Comments Add Comment

माटोमा अन्न उब्जनी हुन छाड्यो भने के होला ?

रासायनिक मल र विषादीको प्रयोगले उर्वराशक्तिमा तीव्र ह्रास

२०७० सालमा भक्तपुरका किसानहरुले धानमा डढुवा लागेको र भुसैभुस फलेको भनेर जिल्ला कृषि विकास कार्यालयमा पुगी आक्रोश पोखे । सोही दिन कार्यालयले पनि सो घटनालाई महत्व दिएर एउटा उच्चस्तरीय अध्ययन समिति नै गठन गर्‍यो। सो समिति गठन हुनुभन्दा पहिले नै किसानहरु धानको बिउमा समस्या भएको भन्नेमा ढुक्क थिए । त्यसैले उनीहरुले उच्चस्तरीय समितिको प्रतिवेदन कुर्नु आवश्यक ठानेनन् । तर, त्यहाँ न त कार्यालयले माटोको स्वास्थ्यको बारेमा उनीहरुलाई सिकायो न त किसानहरुले नै यसतर्फ ध्यान दिए ।

दुई वर्ष अघि गोरखामा पनि त्यस्तै किसिमको समस्या उब्जियो । त्यहाँ पनि धानमा भुसैभुस परेको, किराले धेरै धान खाएको जस्ता समस्याहरु बोकेर किसानहरु कृषि विकास कार्यालयमा पुगेका थिए । त्यहाँ पनि किसानले माटोको स्वास्थ्यको विषयमा कुनै चासो दिएनन् । बरु बिउमा नै समस्या देखेर उनीहरुले पनि नयाँ किसिमको बिउ लगाउन छाडेर फेरि परम्परागत रुपमा नै धान उत्पादनमा लागे । चालू आर्थिक वर्षमा भुस लाग्ने र किराले खाएको समस्या लमजुङमा पुग्यो । तर, यसको वास्तविक खोजी कहिलै गरिने गरिएको छैन ।

पछिल्लो ६ वर्षमा उत्पादनमा कमी आएपछि आक्रोशित बनेका किसानहरुको लागि यो तीन घटना प्रतिनिधिमूलक घटनामात्रै हो । माटोमा पोटासको मात्रामा कमी आउँदा यसले जराको राम्रो विकास हुन दिँदैन । किसानले परम्परागत किसिमको धान लगाउँदा भुस भएपनि किरा भएपनि गुनासो गर्ने अड्डा छैन । त्यसैले किसानहरु भाग्यलाई दोष दिएर गुपचुप बस्छन् । तर, सरकारले नै दिएको बिउमा भुस लागेपछि देखिएको आक्रोश मात्रै बाहिर आउने गरेको छ ।

तर, यी सबै समस्याहरु केवल बिउमा देखिएको समस्या नभएर माटोमा पोटास, फस्फोरस जस्ता रसायनहरुको अभावमा देखिने समस्या भएको कृषि विभागका वरिष्ठ माटो विज्ञ डा. चन्द्र प्रसाद रिसालले जानकारी दिए । यही रसायनको अभावका कारण फसल धेरै भएमा त्यसलाई चाहिने पोषकतत्व जराले पर्याप्त मात्रामा पठाउन नसकी यस्तो समस्या आउने उनले जानकारी दिए ।

के हो माटो बिग्रनुको कारण ?

विभागले माटोलाई मृत्युशैयामा पुर्याउने कारणहरुको बारेमा केही कारक तत्वहरुको पहिचान गरेको छ । विभागका अनुसार सबैभन्दा मूल कारक भनेको प्रांगारिक पदार्थको मात्रा घट्दै जानु नै हो । यसका बाहेक सघन खेती तथा बढी मात्रामा उत्पादन दिने जातको प्रयोग गर्नु पनि माटो स्वास्थ्यको लागि घातक हुने विभागको निष्कर्ष छ । यसका साथै असन्तुलित रुपमा रसायनिक मलको प्रयोग गर्नु एवं रसायनिक विषादीको प्रयोग मुख्य कारण हो । यसबाहेक पनि भूक्षय जस्ता प्राकृतिक कारणले पनि यस्तो समस्या आउने गरेको विभागले जनाएको छ ।

६० वर्षदेखिको माटो बिग्रने सिलसिला

सन् १९६० को हरित क्रान्तिको समयसम्म माटोमा चाहिने सबै पदार्थहरु गोबर मल (प्रांगारिक)बाट नै प्राप्त हुँदै आउको थियो । हरितक्रान्ति सुरुभएपछि छोटो समयमा धेरै फसल उत्पादन गर्ने लोभमा माटोको स्वास्थ्य माथि खेलवाड गर्न सुरु गरिएको जानकारहरु बताउँछन् । अत्यधिक रसायनिक मलको प्रयोगका कारण केही समय यसले फसललाई तीब्र मात्रामा बृद्धि पनि गर्यो । तर, ६० वर्षसम्म आइपुग्दा माटोमा न त पर्याप्त प्रांगारिकता भेटिन्ट न त पोटास र नाइट्रोजन नै । माटोमा अधिक मात्रामा एसिड पाउन थालिएको छ । जुन माटोको लागि हानिकारक छ ।

डा. रिसालका अनुसार वर्षेनी माटोलाई अत्यावश्यक पर्ने पोटासको मात्रा पछिल्ला वर्षहरुमा डरलाग्दो रुपमा घट्दै गएको छ भने प्रांगारिक पदार्थको अवस्था पनि दयनीय हुँदै गएको छ । जसको परिणाम स्वरुप कृषि उत्पादनमा भारी गिरावट आउने गरेको तथ्यांकले देखाएको छ ।

कृषिप्रधान मुलुक र कूल गार्हस्थ उत्पादनमा २७ प्रतिशत कृषिको योगदान रहेको नेपालले आर्थिक वर्ष २०७५/७६ मा मात्रै ३२ अर्ब २२ करोडको धान आयात गर्यो । यी सबै आयातित धान छिमेकी मुलुक भारतबाट आयात गरिएको हो । जुन देशको माटो नेपालकोभन्दा बढी अस्वस्थ छ । आयातको यो तथ्यांक भूकम्पको एक वर्ष अघि आर्थिक वर्ष २०७०र७१ मा केवल १७ अर्ब २६ करोडको थियो । धान उत्पादन घटिरहेको छ भने आयात बढिरहेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्रै १४ अर्ब ४६ करोडको तरकारी आयात भयो । मकै, कोदो, गहुँ केहीमा पनि नेपाल आत्मनिर्भर छैन ।

भारतमा गत आर्थिक वर्षमा ४० प्रतिशत प्याज कम उत्पादन हुँदा केवल नेपालमा मात्रै नभएर सिंगो दक्षिण एशियामा नै प्याजको अभावले हाहाकार मच्चियो । यसरी नै धान र गहुँको पनि उत्पादन कम भयो भने नेपाल लगायतको देशको हालत के होला ? भन्ने चिन्ताले अहिले सरोकारवालाहरुलाई सताउने गरेको छ ।

खाद्य सुरक्षा अनुसन्धानकर्ता सोमत घिमिरे यसरी नै उत्पादन कम हुँदै जाने र यसमा सचेत नहुने हो भने नेपालले गम्भीर खाद्य संकटको सामना गर्नुपर्ने बताउँछन् । उनी उत्पादनमा आएको कमी, फसलमा लाग्ने किरा र रोगहरु नियन्त्रण बाहिर जानु, फुड फस्ट भन्दा पनि मनी फस्ट भन्ने सरकारी नीति आदिका कारण पनि संकटको चिन्ता बढ्दै गएको उनी बताउँछन् ।

कूल गार्हस्थ उत्पादनमा १३ प्रतिशतको हिस्सा रहेको धानको मात्रै उत्पादन चालू आर्थिक वर्षमा १० प्रतिशतले ह्रास आउने सरकारी प्रक्षेपण छ । जलवायु परिवर्तनका कारण समयमा मनसुन नहुँदा यस्तो समस्या आएको सरकारी अधिकारीहरु बताउँछन् । यी सबै समस्याहरुले निकट भविष्यमा नै खाद्य संकटको संकेत देखाइरहेको छ । साथमा माटोको गम्भीर स्वास्थ्य समस्याको असरको रुपमा समेत यसलाई लिने गरिएको छ ।

माटोमा पोषण कम, शोषण ज्यादा

कृषि विभाग अन्तर्गत्का विभिन्न ९ वटा प्रयोगशालामा परीक्षण गरिएको एक वर्षको माटोको परीक्षणलाई आधार मान्दा गत वर्ष नेपालको खेती गरिने जमिनको दुईतिहाई भाग अर्थात् ६० देखि ७० प्रतिशत माटो अम्लीय प्रकृतिको भएको भेटिएको छ । सो अध्ययनले तटस्थ प्रकृतिको माटो जम्मा २० देखि २५ प्रतिशत मात्र रहेको देखाएको छ । खेती गरिने जमिनको उर्वराशक्ति व्यवस्थापनमा तटस्थ प्रकृतिको माटो मात्रै उपयुक्त मानिने विभागले जनाएको छ ।

विभागले वाषिर्क औषतमा २० हजार माटोको नमूना परीक्षणगर्ने गरेको छ । एउटा माटो परीक्षणमा आधा किलो माटोको प्याकेट बनाइन्छ । सो परीक्षणको क्रममा प्रांगारिक पदार्थ र पोटासको मात्रा चिन्ताजनक रहेको भेटिएको हो ।

जमिनको निरन्तर शोषण र न्यून पोषणका कारण माटोको स्वास्थ्य दिन प्रतिदिन बिग्रँदै गएको कृषि विभागको निष्कर्ष छ । विभागका डा. रिसालका अनुसार माटोमा पोटासको मात्रा कम हुँदा त्यसले बिरुवाको जरा कमजोर गराउने र पातहरु समेत पहेँलो हुँदै जाने, फल कम लाग्ने जस्ता समस्याहरु देखिने गर्छ । उनका अनुसार खाद्यान्नको गुणस्तरमा आएको गिरावटले बालीबाट मानव र अरु जनावरको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पार्ने गर्छ ।

भारतका कृषि वैज्ञानिकहरुलाई झसंग माटो स्वास्थ्यको तथ्य

नेपालले अधिकांश कृषि उपज आयात गर्ने भारतमा दुई वर्षअघिसम्म माटोको स्वास्थ्यको बारेमा त्यस्तो गहन अध्ययन गरिएको थिएन । त्यहाँपनि हरितक्रान्तिपछि बिग्रँदै गएको माटोको बारेमा धेरैपछि मात्रै गम्भीर रुपमा वैज्ञानिकहरुले अध्ययन गरे । जसमा खतरनाक तथ्यांक भेटियो । सन् २०१५ सालमा केन्द्र सरकारले किसानहरुलाई माटो स्वास्थ्य सम्बन्धी कार्ड वितरण गर्ने भनेर त्यसको बारेमा अध्ययन सुरु गर्यो । तर, यसमा अध्ययन गर्दा आएको तथ्यांकले कृषि वैज्ञानिकहरुलाई नै झसंग बनाइदिएको छ ।

दुई वर्ष अघि भारतको कृषि विभाग अन्तर्गत्को प्रयोगशालामा अनुसन्धानका लागि आएको माटो र पानीको नमूना अध्ययन गर्दा खेतमा अन्धाधुन्ध रुपमा प्रयोग गरिएको रसायनिक मल र प्रांगारिक मलको कम प्रयोगको कारण उत्पादनमा ठूलो गिरावट आएको र माटोले उत्पादनको भार नै थेग्न नसक्ने अवस्थामा पुगेको पत्ता लाग्यो ।

त्यहाँ एक वर्षमा ८०२७ माटोको नमूना परीक्षण गरिएकोम ५ हजारभन्दा धेरै माटो गुणस्तरहीन भेटिएको थियो । जैविक कार्बन, फस्फोरस, पोटास, जिंक र फलाम जस्ता महत्वपूर्ण पोषक तत्वहरूको अभावका कारण खेतीपातीको उर्वर उर्जा क्रमशः घट्दै गएको विभागको निष्कर्ष छ ।

नेपालको अवस्था झनै दयनीय

नेपालको झण्डै २० वर्षको तथ्यांकलाई विश्लेषण गर्दा नेपालको करिब ५८ देखि ६१ प्रतिशत माटोमा प्रांगारिक पदार्थ न्यून रहेको भेटिएको छ । माटोको मुटु मानिने प्रांगारिक पदार्थको मात्रा ३ देखि ५ प्रतिशत भएको खण्डमा मात्रै माटो स्वस्थ रहेको मानिन्छ । यो संख्या अति आवश्यक तथ्यांक हो । हाल नेपालको अधिकांश ठाउँको माटोमा प्रांगारिक पदार्थको मात्रा औषत एक प्रतिशत मात्र रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

विगत दुई दशकदेखि नेपालको माटोमा अम्लीयपनाको अवस्था उच्च मात्रामा छ । विभागका अनुसार ६० प्रतिशत माटोमा अहिले अम्लीयपना ज्यादा मात्रामा छ । ३० प्रतिशत माटो तटस्थ छ भने १० प्रतिशत माटोमा धेरै क्षारीयपना छ । यसलाई आधारमान्दा ३० प्रतिशत माटो मात्रै अम्लीय र क्षारीयपनाको सन्तुलनमा छ ।

त्यस्तै, बोटबिरुवाको जराको वृत्तिविकासका लागि अति आवश्यक हुने नाइट्रोजनको अवस्था सन्तुलन बाहिर छ । माटोमा ०.१ देखि ०.३ प्रतिशतसम्म नाइट्रोजन हुँदासम्म मात्रै त्यस्तोमाटोलाई राम्रो मान्ने गरिन्छ ।

बोटबिरुवाको लागि अति आवश्यक पर्ने पोटासको मात्रा अत्यन्त चिन्ताजनक स्थितिमा छ । माटोमा पोटासको मात्रा ११० देखि २८० केजी प्रतिहेक्टरसम्मको अवस्थालाई मध्यम मान्ने गरिन्छ । तर, नेपालको ५८ प्रतिशतभन्दा धेरै माटोमा ११० केजी प्रतिहेक्टरभन्दा कम पोटास रहेको पाइएको छ । यद्यपि नेपालको माटोमा फस्फोरसको अवस्था भने सन्तुलित रहेको छ ।

यस परीक्षणले सुदूर पूर्वी क्षेत्रको माटोमा कूल माटोमध्ये ७० प्रतिशत माटोमा पोटासको मात्रा अत्यन्त न्यून भएको देखाएको छ । मध्यक्षेत्र र प्रदेश नं ३ मा कूल माटोको ७४ प्रतिशत माटोमा पोटासको कमी देखिएको छ । अरु क्षेत्रमा यो हिस्सा तुलनात्मक रुपमा कम भएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment