+
+

थापालाई पार्टीका दस्तावेज पढ्न बस्नेतको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ४ गते १७:११

४ फागुन, भैरहवा । सत्तारूढ नेकपा निकट अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई पार्टीका आधिकारिक दस्तावेज अध्ययन गरेरमात्र अभिव्यक्ति दिन आग्रह गरेका छन् । पार्टीका आधिकारिक दस्तावेज र निर्णयविरुद्ध बोल्ने छुट कसैलाई नभएको नेता बस्नेतले बताए ।

थापाले जनयुद्धबारे विवादित अभिब्यक्ति दिँदै आएपछि पूर्वमाओवादी नेता कार्यकर्ता रुष्ट छन् । आइतबार रुपन्देहीको पक्लिहवामा आयोजित एक कार्यक्रममा बस्नेतले भने, ‘पार्टीका आधिकारिक निर्णयविरुद्ध बोल्ने छुट कसैलाई छैन । जनयुद्धबारे जथाभावी बोल्नुअघि एकपटक नेकपाको दस्तावेज पढ्नुस् ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अभिब्यक्तितर्फ लक्षित गर्दै बस्नेतले भने, ‘०६४ सालको निर्वाचनमा जनयुद्ध प्रचण्ड बहुमतले र ०७४ सालको निर्वाचनमा झण्डै दुई तिहाइ जनमतले अनुमोदन भैसकेको छ ।’

गत आमनिर्वाचनमा वाम गठवन्धनको संयुक्त घोषणापत्रमा जनयुद्धको योगदान र भूमिका उल्लेख गरिएको बताउँदै बस्नेतले सो घोषणापत्रलाई नै जनताले दुई तिहाइ मत दिएको दाबी गरे।

रुपन्देहीको पक्लिहवा क्याम्पसमा सहिद वामदेव घिमिरे स्मृति अक्षयकोष समितिद्वारा आयोजित अन्तरकलेज पक्लिहवा कप खेलकुद प्रतियोगिताको उदघाटन समारोहमा बोल्दै बस्नेतले नेपालको संविधानले समेत जनयुद्धलाई स्वीकार गरेको दाबी गर्दै भने, ‘नेपालको संविधानको प्रस्तावनामा नै सशस्त्र सङ्घर्ष र त्यसक्रममा भएका सहिद र वेपत्ता योद्धाको उच्च सम्मान गरिएको छ।’

१२ बुँदे सहमति, निर्वाचनको घोषणापत्र र नेकपाको राजनीतिक प्रतिवेदनले जनयुद्धको योगदानबारे स्पष्ट पारेको बस्नेतको भनाइ छ ।

अन्तरकलेज पक्लिहवा कप खेलकुद प्रतियोगितामा क्रिकेटतर्फ २० र भलिबलतर्फ १६ वटा टिमले भाग लिएको आयोजक समितिका संयोजक सुरज भण्डारीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?