+
+

मुख्यमन्त्रीको स्पष्टोक्ति : निवासमा बर्थडे जमघट हो, कार्यकक्षमा मदिरा सेवन होइन

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ४ गते १७:४९

४ फागुन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको केही तस्वीर शनिबार सामाजिक सञ्जालमा भाइरल नै बन्यो ।

तस्वीरमा नेपालको झण्डा र भित्तामा राष्ट्रपति विद्यादेवी भण्डारीको टाँगिएको थियो भने मुख्यमन्त्री गुरुङलगायतले मदिरा सेवन गरिरहेको देखिन्थ्यो ।

त्यही तस्वीरलाई लिएर मुख्यमन्त्री गुरुङको निकै आलोचना र सरकारी कार्यकक्षमै मदिरा सेवन गरेको भन्दै सामाजिक सञ्जालमा भइरल भएको थियो । आलोचनापछि मुख्यमन्त्री पृथ्वीसुब्बाको निजी सचिवालयले शनिबार त्यसको खण्डन गरेको छ ।

सचिवालयले विज्ञप्ति निकाल्दै मुख्यमन्त्रीले कुनै पनि मर्यादा विपरीतको काम नगरेको बताएको छ ।

‘गण्डकी प्रदेशका माननीय मुख्यमन्त्रीज्यूलाई जोडेर सामाजिक सञ्जाल एवं विभिन्न सञ्चार माध्यमहरुमा सार्वजनिक भिडियो, फोटा र समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ निजी सचिवालयका डिल्लीराम सिग्देलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘फागुन २ गते माननीय मुख्यमन्त्रीज्यूको जेठानको परिवार बेलायतबाट आउनुभएको सन्दर्भमा पाहुना खानाको प्रबन्ध गरेको तथा उक्त दिन माननीय मुख्यमन्त्रीज्यूको जन्मदिन समेत रहेकोले निवासमा साँझ पारिवारिक जमघटको व्यवस्था गरिएको थियो ।’

सो क्रममा खिचिएका भिडियो र फोटाहरुलाई मुख्यमन्त्रीज्यूको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु बिडम्बनापूर्ण भएको सचिवालयले जनाएको छ ।

गुरुङ जातिको संस्कार अनुसारको पारिवारिक जमघटको क्रममा कुनै मर्यादा विपरीत कार्य नभएको र अतिरञ्जित गर्न खोजिएजस्तै त्यस्तो नियत पनि नरहेको सचिवालयको दाबी छ ।

जन्मदिनमा आफन्तले उपहार ल्याइदिएको र निवासमा आफन्तका बीच जमघट हुँदा भुलवश फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको मुख्यमन्त्री स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?