Comments Add Comment

‘नेपालले टी–२० इस्टर्न रिजन जित्नुपर्छ’

५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज सकिएको हप्ता पनि भएको छैन, नेपाली राष्ट्रिय क्रिकेट टिम अर्को प्रतियोगिताको लागि तयारीमा जुटेको छ ।

नेपालले फागुन तेस्रो सातादेखि थाइल्याण्डमा एसीसी टी-२० इस्टर्न रिजन प्रतियोगिता खेल्नेछ ।

यो प्रतियोगितामा ८ राष्ट्र सहभागी हुनुपर्ने हो तर कोरानो भाइरसका कारण चीनले सहभागिता नजनाउने भयो भने भुटान र म्यानमारले पनि नखेल्ने भयो । त्यसैले नेपालसहित हङकङ, सिंगापुर, मलेसिया र थाइल्याण्डले मात्र खेल्नेछन् ।

एसियन क्रिकेट काउन्सिल -एसीसी)ले सोमबार सार्वजनिक गरेको खेल तालिका अनुसार राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल मलेसियासँग खेल्नेछ । यस्तै मार्च १ मा हङकङसँग, मार्च ४ मा थाइल्याण्डसँग र मार्च ६ मा सिंगापुरसँग खेल्नेछ ।

प्रतियोगिताका लागि नेपालले सोमबारदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा तयारी सुरु गरेको छ ।  बन्द प्रशिक्षणको पहिलो दिन भए पनि निरन्तर क्रिकेट खेलिरहेकाले तयारी राम्रो रहेको कप्तान ज्ञानेन्द्र मल्लले बताए । ‘गएको एक/डेढ महिनादेखि हामी राम्रो तयारी गरिरहेका छौं र, खेलिराछौँ’ कप्तान मल्लले भने, ‘इस्टर्न रिजनका लागि टी–२० स्पेसलिस्ट ३/४ जना खेलाडीहरु पनि समावेश गरिएको छ ।’

नेपालले राम्रो क्रिकेट खेल्दै इस्टर्न रिजन प्रतियोगिता जित्नुपर्ने कप्तान मल्लले बताए ।

प्रतियोगितामा ओडीआई मान्यता पाएको टिम नेपाल मात्र छ । यसअघि टी–२० विश्वकप खेलिसकेको हङकङ र एसीसीमा राम्रो प्रदर्शन गरिरहेको सिंगापुर पनि छन् ।

जस्तो टिम भएपनि नेपालले खेलेको दिन राम्रो प्रदर्शन गर्नुपर्ने कप्तान मल्लको बुझाइ छ । ‘एक दुई वटा टिम स्तरका हिसावले धेरै नै तल छ । तर टी–२० मा राम्रो नराम्रो भन्ने हुँदैन । पछिल्लो वर्ष हङकङ सिंगापुरहरुले राम्रो क्रिकेट खेलिरहेको छ’ मल्लले भने, ‘राम्रो खेलेर जित्न सक्नुपर्छ ।’

इस्टर्न र वेस्टर्न दुवै रिजनबाट उत्कृष्ट हुने २-२ टोली एसिया कपको क्वालिफायरमा पुग्नेछन् र त्यहाँ विजेता हुने टिम मात्र एसिया कपमा छनोट हुनेछ । सेप्टेम्बरमा हुने एसिया कपमा एसियाका पाँच टेष्ट नेशन भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसहित छनोटको विजेता हुने टिमले खेल्नेछ ।

एसिया कप पुग्न इस्टर्न रिजनमा राम्रो गर्नुपर्ने कप्तान ज्ञानेन्द्रले पनि बुझेका छन् । त्यही अनुसार टिम बनाएको भन्दै उनले भने, ‘खेलाडीहरु एक डेढ वर्षदेखि संगसंगै छौं, ट्रेनिङ गरिरहेका छौं । सबैलाई आफ्नो बलियो पक्ष बारे थाहा छ ।’

भुवनको पुनरागमन, किशोरलाई अवसर 

नेपाली टिम अहिले पुस्तान्तरणको समयमा छ । २००० को दशकबाट खेल्न थालेको खेलाडीमा कप्तान ज्ञानेन्द्र र पारस मात्र टिममा छन् । त्यस दशकको अन्त्यतिर खेल्न थालेका विनोद भण्डारी छन् । बाँकी खेलाडी भने २०१० को दशकको मध्यतिरबाट राष्ट्रिय टिममा आएका हुन् । झन् अहिले त घरेलु लिगहरुले गर्दा टी–२० टिममा पर्न पनि खेलाडीहरुबीच प्रतिस्पर्धा छ ।

हरेकजसो प्रतियोगितामा नयाँ खेलाडी आइरहेका छन् । यस पटक पनि टिममा एक जना नयाँ खेलाडी परेका छन्, युवा फास्ट बलर किशोर महतो छन् ।

यसअघि क्याम्पमा परे पनि उनले अन्तिम चरणमा स्थान बनाउन सकेका थिएनन् । यस पटक भने उनले अवसर पाएका छन् ।

