७ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्स भिड्ने भएका छन् ।
बीसीसीआईले सार्वजनिक गरेको खेल तालिकाअनुसार २९ मार्चमा मुम्बईको वाङखडे स्टेडियममा मुम्बई र चेन्नाईबीच १३औं संस्करणको उद्घाटन खेल हुनेछ ।
फाइनल खेल मे २४ मा हुने आयोजकले जनाएको छ । आईपीएलको इतिहासमै यस सिजन दिउँसो जम्मा ६ खेलमात्र हुनेछ । बाँकी खेल राति हुनेछ ।
८ फ्रेन्चाइजले खेल्ने आईपीएलमा लिग चरणमा कूल ५६ खेल हुनेछन् । त्यसपछि प्लेअफ चरणका खेलहरु हुनेछन् । यस सिजनको आईपीएल कूल ५७ दिन सञ्चालन हुनेछ ।
यस संस्करणमा पनि नेपालका स्पीनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सबाट खेल्दैछन् । यसअघि उनले लगातार दुई सिजन दिल्लीबाटै खेलेका थिए । सन्दीप आबद्ध दिल्लीले पहिलो खेल मार्च ३० मा घरेलु मैदानमा किंग्स एलेभेन पञ्जावसँग खेल्नेछ ।
प्रतिक्रिया 4