ।

जनयुद्धले नै माओवादीलाई जबजको बाटोमा ल्यायो

देवशंकर पौडेल, केन्द्रीय सदस्य

पार्टीले फागुन १ गते गर्ने भनेको जनयुद्ध दिवस होइन, जनआन्दोलन र जनयुद्धका शहीदहरुको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम भनेको हो । पार्टीमा जनयुद्ध दिवस मनाउने निर्णय भएको छैन । नेपालको जनआन्दोलन र जनयुद्ध दुबैलाई महत्व दिएको हो । जनयुद्धका बारेमा पार्टीमा एकीकृत व्याख्या भइसकेको छैन ।

एमालेले जनयुद्ध स्वीकार गरेर पार्टी एकता भएको होइन । तर, जनयुद्ध नेपाली राजनीतिक इतिहासको यथार्थ हो । नेपाली कम्युनिस्ट आन्दोलनको एउटा त्यो पनि अनुभव हो । त्यो अनुभवका रुपमा लिनुपर्छ । तर, त्यो त छाडेर एकता भएको हो भन्ने पनि बुझ्नुपर्छ ।

जनयुद्धले तत्कालीन माओवादीलाई पनि बाटो देखायो कि यसबाट सफल भइँदैन । त्यसैले उहाँहरु चुनावकै बाटोमा जानुपर्छ भन्नेमा आउनुभयो । जनताको बहुदलीय जनवादको बाटो हो त्यो भनेको ।

तर, जनयुद्ध एउटा कठोर यथार्थ थियो । एउटा व्यक्ति मर्नका लागि तयार हुनु सानोतिनो कुरा होइन । हजारौं मान्छेले उद्देश्यका साथ ज्यान फाले । सफल क्रान्ति हुन्छ, एकछत्र शासन हुन्छ भन्ने उद्देश्य थियो । हुन त म आफैं तत्कालीन माओवादीबाट पटक–पटक कुटाइ पिटाइ खाएको, यातना पाएको मान्छे हुँ । अब ती घटनालाई इतिहासको पाठका रुपमा लिनुपर्छ । त्योबेला मेरो आङमा एमाले थियो, मलाई आक्रमण गर्नेको आङमा माओवादी थियो । ती कुरा सम्झेर हुँदैन ।

जनयुद्धको जस–अपसज बोक्न तयार भयौं

शेरबहादुर तामाङ, केन्द्रीय सदस्य

२०५२ सालमा तत्कालीन माओवादी जनयुद्ध एउटा दृष्टिकोणको आधारमा शुरु भयो । त्यसमा हाम्रो तत्कालीन एमालेको फरक दृष्टिकोण थियो । हामीले २०४७ पछि नै जबज भनेर शान्तिपूर्ण प्रतिस्पर्धाको लाइनमा उभिएर जनताबीच लोकप्रियता हासिल गरेका हौं । जनयुद्ध जनयुद्ध आवश्यक थिएन, थोपरिएको हो भन्ने हाम्रो दृष्टिकोण थियो ।

जनयुद्धले राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेकै छ, त्यसलाई नजरअन्दाज गर्न सकिन्न । इतिहासको राम्रो–नराम्रो दुवै पक्षलाई अब संश्लेषण गरांै । पार्टी एकता भइसकेको अवस्थामा हामीले जनयुद्धको जस–अपजस बोक्न तयार भएका हौं ।

अब जनयुद्धसहित इतिहासका यस्ता कुरालाई पुनः बहस गरेर महाधिवेशनमा दस्तावेजीकरण गर्नुपर्छ । जनयुद्ध उचित थियो वा थिएन भन्ने बारेमा अब बहस गरेर अर्थ छैन । तर, त्यसलाई पार्टीले आधिकारिकरुपमा महाधिवेशनमा बहस गरेर दृष्टिकोण बनाउनुपर्छ ।

महाधिवेशनले जनयुद्धको व्याख्या गर्छ

विशाल भट्टराई, केन्द्रीय सदस्य

तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्ध इतिहासको विषय भइसक्यो । पार्टी एकता भइसकेपछिको अवस्थामा यसको पुनव्र्याख्या हुन जरी छ । स्वयं अध्यक्ष प्रचण्डले माओवाद र जनयुद्धबारे बेलाबेलामा दुविधाग्रस्त कुरा गर्नुहुन्छ । पार्टीको महाधिवेशनले यसबारेमा एउटा आधिकारिक दृष्टिकोण बनाउने छ ।

माओवादीले देश, जनता र परिवर्तनको उद्देश्यले जनयुद्ध गरेको भए पनि त्यसको विधि र तरिका सामयिक थिएन भन्ने मेरो दृष्टिकोण हो । अब पार्टीको महाधिवेशनमा स्पष्ट धारणासहित दस्तावेज आउनुपर्छ । यसको बहस अब त्यही थलोमा हुनेछ ।

जनयुद्ध इतिहास हो, जबजको बाटो नै यथार्थ हो

प्रेम आले, केन्द्रीय सदस्य

माओवादीले तत्कालीन अवस्थामा गरेको जनयुद्ध अब इतिहासको घटना भइसकेको छ । त्यो ठीक थियो कि थिएन भन्ने बहस कसरी गर्ने भन्ने आ–आफ्नै तर्क छन् । पार्टीेले महाधिवेशनमा यसबारेमा एउटा निष्कर्ष निकाल्छ । त्यहीबेला बहस गर्नु उपयुक्त हुन्छ ।

तत्कालीन एमालेले जनयुद्धका बारेमा आलोचनात्मक दृष्टिकोण राखेको हो । आखिर शान्तिपूर्ण जनसंघर्षको बाटो, जुन जनताको बहुदलीय जनवादले अँगालेको हो, त्यही ठाउँमा तत्कालीन माओवादी आइपुगेपछि पार्टी एकता भएको हो । जबजको बाटो नै आजको नेकपाको यथार्थ हो ।

हाम्रा अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीले यसबारेमा प्रष्ट पारिसक्नुभएको छ । जनयुद्ध दिवस भन्दा पनि जनयुद्ध र जनआन्दोलनमा जीवन गुमाउने सबैको सम्झनामा पार्टीले कार्यक्रम गर्न लागेको हो । दिवस मनाउने भनेको होइन ।

जनयुद्धका नराम्रा घटनालाई बिर्सौं

शान्ता चौधरी, केन्द्रीय सदस्य

तत्कालीन एमाले र तत्कालीन माओवादीबीच पार्टी एकता भइसकेको छ । अब इतिहासका नराम्रा कुरा कोट्याएर हामी अघि बढ्न सक्दैनांैं । जनयुद्धबाट प्राप्त भएका राम्रा उपलब्धिलाई संस्थागत गर्दै त्यसबेला भएका नराम्रा घटनालाई बिर्सनु नै उपयुक्त हुन्छ ।

हामी सबैलाई पाच्य हुने गरी जनयुद्धको समग्र ब्याख्या गर्न महाधिवेशनसम्म पर्खौं । हामीले हिजो एमालेले जनयुद्धका बारेमा एउटा धारणा बनाएको हो । आज पार्टी एकता हुँदा एमालेले जनयुद्ध स्वीकार गरेको होइन ।

जनयुद्ध त माओवादीले नै बिसाएर शान्तिपूर्ण राजनीतिको बाटोमा आएको हो । त्यसैले जनताको बहुदलीय जनवादको बाटो नै नेपाली कम्युनिस्ट आन्दोलनको राजमार्ग हो भन्ने यथार्थ बुझौं र जनयुद्ध एउटा इतिहासको घटना थियो भनेर सम्झौं ।

जनयुद्ध र फागुन १ ले पीडा दिन्छ

शान्तिमाया पाख्रिन, नेकपा सांसद

एमाले र माओवादीबीच नयाँ परिस्थ्तििमा एकीकरण भएको हो । यो एकता आवश्यकता पनि थियो । अहिले पार्टीले फागुन १ गते जनयुद्ध र जनआन्दोलनका शहीदप्रति श्रद्धान्जली सभा आयोजना गर्ने भनेको छ । मलाई चाहिँ यो जनयुद्ध शब्द र फागुन १ ले पीडा दिन्छ । मेरा पति तत्कालीन दोलखाको ठूलोपाताल गाविसका अध्यक्ष बुद्धिमान पाख्रिनको हत्या त्यही जनयुद्धले गर्‍यो ।

मैले बोल्दाचाहिँ जनयुद्धको सार्थकता देखिनँ । जनयुद्ध शब्द आफैं विवादास्पद छ । संविधानको प्रस्तावनामै यो शब्द राख्ने नराख्ने भनेर धेरै बहस भयो । अन्तिममा जनयुद्ध नराखेर सशस्त्र द्वन्द्व राखिएको छ । अहिले हाम्रो पार्टी नयाँ परिस्थितिमा एक भएको हो, पार्टी एकता हुँदैमा इतिहासमा जुन गल्ती गरेको छ, त्यो गल्ती क्षम्य हुन सक्दैन ।

जनयुद्धका नाममा इतिहासमा गरेका गल्तीहरुको स्वामित्व पूर्वएमालेले लिनैपर्छ भन्ने मलाई लाग्दैन । स्वयं मेरो आफ्नै मान्छे अपहरण गरेर मार्ने मान्छे नेता भएका छन् मेरा । एउटै कमिटीमा बस्नुपरेको छ । त्यो पीडा त हामीलाई थाहा छ । तर, पनि पार्टी एकता आवश्यकता थियो ।

फागुन १ गते श्रद्धाञ्जली कार्यक्रम गर्नुपर्ने तूक देखिनँ मैले । पार्टी एकता भयो भन्दैमा फागुन १ गते तडक–भडक गर्नु पर्दैन । बरु शहीद परिवारको नाताले म के भन्छु भने त्यो जनयुद्धका बेला मारिएका, घाइते र पीडितको तथ्यांक संकलन गरौं । उनीहरुको अवस्था के छ, त्यो खोजौं ।

बन्दूकको नालबाट सत्ता प्राप्त गर्ने भनेर हिँडेका नेता रगतको पोखरीमा स्नान गरेर यही ठाउँमा आउनुरहेछ त त्यो बाटोलाई कसरी सही भन्ने ? आखिर एमालेले लिएको बाटो नै सही थियो । यो फागुन १ गते र जनयुद्ध शब्दलाई हामीलाई थप पीडा दिन्छ ।

योबेला बरु राज्यले शहीदको पनि परिभाषा गरौं, बन्दूक भिरेर अरुलाई मार्न हिँडेने पनि शहीद हुन्छ ? नेकपाको सरकारले यसको परिभाषा गर्नुपर्छ । भीरबाट लडेर मर्ने पनि शहीद, पोखरीमा डुबेर मर्ने पनि शहीद, यसले त शहीदकै अपमान भयो ।

यो पनि पढ्नुहोस ‘माओवादीलाई विद्रूपीकरण गर्ने कोसिस भइराखेको छ, वर्गसंघर्ष हो, चलिराख्छ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment