Comments Add Comment

क्यान्सर पीडित लागूऔषध कारोबारमा संलग्न !

थेरापी गराउँदै, हिरासतमा राख्दै

९ फागुन, झापा । क्यान्सर जस्तो गम्भीर रोग लागेर ‘जटिल चरण’मा पुगेका बिरामी लागूऔषध कारोबारमा संलग्न रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, काँकरभिट्टाले विशेष सुराकीका आधारमा चेकजाँच गर्दा पक्राउ परेका मेचीनगर–१०, टिकापुरका ३८ वर्षीय हिरालाल राजवंशी क्यान्सर रोगी रहेको खुलेको हो ।

झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार बुधबार दिउँसो राजवंशीले प्लाष्टिकमा प्याक गरेको अवस्थामा एक सय ग्राम ब्राउन सुगर बरामद भएको थियो ।

‘प्रारम्भिक अनुसन्धानमा उनी लागूऔषध कारोबारी र सेवनकर्ता दुवै भएको खुलेको छ’, कोइरालाले अनलाइनखबरसँग भने, ‘पक्राउ गरेर हिरासतमा लिएपछि उनी क्यान्सर पीडित भएको खुलेको थियो ।’

काँकरभिट्टा प्रहरीका एक अधिकृतका अनुसार राजवंशीविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत, झापाले १० दिनको अनुमति दिएको छ ।

‘लागूऔषध सम्बन्धी कसूरमा ९० दिनको हदम्याद हुन्छ’, उनले सुनाए, ‘हामीले बरामद वस्तुलाई परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइसकेका छौं ।’

प्रयोगशालाको रिपोर्ट आएपछि सरकारी वकिलको कार्यालयमा प्रहरीले रायसहितको प्रतिवेदन पेश गर्छ र अदालतमा अभियोग दायर हुन्छ ।

दैनिक धाउनुपर्छ अस्पताल

बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा राजवंशीको थेरापी भइरहेको छ ।

अस्पतालका रेडियन अंकोलोजिस्ट डा. विरेन्द्र यादव नेतृत्वको टोलीले उनको उपचार गरिरहेको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए ।

‘मुखको क्यान्सर भएपछि उहाँ केही समयदेखि यहाँ उपचाररत हुनुहुन्थ्यो’, उनले अनलाइनखबरसँग भने, ‘एक्कासी केही दिनदेखि उहाँ प्रहरीसँग आउन थाल्नु भएपछि पक्राउ पर्नुभएको थाहा भयो ।’

उपचारका संलग्न चिकित्सकहरुका अनुसार राजवंशीको रोग गिजा हुँदै आँखा र दिमागसम्म पुगिसकेका छन् । चिकित्सकहरुले यसलाई क्यान्सरको ‘चौथो तह’ भनेका छन् ।

खर्च जुटाउन कारोबार गरेको दाबी

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार खर्च जुटाउने उद्देश्यले लागूऔषध कारोबार गरेको राजवंशीले दाबी गरेका छन् ।

यद्यपि, उनी यसअघि पनि लागूऔषध सम्बन्धी घटनामा संलग्न भएको दाबी गरिएको छ ।

काँकरभिट्टा नाका छेऊ बस्ने राजवंशीले नेपाल–भारत सीमा क्षेत्र पानीट्यांकीबाट लागूऔषध ल्याएको बताएका छन् ।

उनले भित्र्याउने लागूऔषधका प्रयोगकर्ता को को थिए भन्ने चाहिँ खुलेको छैन ।

यसैबीच, झापा प्रहरीले भद्रपुर–७ बाट ३८ ग्राम ब्राउन सुगरसहित वीरेन कार्कीलाई पक्राउ गरेको छ ।

स्थानीयबाट प्राप्त सूराकीका आधारमा लामो निगरानीपछि उनको घरमा खानतलासी गरेर लागूऔषधसहित पक्राउ गरिएको झापाका एसपी कोइरालाले बताए ।

उनका अनुसार भान्सा कोठामा प्लाष्टिकको बट्टाभित्र लुकाएर राखेको अवस्थामा लागूऔषध बरामद भएको थियो । उनले कहाँबाट ल्याएका थिए भन्ने विषयमा चाहिँ विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment