Comments Add Comment

वीरगञ्ज महानगरका डिभाइडरमा बिरुवाभन्दा पहिले विज्ञापनका बोर्ड

३ फागुन, वीरगञ्ज । वीरगञ्जको मुख्य सडक फराकिलो गर्ने चर्चा चलेको धेरै समय भइसकेको छ । पछिल्लो पटक मुख्य सडकका घरधनीले अदालमा मुद्दा हालेपछि त्यो काम रोकिएको छ ।

सडक फराकिलो नभएकै कारण घण्टाघरदेखि दक्षिणतर्फ डिभाइडरसमेत छैन । घण्टाघरदेखि उत्तर पावरहाउस चोकसम्म डिभाइडर छ । तर डिभाइडरको बगैचामा बिरुवाभन्दा ठूला विज्ञापनका बोर्ड छन् ।

डिभाइडरमा जगदम्बा ग्रुपको सबैभन्दा बढी बोर्ड देखिन्छ भने त्यसबाहेक बयोधा अस्पताललगायतका बोर्डहरु राखिएको छ ।
जगदम्बा सिमेन्ट कंक्रिटो, बयोधा हस्पिटल र जगदम्बा वेल्डिङ रोडको ८/८ वटा, जगदम्बा सिमेन्टको ३, टफवुड गोल्डको ५, सिके बिरला ग्रुपको एस्वेष्टस्टसरहित पाताको ३ थान, जेसी विल्डर्स प्रालि र मगनम कोल प्रालिको २/२ वटा बोर्ड लगाईएको छ । ती बोर्डहरु डिभाइडरमा भएका बिरुवाभन्दा ठूला छन् ।

बोर्ड लगाएर प्रचार गर्नेहरुले डिभाइडरमा बिरुवा रोप्न वा गोडमेल गर्न कुनै योगदान नगरेको आरोप स्थानीय लगाउँछन् ।
स्थानीय तहमा जनप्रतिनिधि आउनुपूर्व डिभाइडरलाई बाँसको भाँटाले बेरेर विरुवा रोपेर बगैंचा बनाउने प्रयास नभएको पनि होइन ।

तत्कालीन संविधानसभा सदस्य विचारी यादवलेे सांसद विकास कोषबाट नेशनल ट्रेडिङ चोकदेखि पावरहाउससम्मको डिभाइडरमा ४ लाख खर्चसमेत गरेका हुन् । तर मधेस आन्दोलनको क्रममा आन्दोलनकारीले बाँसको बेरा उखेलेर जलाउनुको साथै बिरुवामा समेत रिस पोखे ।

प्रकृति सेवा प्रतिष्ठानलेसमेत समयसमयमा डिभाइडरमा बिरुवा लगाउँदै आएको छ । केही बिरुवा बचेर हुर्केका पनि छन् । त्यसको समेत उचित संरक्षण गरिएको छैन ।

नभएका स्थानमा त भएन भएन । भारतीय महावाणिज्य दतावासको कार्यालयदेखि घण्टाघरसम्म बिरुवा हुर्किसकेका छन् । तर त्यसको समेत उचित संरक्षण हुन सकेको छैन । डिभाइडर छाडा पशु चौपाया चर्ने र आराम गर्ने ठाउँमा परिणत भएको छ ।

यसले ‘वीरगन्ज नगर, स्वच्छ, सफा, सुन्दर सहर’ भन्ने नारालाई गिज्याइरहेको भान हुन्छ । जगदम्बा ग्रुपका सञ्चालक राजेश अग्रवाल वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीका सम्धीसमेत हुन् ।

सरावगी वीरगञ्ज महानगरको नगर प्रमुखमा चुनिएलगत्तै अग्रवालले आफ्ना उत्पादनका बारेमा प्रचार सामाग्री डिभाइडरमा लगाएका थिए ।

डिभाइडरमा बिरुवाभन्दा पहिले ठूला-ठूला विज्ञापनका बोर्ड लागेको भन्दै प्रश्न उठ्न थालेपछि महानगरले ०७६ भदौ १५ गते जगदम्बा उद्योगसँग सम्झौताको कागजात तयार गरेको थियो ।

वीरगञ्ज महानगरपालिका राजश्व फाँटका प्रमुख राम दयाल यादव विज्ञापनको बोर्ड राख्न कुनै संस्था, उद्योग वा प्रतिष्ठानसँग सम्झौता नभएको बताउँछन् । ‘महानगरपालिकाले नगर क्षेत्रमा प्रचारका लागि तुल, ब्यानर, होर्डिङ बोर्ड लगाउन ठेक्का लगाएर पैसा लिने गरेको थियो । यसपालि त त्यो पनि लाग्न पाएको छैन । मुद्दा चलिरहेको छ,’ उनले भने, ‘डिभाइडरमा प्रचार सामाग्री राख्ने बारे कुनै निकायसँग सम्झौता भएको जानकारी मलाई छैन ।’

५ वर्षका लागि गरिएको सम्झौतामा सडक डिभाइडरमा माटो पुर्ने, वृक्षरोपण र त्यसको संरक्षणको जिम्मा जगदम्बाको हुने उल्लेख छ । तर डिभाइडरमा त्यस्तो गरेको देखिदैन । झारपात मौलाएको छ । भएका केही बिरुवासमेत संरक्षण नभएको देखिन्छ ।

प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंह डिभाइडरमा ‘बोर्ड होइन बोट’ हुनुपर्ने बताउँछन् । डिभाइडरलाई आकर्षक बनाउन पटकपटक प्रयास गरेको भए पनि असफल भएको उनी बताउँछन । ‘डिभाइडरमा फलामको बार लगाउनुपर्छ, मलिलो माटो भर्नुपर्छ, अनि बिरुवा रोप्नुपर्छ नत्र बिरुवालाई पोषण पुग्दैन । बिरुवा संरक्षण हुन सक्दैन भनेको हो,’ उनले भने, ‘वातावरण संरक्षण र सरसफाइबारे नगर प्रमुखलाई २२ बुँदे ज्ञापनपत्र बुझाउँदासमेत डिभाइडरको कुरा उठाएका छौं । तर सुनुवाई नै हुन्न । नगर प्रमुखको नातेदारकै कम्पनीको ठूलो ठूलो बोर्डमा विज्ञापन देखेको छु ।’

उनले बोट विरुवा हुर्काउनु अघि नै ठूला बोर्ड राखेर प्रचार गर्नु गलत भएकोले प्रतिष्ठानले निरन्तर यस्तो कार्यको बिरोध गर्ने बताए ।

संविधानसभा सदस्य विचारी यादव डिभाइडरमा बिरुवा लगाउने र संरक्षण गर्ने नाममा प्रचार मात्रै गर्नु गलत भएको बताउँछन् । ‘विज्ञापनका ठूलाठूला बोर्ड लगाएको छ, रुख रोप्नु त परको कुरा भएको रुखको संरक्षणसमेत गरिएको छैन,’ यादवले भने, ‘यहाँ विरुवाको बारे कसलाई मतलब छ र ? खाली विज्ञापनको मतलब छ ।’

नगर प्रमुख विजयकुमार सरावगी डिभाइडरलाई व्यवस्थित राख्न प्रयास गरिए पनि असफल भएको बताउँछन् । ‘जसलाई जिम्मा दिएका छौं, उनीहरु बिरुवा लगाउँछन्, अर्को दिन बिरुवा नै हुँदैन, डिभाइडरमै फोहोर फालिदिएको हुन्छ,’ उनले भने, ‘पटक-पटक प्रयास गर्दा पनि डिभाइडरमा बिरुवा जोगाउन सकिएन हैरान भयौं भनेर उनीहरुको गुनासो आएको छ ।’

पावरहाउसदेखि घण्टाघर मात्रै नभएर अन्यत्रसमेत डिभाइडरसहितको सडक बनेकोले सबैतिर व्यवस्थित गर्न महानगरपालिका लागि परेको दाबी उनको छ । ‘बिरुवा नहुर्केसम्म रेखदेख गर्न नगर प्रहरी खटाउनुको साथै सीसीटीभी जडान गर्नुपर्ने देखिएको छ,’ उनले भने, ‘वृक्षारोपणका लागि महानगरपालिकाले अभियान नै सञ्चालन गरेकोले निर्देशिका ल्याएर छिट्टै व्यवस्थित ढंगले अघि बढ्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment