‘नेपाल अन्तरराष्ट्रिय फिल्म फेस्टिभल–निफ’को तेस्रो सिजनमा सहभागी हुन बलिउड निर्देशक प्रकाश झा नेपाल आएका छन् । निफको तेस्रो दिन प्रकाश झाले मास्टर्स क्लास लिएका थिए । सो कार्यक्रममा झाले एउटा अभिव्यक्ति दिए । झाले दिएको अभिव्यक्ति अहिले चलचित्र क्षेत्रमा जुहारीको प्रमुख बिषय बनेको छ ।
उनले दिएको अभिव्यक्तिको मोटामोटी अर्थ थियो, ‘चलचित्र भनेको व्यवसाय हो । हामी कसैले कलात्मक अभिव्यक्तिका लागि चलचित्र बनाएको भन्छौँ भने हामी झुट बोलिरहेका छौ ।’
प्रकाश झाको अभिव्यक्तिलाई टेकेर निर्माता दीपकराज गिरीले फेसबुकमा स्टाटस लेखे । ‘कलात्मकताका मात्रै कुरा गर्ने फिल्म निर्माताले बुझ्नुपर्छ, संसारमा हरेक कला व्यवसायिकताको तराजु मै नापिन्छ ।’
दीपकराज गिरीलाई उनको चलचित्रमा कला नभएको आरोप लागिरहेको हुन्छ । त्यो आलोचना खेपिरहेका दीपकलाई प्रकाश झाले चलचित्र व्यवसायिकता पनि हो भन्नुले मल्हम लगाइदियो । त्यसैले उनले झाको अभिव्यक्तिमा तात्तातो अभिव्यक्ति दिए र चलचित्रलाई कला ठान्नेहरुलाई कटाक्ष ठोके ।
दीपकराजको उक्त स्टाटसपछि ‘चलचित्र कला हो कि व्यापार ?’ भन्ने बिषयमा ठुलो बहश सुरु भएको छ । दीपकराज गिरीको उक्त स्टाटसमा निर्देशक प्रदीप भट्टराईले प्रतिक्रिया दिएपछि चलचित्रकर्मीहरु नै २ खण्डमा विभाजित भएका छन् । दीपकको स्टाटसमा प्रदीपले लेखेका छन्–‘फिल्म कलाकै लागि बनाउने हो दीपक दाई । तर, त्यसमा दर्शकको मन मस्तिष्क र निर्माताको पैसा तान्ने कला हुनुपर्छ ।’
यी दुबैको तर्क अर्थपूर्ण छैनन् । यी दुईको झगडा पँधेरामा हुने झगडा जस्तै भएको छ । यी दुबैले चलचित्रलाई आफ्नो आफ्नो पक्षबाट परिभाषित गरिरहेका छन् । तर, चलचित्र भनेको कला वा व्यापार मात्रै होइन । चलचित्र भनेको त कलाको व्यापार हो ।
प्रकाश झाको प्रसंगबाट सुरु भएको यस लडाईमा दीपक र प्रदीप दुबैले प्रकाशको भनाईको भित्री भाव नै नबुझेको प्रष्ट हुन्छ । प्रकाश झाले भन्न खोजेको कुरालाई आफ्नो–आफ्नो तरिकाले विश्लेषण गरेर यी दुई लडाई गरिरहेका छन् । दीपकराजले चलचित्र व्यापार भएको बुझे । प्रदीप भट्टराईले चलचित्रलाई कलासँग तुलना गरे । दुबैले एक–एक पक्षलाई समाते पनि चलचित्र भनेको कला र व्यापार दुबै हो ।
सबैभन्दा पहिला दीपकराज चुके । उनले बुझेनन् कि, उनको चलचित्र पनि कलाको प्रारुप हो । कलाविना त चलचित्र नै तयार हुँदैन । कलाबाट टाढा रहेर कुनै पनि चलचित्र बन्न सक्दैन । तर, कला नभएको चलचित्र बनाएको आरोप खेपिरहेका दीपकले झोकमा चलचित्र कला नभएर व्यापार भएको प्रचार गरिरहेका छन् ।
उता कलाको भक्त प्रदिप भट्टराईलाई दीपकको कुरामा चित्त बुझ्ने कुरै भएन । उनले थपिहाले–‘व्यापार मात्रै चलचित्र होइन, चलचित्र भनेको त कला हो ।’ प्रदीपले चलचित्रलाई कला भएको भन्दै गर्दा उनले पनि व्यापारको पक्षलाई बिर्सिए । यहाँ चिप्लिन पुगे, प्रदिप ।
चलचित्र हलमा रिलिज हुन्छ भने त्यसमा व्यापार जोडिएको हुन्छ भन्ने कुरालाई प्रदीपले ख्याल गरेनन् । यदि चलचित्र व्यवसायिक हुन्न थियो भने हलमा रिलिज हुने थिएन । हलमा रिलिज भएका जति पनि चलचित्र छ्न्, ती चलचित्रले व्यापारिक पक्षलाई पनि ख्याल गरेका हुन्छन् । यस कुरालाई प्रदीपले पनि स्विकार्न जरुरी हुन्छ ।
यदि, उनले यो कुरा बिर्सन्छन् भने उनले नै बनाएको ‘शत्रु गते, जात्रै जात्रा’को व्यापार र ५१ दिनको पार्टीमा रमाएका तस्बिरलाई पनि उनले बिर्सनुपर्छ । किनकी, चलचित्रले करोडौको व्यापार गर्दा सबैभन्दा बढी खुशी प्रदीप नै थिए ।
भिडिरहेका छन् चलचित्रकर्मी
दीपकराज र प्रदीपको फेसबुक लडाईपछि विभिन्न चलचित्रकर्मीहरुले आफ्नो धारणा राखिरहेका छन् । निर्माता अर्जुन कुमार, रोहित अधिकारी, निर्मल शर्मा, लेखक सामिप्यराज तिमिल्सिना लगायतले फेसबुकमा स्टाटस नै लेखेका छन् ।
निर्माता अर्जुन कुमारले हलमा दुई जनाले पनि नहरेको चलचित्रलाई निर्देशकहरुले कला मान्ने गरेको आरोप लागएका छन् । चलचित्रलाई कला भन्ने निर्देशकहरु पनि जता जता बाहुन बाजे उतै–उतै स्वाहा भएको लेखेका छन् । उनले निर्माता मुर्गा नभएको कुरा उल्लेख गरेका छन् ।
अर्जुन कुमारले सोमबार आफ्नै फेसबुकमा स्टाटस लेख्दै भनेका छन्–‘एउटा चलचित्र कागतालीमा के चलेको थियो भाई त सिकाउन पो थालेछ बा ! कला के भाई आउ मसँग सिक, पैसा पर्दैन । चलचित्रले व्यवसायिक सफलता पनि पाउन जरुरी छ । व्यवसायिक चलचित्रमा पनि कला हुन्छ ।’
त्यस्तै निर्माता रोहित अधिकारीले पनि दीपकराजकै पक्षमा स्टाटस लेखेका छन् । उनले लेखेका छन्–‘निर्माताले चलचित्रमा पैसा कमाउनको लागि नै लगानी गर्ने हो । कला देखाउन त डकुमेन्ट्री बनाए भइगयो नि । केही निर्देशकलाई भन्न चाहन्छु, तपाईको चलचित्रले कुन कला देखाएर कमाएको हो ? पूरै व्यापारिक चलचित्र बनाउने अनी फेसबुकमा बढी गफ दिने कत्रो भ्रम हो ? बरु दर्शक तान्ने कला भने हुनै पर्छ ।’
निर्माता तथा कलाकार निर्मल शर्माले लेखेका छन्– ‘निर्माता डुबाउने चलचित्रलाई कसरी कला भन्नु ? असल चलचित्र बनाएर, हलमा दर्शकको भिड लगाएर निर्माता बचाउने कला नै मुख्य कला हो । इमान्दारिताको दश हजार कमाउन यहाँ कति पापड बेल्नुपर्छ, लगानीकर्ताको करोडौ करोड सिध्याइदिए पछि ‘कला’ भन्ने बस्तु कहाँ रह्यो ?
लेखक तथा समिक्षक सामिप्यराज तिमिल्सिना पनि चुप बस्न सकेनन । उनले लेखेका छन्–‘जमशेदपुर र पटनाको मुख्य सहरमा प्रकाश झाका दुई व्यापारिक मल छन् । अनि यहाँका केही आजसुहरु प्रकाश झाले फिल्म व्यापारका लागि हो भन्यो भनेर दंग पर्या छन् । जसले पैसा देखेको छ उसले व्यापारको कुरा गरिहाल्छ नी । तर पैसा कमाउनलाई सधैं गाइजात्रा मात्र बनाएर बस्ने कि फिल्म पनि बनाउने भन्ने कुरा पो मुख्य हो ।’
चलचित्रकर्मीहरु भारतिय निर्देशकको एउटा भनाईमा सामाजिक संजालमै आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।