+
+
Shares

फेवाताल बचाउने ड्याम नै गुणस्तरहीन !

विकास रोकामगर विकास रोकामगर
२०७६ फागुन २ गते १९:००

२ फागुन, पोखरा । खहरे खोलाबाट फेवातालमा मिसिने ढुंगा र माटो छेक्न बनाइएको सिल्ट्रेसन ड्याम गुणस्तरहीन पाइएको छ ।

स्थानीय वासिन्दाको गुनासोपछि शुक्रबार स्थलगत अध्ययनमा पुगेको सांसदसहितको टोलीले सिल्ट्रेसन ड्यामको प्लास्टर हातले छुँदैमा भत्किएको पाएको हो ।

गण्डकी प्रदेश सांसद राजीव पहारी, प्रदेश डिभिजन इन्जिनियर सोभियत खड्कासहितको टोलीले खड्का कृष्ण पिके जेभीले बनाएको सिल्ट्रेसन ड्यामको अनुगमन गरेको थियो । सिल्ट्रेसन ड्यामको प्लास्टर हातैले छुँदासमेत झर्न थालेपछि भने सांसद पहारीले यो विषय प्रदेशसभामा उठाउने बताएका छन् ।

‘यो ड्याम २ वर्ष या ५ वर्षका लागि बनाउन लागेको होइन,’ उनले भने, ‘फेवातालको जीवन बचाउन बनाएको ड्याम पानीको बहावबिनै आफैं भत्कन थाल्छ भने हामीले के हेरेर बस्ने ?’

इन्जिनियर खड्काले उक्त ड्यामको गुणस्तर परीक्षण गर्नुपर्ने बताएका छन् । ‘कतिको गुणस्तर छ भन्ने कुरा आँखाले हेरेर हुँदैन । त्यसका लागि प्राविधिक निरीक्षण नै गर्नुपर्छ,’ उनले भने, ‘ड्यामको प्राविधिक जिम्मा स्थानीय तहलाई भएकाले यसको निरीक्षण महानगरले गर्नुपर्छ ।’

स्थानीयले भने आफूहरुले पटक पटक गुनासो गर्दा पनि महानगरबाट खटिएका प्राविधिकले नसुनेको आरोप लगाए । ‘प्लास्टरमा जति पानी हाल्नुपर्ने हो, त्यो छैन । इन्जिनियर आउँदा आफ्नो कुरा राखेका पनि थियौं,’ स्थानीय विष्णुप्रसाद दाहालले भने, ‘उहाँहरुले प्रत्येक पटक हेर्छौं भन्नु हुन्छ । तर, नहेर्दै आयोजना नै पूरा हुन लागिसक्यो ।’

के हो सिल्ट्रेसन ड्याम ?

मुहानका खोलाबाट आउने ढुंगा, माटोका गेग्रानले फेवाताल पुरिँदै जान थालेपछि पानी छान्ने गरी अहिले प्रदेश सरकार र पोखरा महानगरले संयुक्त रुपमा सिल्ट्रेसन ड्याम बनाइरहेका छन् । त्यसका लागि २८ करोड रुपैयाँमा ५ वटा ठेक्का सम्झौता भएर काम भइरहेको छ ।

गत पुसदेखि सुरु भएको सिल्ट्रेसन ड्याम निर्माण १५ महिनाभित्र सक्ने गरी सम्झौता भएको छ । जसअन्तर्गत बेत्यानी खोलामा २ वटा, खहरे खोला, घाँटीछिना र लौरुक खोलामा १÷१ गरी ५ वटा सिल्ट्रेसन ड्याम बनिरहेका हुन् ।

बेत्यानी खोलामा ३ वटा ड्याम बनाउने जिम्मा श्रीगीता र जय नेपाल ईश्वर जेभी र लौरुक, अँधेरी खोला तथा हर्पन खोलाका सिल्ट्रेसन ड्याम बनाउने जिम्मा खड्का कृष्ण, पिके जेभीले पाएका छन् ।

सिल्ट्रेसन ड्यामले तालमा आउने ढल, ढुंगा, माटो र बालुवालाई थिग्राउने हुनाले पुरिने सम्भावना कम हुने विश्वास प्रदेश सरकार र महानगरको छ ।

मलाई नै जानकारी छैन : वडाध्यक्ष

सिल्ट्रेसन ड्याम बनिरहेको पोखरा २३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले भने आफूलाई आयोजनाबारे प्रदेश र महानगरले जानकारी नै नदिएको बताएका छन् । ‘आफ्नै वडामा काम भइरहेको छ । तर, मलाई नै कुनै जानकारी दिइएको छैन,’ उनले भने ।

वडाध्यक्ष पराजुली नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनले आफूलाई फरक पार्टीकै भएकै कारण ‘बायस’ गरेको आरोप लगाए । ‘सुरुमा ड्याम बन्छ भन्ने कुरा आएको थियो । तर, कस्तो ड्याम के ड्याम मलाई अहिलेसम्म आधिकारिक भनेका छैनन्,’ उनले भने ।

सम्झौताअनुसार नै गरेका छौं : ठेकेदार कम्पनी

ठेकेदार कम्पनी खड्का कृष्ण पिके जेभीले सिल्ट्रेसन ड्याम बनाउन प्रदेश सरकार र पोखरा महानगरपालिकासँग १/६ को मसला (सिमेन्ट र बालुवाको मात्रा) प्रयोग गर्न सम्भौता भएको बताएको छ ।

कम्पनीका साइट इन्चार्ज कमलराज ओली ड्यामलाई बलियो बनाउन तल १/६ को मसला र माथि १/४ को मसला प्रयोग गर्नुपर्ने पनि सम्झौतामा १/६ को मसला प्रयोग गर्ने भनिएकाले सम्झौताबाहिर नजाने बताउँछन् ।

मुआब्जामा विवाद

सिल्ट्रेसन ड्याम बनिरहेको ठाउँमा जग्गा पर्ने २० भन्दा बढी व्यक्तिले मुआब्जा माग गरेका छन् । ‘यहाँ व्यक्तिको जग्गा पर्छ । अन्यत्रै उपलब्ध भएको सार्वजनिक जग्गामा ड्याम बनाउन सुरुदेखि नै भन्दै आएका थियौं,’ स्थानीय विष्णुप्रसाद दाहालले भने, ‘तर, त्यसको कुनै जवाफ आएन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?