
४ फागुन, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौं उपत्यकाको पार्किङ व्यवस्थापन अस्तव्यस्त भएको भन्दै योजना बनाउन सरोकारवालालाई निर्देशन दिएका छन् ।
आइतबार ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालसहित सरोकारवालासँग छलफल गर्दै मन्त्री मानन्धरले उपत्यकाको अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।
ट्राफिक प्रहरी प्रमुख ढकाल, महानगर प्रहरीका प्रमुख धनपति सापकोटा लगायत वरिष्ठ अधिकारीहरु सहभागी कार्यक्रममा मन्त्री मानन्धरले उपत्यकामा तत्कालीन र दीर्घकालीन पार्किङको योजना बनाउन निर्देशन दिएका हुन् ।
शहरमा खाली रहेका जमिनमा व्यवस्थित पार्किङ स्थल बनाउने बताउँदै मन्त्री मानन्धरले भने,‘उपत्यकामा खाली रहेका स्थानहरुमा व्यवस्थित पार्किङ स्थलहरु बनाइने र ती स्मार्ट हुने गरि निर्माण गर्ने कार्ययोजना तयार हुनेछ ।’
बागमती, विष्णुमती करिडोरमा पार्किङको व्यवस्था गर्नुपर्ने मन्त्री मानन्धरको भनाइ छ ।
चक्रपथ र चक्रपथ भित्र पार्किङको व्यवस्थापन सबैभन्दा महत्वपूर्ण रहेको बताउँदै मन्त्री मानन्धरले भित्री शहरमा नागरिकलाई सहज हुने गरी पार्किङ व्यवस्थापन मिलाउन आग्रह गरे ।
उनले मालवाहक ट्रकहरुका लागिसमेत पार्किङ व्यवस्था मिलाउन सरोकारवालाहरुलाई निर्देशन दिए ।
मन्त्री मानन्धरले बालाजु र बसपार्क क्षेत्रमा पार्किङ अव्यवस्थित भएका कारण सर्वसाधारणले सास्ती व्यहोरेको भन्दै तत्काल समाधान गर्न ट्राफिक र महानगरीय प्रहरी प्रमुखलाई निर्देशन दिए ।
मन्त्री मानन्धरले कलंकीबाट गौशालासम्मको सडक खण्डलाई ट्राफिक मैत्री बनाइउनका लागि आवश्यक सुझाव दिन ट्राफिक प्रमुख ढकाललाई निर्देशन दिए ।
प्रतिक्रिया 4