Comments Add Comment

सरकारले दियो धार्मिक सभा सञ्चालनको अनुमति, तेस्रो मुलुकबाट आएकालाई फर्काइँदै

२ फागुन, सप्तरी । नेपाल र भारतबाहेक तेस्रो मुलुकबाट आएका मुस्लिम समुदायलाई फर्काउने शर्तमा सरकारले सप्तरीको बोदेबर्साइन नगरपालिकामा धार्मिक सभा सञ्चालन गर्न अनुमति दिएको छ ।

धार्मिक सभा सञ्चालनको अनुमति पाएसँगै मुस्लिम समुदायले सभाको तयारी तीव्र पारेका छन् । सभा यही फागुन ३ गते शनिबारदेखि सुरु हुँदैछ ।

गृह मन्त्रालयले नेपाल र भारतका धर्माम्बलीलाई मात्रै सहभागी गराउने भनिए पनि तेस्रो मुलुकहरुबाट पनि बोलाइएको भन्दै बिहीबार सभा सञ्चालनमा रोक लगाएको थियो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गृह मन्त्रालयले सभा सञ्चालनको अनुमति दिएको छ ।

‘तेस्रो मुलुकबाट आएकाहरुलाई फर्काउने शर्तमा हामीले सभा सञ्चालन गर्न भनेका छौं,’ सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाइँले अनलाइनखबरसँग भने, ‘अन्य देशबाट आउनेहरुलाई आयोजकले नै फिर्ता पठाउन थालेका छन् ।’

एसपी प्रसाईंले नेपाल र भारतबाहेकका दुई सय जनासम्म सभास्थलमा आइसकेको बताउँदै उनीहरुलाई फर्काउने काम आयोजकले नै गरिरहेको बताए ।

सभामा नेपाल र भारतबाट मात्रै मुस्लिम धर्मका अगुवालाई बोलाउने भनिए पनि पाकिस्तान, दुबई, कतारलगायतका देशहरुबाट समेत बोलाइएपछि सुरक्षाको कारण देखाउँदै सभालाई रोक्न गृह मन्त्रालयले सर्कुलर गरेको थियो ।

सुरक्षा र ट्राफिक व्यवस्थापनमा आयोजकको आफ्नै जनशक्ति

बोदेबर्साइन नगरपालिकाको जाँजर टोलमा मुस्लिम धार्मिकसभा गर्न सयौं टेन्ट निर्माण गरिएको छ । शनिबारदेखि प्रारम्भ हुने धार्मिकसभा सोमबारसम्म चल्ने आयोजकले जनाएको छ ।

सुरक्षा संवेदनशीलता बढेको भन्दै धार्मिक सभा हुने स्थान र त्यस वरपरका क्षेत्रमा बिहीबारदेखि नै ठूलो संख्यामा नेपाल तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ । आयोजक समितिका सदस्यहरु आफैं पनि सुरक्षा र ट्राफिक व्यवस्थापन खटिएका छन् ।

एसपी प्रसाईंले आपसी समन्वयमा नै आयोजकले आफ्ना स्वयंसेवक परिचालन गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment