Comments Add Comment

‘सुदूरपश्चिम प्रदेश सरकारले जनतालाई निराश बनायो’

डा. रणबहादुर रावल । फोटो : फेसबुक

५ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जनतालाई निराश बनाएको र प्रतिपक्षका कुरा नसुनी एकलौटी ढंगबाट चलेको नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलको आरोप छ ।

प्रदेश सरकारको दुई वर्षे कार्यकालको मूल्यांकन गर्दै रावलले अनलाइनखबरसँग भने, ‘हामीले सरकारलाई घचघच्याउने, खबरदारी गर्ने र राम्रा काममा स्याबासी दिने गर्यौं । तर, सरकार एकलौटी ढङ्गले चलिरहेको छ ।’

आखिर प्रतिपक्षी दलको नजरमा सुदूरपश्चिम प्रदेश सरकारको भूमिका कस्तो रह्यो त यो दुई वर्षमा ? यसै सन्दर्भमा केन्द्रित रहेर रावलसँग गरिएको कुराकानी –

प्रदेश सरकारले दुई वर्ष पूरा गर्दैछ, कस्तो मूल्याङ्कन गर्नुभएको छ ?

हामीकहाँ नेकपाको दुई तिहाइको सरकार छ । सत्ता सञ्चालनका लागि यसलाई जनताले दुई तिहाइ दिएकै हुन् । तर, दुई वर्षमा यो सरकारले जनतालाईं पुरै निराश बनाएको छ ।

सिकाइ अवधि मानेर सुरुको एक वर्षलाई बिर्सदा पनि अर्को वर्षमा त केही गर्नुपर्ने हो, तर त्यस्तो छैन । पहिले उहाँहरूले कर्मचारी अभाव, संयन्त्र अभाव, कानुन अभाव आदि समस्या भन्नुभयो । अहिले केले रोकेको छ ?

दुई वर्ष भनेको उहाँहरुको ४० प्रतिशत समय हो । यो समय अवधिको मूल्याङ्कन गर्दा प्रदेश सरकार कछुवा गतिमा छ भन्दा फरक पर्दैन । जनता र विकासको पक्षमा उहाँहरुका कति पनि गम्भीरता देखिँदैन ।

प्रमुख प्रतिपक्षी दलको भूमिका पनि प्रभावकारी भएन भन्ने आरोप छ नि ?

जनताले हामीलाई खबरदारी गर्ने भूमिका दिएका छन् । हामी दुई तिहाई पाएको नेकपा सरकारको कमी कमजोरी देखाइदिने रचनात्मक सहयोगी भूमिकामा छौँ । प्रदेश विकासका लागि हामीले सरकारलाई सहयोग गरेका छौँ ।

हामीले सरकारलाई घचघच्याउने, खबरदारी गर्ने र राम्रा काममा स्याबासी दिने गर्यौं। तर, सरकार एकलौटी ढङ्गले चलिरहेको छ ।

सरकार एकलौटी ढङ्गले चल्दा कांग्रेसमाथि निरीह प्रतिपक्षी भएको आरोप लागेको छ नि ?

हामी न कमजोर प्रतिपक्ष न त निरीह प्रतिपक्षी । प्रदेशका सबै कुरामा हामीले चासो दिएका हौँ । बजेट, विधि–प्रक्रिया मिचेर ल्याइएका योजना सबैमा हामीले सशक्त विरोध गर्यौं। २१ दिन सदन अवरोध गर्यौं । यस्ता कुराहरूमा हामीले गम्भीर भूमिका खेलेका छौं ।

यो सरकारको सबभन्दा कमजोर र बलियो पक्ष के पाउनु भयो ?

सरकारले गलत प्रक्रियाबाट योजनाहरु ल्याउने गरेको छ । त्यसरी ल्याएको योजना कार्यान्वयन गर्न पनि सकिरहेको छैन । यही आर्थिक वर्षको सात महिना बितिसक्यो, कतिपय योजनाको अझै अख्तियारी गएको छैन । दुई वर्षमा यो सरकारले एउटा पनि त्यस्तो काम गर्न सकेको छैन, जसलाई गज्जब गर्यो भन्न सकियोस् ।

विधि–प्रक्रिया मिचेर अपारदर्शी ढंगले बजेट ल्याउनुभयो, कार्यान्वयन गर्न सकिरहनुभएको छैन । बजेट र योजना कार्यान्यनमा सरकार पूर्ण रूपमा असफल देखिएको छ । हामी बारम्बार भनिरहेका छौँ– त्यसमा सुधार गर्नुस् ।

यो पनि पढ्नुहोस मन्त्रीहरु भ्रष्टाचारमा मस्त, ‘हेल्लो सीएम’ सुनिएन !

दुईतिहाइको सरकारलाई योजना कार्यान्यनमा किन समस्या परेको होला ?

हामीले विकासको सवालमा सत्तापक्ष र प्रतिपक्ष भनेनौं । हाम्रो प्रदेश पहिल्यैबाट पछाडि परेको छ । स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा हुनुपर्ने पूर्वाधारहरू अझै तयार भइसकेका छैनन् । हुँदाहुँदा नाकाविनाको प्रदेश होला भन्ने चिन्ता हामीलाई छ ।

प्रदेश सभालाई बिजनेस नदिने काम भइरहेको छ । प्रदेश सभाका समितिहरूमा अझै संरचना र कर्मचारीको अभाव छ । यसको जिम्मेवारी प्रदेश सरकारले लिनुपर्छ

न व्यवस्थित नाका छन्, न त औद्योगिक क्षेत्रहरू । रोजगारी नहुँदा  लाखौँ युवा पलायन भइरहेका छन् । त्यसैले प्रदेश सरकार गम्भीर भएर अघि बढ्नु पर्छ भन्ने हाम्रो मान्यता छ । तर, हामीले दिएको रचनात्मक सुझाव पनि सरकारले नसुन्दा समस्या भएको छ ।

प्रदेश सरकारसँग आफ्नै कर्मचारी र संयन्त्र नहुँदा समस्या भएको हो कि ?

जनताले तिनै समस्याहरु समाधान गर्न जिताएर पठाएका हुन् । उहाँहरुले शपथ ग्रहण गरेकै दिनबाट काम थाल्नुपर्ने थियो, तर गर्नुभएन ।

रिबन काट्ने, समृद्धिको भाषण गर्ने कार्यक्रममा मुख्यमन्त्रीदेखि मन्त्रीसम्मको लस्कर लाग्छ । दिनमा चार ठाउँका कार्यक्रम भ्याएका हुन्छन् । हुँदाहुँदा सा–साना रेष्टुरेन्ट उदघाटनमा पनि जान थाल्नुभयो । सुरुमा त सबका सब मन्त्री एउटै कार्यक्रममा दिन बिताउँथे । हामीले तपाईहरू नीति, नियम बनाउन, काम गर्न आएको हो, मालामा नअल्मलिनुस् भनेर पटक–पटक सम्झायौं ।

भनेपछि, संविधानमा परिकल्पना गरिएको ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने सोच प्रदेश सरकारमा देखिएन ?

हो, देखिएन । दुईचार दिन ‘हेलो सीएम…’ भन्ने । दुई चार महिनामा त्यो पनि नचल्ने । यसरी कहाँ हुन्छ जनताको सेवा र विकास ? उता प्रदेश सभालाई बिजनेस नदिने काम भइरहेको छ । प्रदेश सभाका समितिहरूमा अझै संरचना र कर्मचारीको अभाव छ । यसको जिम्मेवारी प्रदेश सरकारले लिनुपर्छ ।

तपाईलाई ‘जस्तो प्रतिपक्षी दल, उस्तै सरकार’ भनेजस्तो लाग्दैन ?

किन लाग्ने ? हाम्रो सल्लाह सुझाव मानेर पनि सरकार असफल भयो भने तपाई त्यसो भन्न सक्नु हुन्छ । तर, हामीले सित्तैमा दिएको सल्लाहसुझाव पनि सरकारले मानेको छैन ।

पारित भइसकेको सुशासन विधेयकलाई सरकारले लत्त्याइरहेको छ । भ्रष्टाचारप्रति शून्य सशनशीलता भन्दै सबतिर भ्रष्टाचार पुर्याएको छ ।

सामाजिक विकास मन्त्रालयलाई नै हेर्नुहोस् । अरू देशमा हो भने मन्त्री, कर्मचारी सबै कारबाहीमा परिसक्थे । तर, नेपाल हुनाले सबै मत्ता हात्ती जस्तो बनेर हिड्न पाएका छन् । बढी जिम्मेवार भएर काम गर्नपर्नेहरु नै अराजक बनेका देखिन्छन् । अनि प्रतिपक्षलाई आरोप किन ? हामी कहीँ चुकेका छौँ भने त्यो देखाउनुस् न !’

तपाईहरूले दुई वर्षमा एउटा पनि गैर–सरकारी विधेयक ल्याउनु भएन, किन ?

विधेयक ल्याएर पास गर्ने बहुमत हामीसँग छैन ।

बजेटको बिरोधमा २१ दिन सदन अवरुद्व पार्नुभयो, रातो किताब नै जलाउनु भयो । त्यसबेला सरकारसँग के गोप्य सहमति भएर बिरोध रोक्नुभएको थियो ?

प्रदेश गौरवका योजनाहरूमा सहमति भएको थियो, सरकारले पालना गरेको छैन । बिकासका अन्य योजनामा पनि सरकारले चासो दिएको छैन । सरकार अपारदर्शी ढङ्गले काम गरिरहेको छ । त्यस्तै कार्यविधि तयार गरेको छ । योजना कार्यान्वयन गर्दा प्रतिपक्षी दल लगायत सरोकारवालाहरुलाई राख्ने काम भएको छैन ।

प्रदेश गौरवका योजनाहरू कार्यान्वयन नहुनुको कारण के हुन सक्छ ?

काम गर्ने इच्छाशक्ति नै नभएर यस्तो भएको हो । बजेट खर्च हुन सकेको छैन, योजनाहरू अलपत्र परेका छन् । सरकारमा रहेकाहरु यो मेरो पक्षको, यो अर्को पक्षको भन्ने सोचले ग्रस्त छन् । योजना आयोग बनाउन अहिलेसम्म विधेयक ल्याएका छैनन् । यस्ता कुरामा त सरकारको चासो नै छैन । झिना मसिना काममा अल्झिएको छ । काम कुरो एकातिर कुम्लो बोकी थिमीतिर भने जस्तो छ पारामा छ यो सरकार ।

बाँकी रहेको तीन वर्षमा सरकार कसरी अगाडि बढ्नुपर्ला ?

अब पारदर्शी हिसाबले, बिधिवत योजना तर्जुमा गरेर, सुदूरपश्चिम प्रदेशको समग्र विकासमा सबै मिलेर जान्छौँ भन्ने प्रतिबद्धता सरकारबाट आउनु पर्छ । सरकारले स्थानीय तहहरुसँग समन्वय गरेर जाने वातावरण बनाउनपर्छ । यसो भयो भने बाँकी रहेको तीन वर्षमा सुधार पक्कै आउँछ । तर मैले यो सरकारबाट त्यस्तो आशा गरेको छैन ।

प्रस्तुती– भानुभक्त आचार्य

यो पनि पढ्नुहोस ‘हातखुट्टा बाँधेर पोखरीमा छोडिदिएपछि परिणाम निकाल्न सक्नुहुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment