Comments Add Comment

नेपालका लागि सिदपुर विमानस्थल खुल्ला गर्न बंगलादेश सहमत

७ फागुन, काठमाडौं । नेपालका लागि सिदपुर विमानस्थल खुल्ला गर्न बंगलादेश सहमत भएको छ । नेपाल र बंगलादेशका परराष्ट्रमन्त्रीबीच मंगलबार ढाकामा भएको द्विपक्षीय वार्तामा यस्तो सहमति भएको हो ।

‘विमानस्थलको प्रयोग तथा उडान अवतरणबारे थप निर्णय प्राविधिक समितिले टुग्यांउने गरी सहमति भएको छ,’ बंगलादेशका परराष्ट्रमन्त्री एके अब्दुल मोयनलाई उद्धृत गर्दै बंगालादेशी पत्रिका डेलिस्टारले लेखेको छ ।

बंगलादेशको राजधानी ढाकाबाट ३५० किलोमिटरको दुरीमा रहेको यो विमानस्थल सन् १९७९ मा सञ्चालनमा आएको थियो । बंगलादेशी नागरिक उड्ययन प्राधिकरणले सञ्चालन गरिरहेको यो विमानस्थलबाट अहिलेसम्म राजधानी सहर ढाकामा मात्रै उडान हुने गरेको छ ।

नेपाली भ्रमण दलको नेतृत्व गरेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बंगलादेशका विदेशमन्त्रीबीच मंगलबार स्टेट गेष्ट हाउस पद्मामा भएको बैठकमा उक्त समझदारी भएको जनाइएको छ ।

परराष्ट्र मन्त्रालयले ढाकामा मंगलबार दुई देशका परराष्ट्रमन्त्रीबीच विविध विषयमा छलफल र समझदारी भएको पुष्टि गरेको छ । दुई मुलुकबीचको सहकार्य थप मजबुत बनाउन कनेक्टिभिटीका सबै तह र विषय सरल बनाउन दुवै देश सहमत भएको मन्त्रालयले जनाएको छ ।

मंगलबारको बैठकमा दोहोरो भन्सारदर पुनर्विचार गर्न, नाका सहजीकरण र लगानी प्रवर्द्धनका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । तीनदिने भ्रमण पूरा गरेर परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको टोली बुधबार काठमाडौं फर्किँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment