Comments Add Comment

१५ महिनामा सक्नुपर्ने पुलको एक वर्षमा ३० प्रतिशत काम

५ फागुन, पोखरा । पोखरा महानगरपालिका ठूला खेत र कार्कीकोट जोड्ने गरी खहरे खोलामा गण्डकी प्रदेश सरकारले ‘बक्स’ पुल बनाइरहेको छ ।

९० मिटर लामो उक्त पुल प्रदेश सरकारले ६ करोड ७५ हजारमा बनाउन निलगिरि नेसनल जेभीलाई जिम्मा दिएको छ । प्रदेश सरकारले निलगिरिसँग गत वर्ष फागुनमा १५ महिनाभित्र सक्ने गरी सम्झौता गरेको थियो । जसको समयावधि आउँदो जेठमा सकिँदैछ ।

तर, समयमै काम सकिनेमा स्थानीयले आशंका व्यक्त गरेका छन् । सम्झौता सकिन जम्मा ३ महिना बाँकी हुँदा काम भने ३० प्रतिशतमात्रै पूरा भएको छ । समयमै काम नसकिने भएपछि स्थानीयलाई आउँदो वर्षातमा पनि जोखिम मोलेरै पोखरा आउजाउ गर्नुपर्ने हो कि भन्ने भयले सताएको छ । पुलको तल्लो ढलानको काममात्रै सकिएको छ ।

‘बर्खामा यहाँका विद्यार्थी स्कुल जानै पाउँदैनन् । यतिका समय लगाएर पुल बल्ल पुल बन्न लागेको छ । तर, यो वर्ष पनि पूरा होला जस्तो छैन ।’

हाल स्थानीयलाई आउजाउ गर्न त्यहाँ अस्थायी फलामे पुल बनाइएको छ । तर, बर्षातमा खोला बढेर पुलमाथि पनि पानी आउने एक स्थानीयले बताए । ‘बर्खामा यहाँका विद्यार्थी स्कुल जानै पाउँदैनन् । यतिका समय लगाएर पुल बल्ल पुल बन्न लागेको छ । तर, यो वर्ष पनि पूरा होला जस्तो छैन,’ पोखरा महानगरपालिका- २३ का चुडामणि अधिकारीले गुनासो पोखे ।

पुल निर्माण भइरहेकै समयमा गत बर्खामा आएको बाढीले निर्माणाधीन पुल बगाएको थियो । पुल बगाएपछि ठेकेदार कम्पनी निलगिरि नेसनल जेभी बीचैमा काम छोडेर भागेको गण्डकी प्रदेश सांसद राजीव पहारीले सुनाए ।

‘काम गर्दागर्दै ठेकेदार कम्पनी भाग्यो । ठेकेदार खोज्न नै हामीलाई ४ महिना लाग्यो,’ सांसद पहारीले भने, ‘काम खुरुखुरु गरेको भए यतिबेला योजना अन्तिम चरणमा पुगिसक्थ्यो ।’

सामान अभावले काम रोकिएको हो : ठेकेदार कम्पनी

ठेकेदार कम्पनी निलगिरि नेसनल जेभीका वसन्त लामाले बर्खामा काम गर्न गाह्रो भएको र सामान अभावले काम रोकिएको दाबी गरे । ‘बालुवा, ढुंगा पाइएन । सामान नपाएपछि कसरी काम अघि बढाउने ?’ उनले भने, ‘सामान उपलब्ध भएपछि काम धमाधम गरिरहेकै छौं ।’

लामाले ढलानको काममा ढिलो हुने र जेठसम्म जसरी पनि काम सक्ने दाबी गरेका छन् । ‘गाह्रो र ढिलो भनेकै ढलानको हो । जेठपछि फेरि बर्षा सुरु भइहाल्छ । माथिको काम जेठमै सक्ने गरी काम गरिरहेका छौं,’ उनले भने । तर, निर्माण कम्पनीले दाबी गरेअनुसार काम नभएकाले जेठमै सकिनेमा भने शंका छ ।

समयमै नसके कारबाही गर्छौं : इन्जिनियर खड्का

गण्डकी प्रदेशका डिभिजनल इन्जिनियर सोभियत खड्कासहित टोलीले निर्माणाधीन खहरे खोला पुलको अनुगमन गरेको छ । अनुगमनका क्रममा योजनाअनुरुप काम नभएको पाइएपछि इन्जिनियर खड्काले समयै काम सम्पन्न नभए कारवाही गर्ने चेतावनी दिए ।

सम्झौता मितिमा काम नभए बर्षा मौसम सुरु हुने र त्यसले ४/५ महिना प्रभाव पार्ने भएकाले म्याद थपमा पनि समस्या हुने खड्काले सुनाए । ‘अहिलेसम्म ५०÷६० प्रतिशतभन्दा बढी काम सकिनुपर्ने हो । तर, ३० प्रतिशत पनि काम भएको छैन,’ उनले भने, ‘समयमै काम नसकेका ठेकेदार कम्पनीलाई कारबाही गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment