
१ फागुन, काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । र, उनलाई दुई महिनापछि महासंघको स्वतः अध्यक्ष बन्न लागेका शेखर गोल्छाले साथ दिएका छन् ।
महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रवधान छ । त्यही व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्ष गोल्छाले दुई महिनापछि अध्यक्ष भवानी राणाको स्थान लिनेछन् ।
साथै महासंघको आगामी महाधिवेशनमा वरिष्ठ उपाध्यक्षको चुनाव नै मुख्य प्रतिस्पर्धा हुनेछ । त्यसका लागि प्रधानले बिहीबार आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यसअघि वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले पनि उम्मेद्वारी घोषणा गरिसकेका छन् ।
प्रधानको उम्मेदवारी घोषणा कार्यक्रममा महासंंघका भावी अध्यक्ष गोल्छा पनि सहभागी भएका थिए । ‘जब म नेतृत्व सम्हाल्दैछु, मेरो मनले भन्यो तिमी सबैकोअध्यक्ष हुनुपुर्छ’ उनले चण्डीराज ढकालतर्फ संकेत गर्दै भने, ‘तर जस्तो चितायो त्यस्तो नहुने रहेछ । हाम्रो पूर्वअध्यक्षले के भन्नुभयो भने शेखर एक्लैले के गर्छ ? सबै टिम मेरै आउने हो । उ मेरो लाइनमा हिँडेन भने ६ महिनामा पदमुक्त गरिदिन्छु ।’
उनले अघि भने, ‘अनि म नेतृत्वमा आएर रबर स्ट्याम्प बन्ने ? मैले काम गर्न सबल र बलियो टिम चाहियो, जसले महासंघको गिरेको शाख फिर्ता ल्याओस् ।’
प्रधान समूहलाई साथ दिनुको कारणतर्फ संकेत गर्दै उनले महासंघका काम गर्न टिम चाहिने बताए । गोल्छाले आफू अध्यक्ष भएको ६ देखि ९ महिनाभित्र विधान विधान गरेर सबैले चाहेको जस्तो बनाउने बाचा गरे । उनले अघि भने, ‘म अध्यक्ष भएपछि कसैको प्रवक्ता बन्दिन, निजी क्षेत्रको मात्र प्रवक्ता बन्छु ।’
उनले ६ महिनाभित्र महासंघको सम्पूर्ण अडिट गरेर वेबसाइटमा राख्ने व्यवस्था मिलाउने बताए ।
रोचक के छ भने गत चुनावमा गोल्छाले नै प्रधानलाई बरिष्ठ उपाध्यक्षमा चुनाव हराएका थिए । वरिष्ठ उपाध्यक्षमा पराजय बेहोरेका प्रधानलाई रिक्त उपाध्यक्ष पदमा पछि मनोनित गरिएको थियो । जिल्लानगर उपाध्यक्ष प्रमोद श्रेष्ठले स्थानीय निर्वाचनमा उम्मेदवार बनेपछि उनको स्थानमा प्रधानलाई ल्याइएको थियो ।
केही समयअघि चन्द्र ढकालले महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरिसकेका छन् । ढकाल समूहको उम्मेद्वारी घोषणाप्रति पनि गोल्छाले आक्रोश पोखेका छन् ।
आफू अबको अध्यक्ष बन्ने भए पनि आफूबिनै प्यानल बनाइएको भन्दै उनले एकलौटी गर्न खोजिएको बताए ।
हालको विधानअनुसार आगामी निर्वाचनबाट वरीष्ठ उपाध्यक्ष हुने व्यक्ति नै गोल्छा पछिको अध्यक्ष हुनेछन् । यसकारण सबैभन्दा रोचक प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्ष पदमा हुन्छ ।
आगामी चैत्र २९ गते महासंघको चुनाव हुँदैछ । चुनावका लागि दुई वर्तमान उपाध्यक्षहरु एकै कित्तामा उभिने भएका छन् ।
वर्तमान ३ उपाध्यक्षहरु मध्ये चन्द्र ढकाल र उमेशलाल श्रेष्ठ एकै कित्तामा उभिने छन् । यी दुई बिच चुनावमा कसरी अघि बढ्ने भन्नेमा सहमति समेत भइसकेको छ ।
चुनाव नजिकिँदै जाँदा आकांक्षीहरुले दौडधुप तीब्र बनाएका छन् । ढकाल र श्रेष्ठको प्यानलले आगामी चुनावका लागि गृहकार्य तीब्र बनाएको छ । दुई उपाध्यक्ष एकातिर लागे पनि आफूले जित निकाल्ने प्रधानको दावी छ ।
उम्मेद्वारी घोषणा गर्दै उनले आफूले चुनाव जित्ने दावी गरे । आफ्नो इमान्दारिता नै मूख्य सम्पत्ति भएको भन्दै उनले आफ्नो पक्षमा धेरै जनमत रहेको उनले दाबी उनले गरे ।
‘उम्मेद्वारी फिर्ता लिन्छ भनेर हल्ला गरेको पनि सुनेँ, मेरो उम्मेद्वारी दर्ता हुन्छ र म जित्छु’ उनले भने । यसपाली जितकै लागि चुनावी मैदानमा उत्रिन लागेको उनले बताए ।
प्रधान जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघको तर्फबाट उदाएका व्यक्ति हुन् । विराटनगरका उद्योगी प्रधान विजुलीको पोल उत्पादन गर्ने व्यवसायीहरुको संगठनको अध्यक्ष छन् ।
प्रतिक्रिया 4