स्पीनर भुवन कार्कीले पनि यसै प्रतियोगिताका लागि टिममा पुनरागमन गरेका छन् ।

क्षमता भएर नै उनीहरुलाई टिममा परेको कप्तान मल्लले भने, ‘भुवनले पछिल्लो वर्ष घरेलु टी–२० मा राम्रो गरिरहेको छ । टिममा धेरै अगाडि खेलिसकेको खेलाडि पनि हो । डोमेस्टिकको प्रदर्शन, त्यो अनुभव र त्यो प्रदर्शनका हिसाबले लिएको हो ।’

यस्तै सोमपाल कामी टिममा नरहेकाले फास्ट बलर किशोरको आगमन राम्रो भएको उनले बताए । ‘किशोर राम्रो फास्ट बलर हो । लास्ट इयरदेखि क्याम्पमा पनि छ । सोम पनि मिस भएको भएर फास्ट बलर पुल अली राम्रो बलियो बनाउने कोसिस गरिराछौं ।’

नेपाली टिममा अहिले करण केसी र अभिनाश बोहोरा दुई जना फास्ट बलर छन् । सोमपाल कामी फिटनेस र पारिवारिक कारणले गर्दा विश्वकप लिग २ मा समेत टिममा थिएनन् । इस्टर्न रिजनका लागि पनि उनी टिममा छैनन् ।

त्यसैले किशोरको लागि पनि यो राम्रो अवसर हुनसक्छ ।

यसअघि विश्वकप लिग २ सिरिजमा अर्का फास्ट बलर कमल सिंह ऐरीले स्थान बनाएका थिए । उनले एउटा खेलमा अवसर पाए तर आफ्नो प्रभाव देखाउन सकेनन् ।

गत सेप्टेम्बरमा सिंगापुरमा भएको टी २० ट्राइसिरिज खेलेका युवा अलराउण्डर कुशल मल्ल पनि निरन्तर टिममा छन् । उनले विश्वकप लिग २ सिरिजमा पनि राम्रो प्रदर्शन गरेका थिए

राष्ट्रिय टिमका लागि विकल्प बढाउने प्रयास

कप्तान ज्ञानेन्द्र मल्लले राष्ट्रिय टिमका लागि खेलाडीको संख्या बढाउने प्रयास गरिरहेको बताए । ‘कसरी हुन्छ खेलाडीको पुल बढाउन खोजिरहेका छौं । त्यसले अर्को ३ वर्षसम्म हामीसँग राम्रो बेन्च स्ट्रेन्थ र ब्याकअफ हुन्छ जस्तो लाग्छ’ उनले भने ।

त्यसका लागि क्षमता भएका राम्रो गर्न सक्ने खेलाडीहरुलाई क्यापमा प्राथमिकता दिनुपर्ने कप्तान मल्लले बताए । ‘क्याम्पमा नयाँ र क्षमता भएका खेलाडीहरुलाई ल्याउँदा उनीहरुले राष्ट्रिय टिमको स्टानडर्ड, राष्ट्रिय टिममा कस्तो प्रदर्शन गर्नुपर्छ भनेर ज्ञान हुन्छ । उनीहरुलाई अझ कसरी ग्रो गर्न सकिन्छ भन्ने पनि थाहा हुन्छ’ मल्लले भने,। ‘उनीहरुको पोटेन्सियललाई अझ कसरी निखार्न सकिन्छ भनेर अवसर दिइएको हो ।’

यसअघि एक पटकमा एउटा मात्र प्रतियोगिता खेल्दै आएको नेपालले अब आईसीसी क्रिकेट विश्वकप लिग २ मा डेब्यु गरिसकेको छ र २०२२ सम्म कूल ३६ ओडीआई खेल्नेछ । यसमध्ये ४ खेल खेलेको छ भने २ वर्षमा नेपालले ३२ खेल खेल्नेछ ।

यस्तै एसीसीको प्रतियोगिता र टी–२० विश्वकपको छनोट प्रतियोगिता पनि खेल्नेछ । यसैलाई ध्यान दिएर नेपाली टिममा पर्न सक्ने खेलाडीहरुको संख्या बढाउन लागिएको कप्तान मल्लले बताए । ‘शुरुमा एक पटककमा एक प्रतियोगिता मात्र थियो । अहिले ब्याक टु ब्याक म्याच छ । त्यसैले कोही खेलाडीलाई रिप्लेस गरिहाल्नुप‍र्‍यो भने सजिलो होस् भनेर हो’ उनले भने ।

उनले कोही खेलाडीलाई टिममा राख्नकै लागि मात्र नभएर प्रदर्शन दिलाउने हिसावले तयार पार्नपर्ने मल्लले बताए । ‘कारणबस कोही घाइते भयो भने पनि अर्को खेलाडी तयार रहने गरी तयारी गर्ने हो’ राष्ट्रिय टोलीका कप्तान मल्लले भने ।

विश्वकप लिग २ सिरिज सकिएलगत्तै भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएकोले इस्र्टन रिजनमा नेपालको प्रशिक्षक जगत टमाटाले सम्हाल्नेछन् । उनले लिग २ मा पनि प्रशिक्षकको भूमिकामा काम गरेका थिए । टमाटाले यसअघि २०१५ देखि २०१९ सम्म नेपालको प्रशिक्षक भएर काम गरिसकेका छन् । उनै टमाटा प्रशिक्षक रहेको बेला नेपालले २०१८ मा पहिलो पटक ओडीआई २ मान्यता पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment