Comments Add Comment

बर्नाड शा : नोबेल पुरस्कार बहिस्कार गर्ने ‘निकम्मा’ साहित्यकार

ओठे जवाफका उस्ताद, मासु खानेलाई ‘हिँड्ने चिहान’ भन्दै जिस्काउँथे

बीसौं शताब्दीका सर्वाधिक मनपराइएका नाटककार हुन्, जर्ज बनार्ड शा । ओठे जवाफका उस्ताद एवं पाटे अल्छि । उनकै भाषामा कुरा गर्दा ‘एकदमै निकम्मा’ साहित्यकार हुन् शा । चिकित्सकले औषधि खान आग्रह गर्दा आफ्नो मर्ने स्वतन्त्रताको वकालत गर्ने, भ्रष्टाचार देखेर उछितो काड्नको लागि साहित्यकार बन्नेदेखि मासुखानेहरुलाई ‘हिँड्ने चिहान’ को संज्ञा दिँदै उनले जतिसुकै छुच्चो स्वभाव देखाए पनि कहिलै बोलीका कारण झमेलामा फस्नु परेन ।

आफूले जीवनमा एकाध मात्रै राम्रो काम गरेको उनी आफैं स्वीकार्थे । उनले कहिलै पनि चुरोट र रक्सीको सेवन गरेनन् । चाख्दापनि चाखेनन् । मासु समेत खान छाडेर मासु खानेको कट्टर विरोधी बन्ने उनी ‘सागपात र पानी खाएँ भने म मासु खानेभन्दा १० गुणा बलियो बन्छु’ भनेर घमण्ड गर्थे ।

उनको जीवनका हरेक किस्साहरु रोचक देखिन्छन् । एकपटक एउटी केटीले उनलाई बिहेको प्रस्ताब गरिन् । उनको भनाई थियो ‘तपाईंको मगज र मेरो रुप मिलेपछि हाम्री नानी कति राम्री र ज्ञानी होलिन् ?’ ती केटीको प्रस्ताव सकिन नपाउँदै उनले उत्तर दिए ‘तिम्रो दिमाग र मेरो रुप जस्तो नानी जन्मिइन् भनेचाहिँ के होला हालत ?’ उनको त्यो उत्तरबाट ती महिला आक्रोशित हुँदै हिँडिन् । त्यसपछि उनीसँग कहिलै भेट भएन ।

आफ्नो प्रचर तेजस्विता र ओजस्विताको मुख्य कारक नै रक्सी र चुरोट नखानुलाई मान्छन् उनी । उनले हरेक दिन एक पाना उपन्यास लेख्ने अठोट गरेका थिए । उनका उपन्यासहरुलाई सुरु सुरुमा कसैले पनि राम्रो मान्दैन’थे । उनी उपन्यास लेखिरहन्थे । प्रकाशकले छाप्न अटेरी गरिरहन्थे । तर, फेरि पनि उनी लेखिरहन्थे ।

धेरै लामो समयसम्म अंग्रेजी आलोचकहरुले उनका नाटकलाई आँलकाचो सम्झन्थे । तल बिस्तारै उनको साहित्यलाई धेरैले बुझ्दै गए । उनको लेखाइ नै त्यस्तै किसिमको हुन्थ्यो । कुरा ‘आम्स एण्ड द म्यान’ भन्ने नाटक लेख्दाको सन् १८९४ तिरको हो । त्यो नाटक उनले हतार हतारमा नाटकघरमा प्रदर्शनमा ल्याए । यो नाटकको विषय के थियो भन्ने कुरा नाटक खेल्नेहरुले बुझेका थिएनन् । न त दर्शकहरुले नै त्यसलाई बुझे । पहिलो दिन नाटकघरमा उनलाई काड्नु उछितो काडियो । दोस्रो दिनदेखि त्यो नाटकको अर्थ स्पष्ट भयो । जसका कारण दर्शकहरुले त्यसलाई यति धेरै रुचाएकी त्यो नाटक निरन्तर ११ महिनासम्म चलिरह्यो । एकदिन उनलाई दर्शकहरुले नै सम्मान गर्नको लागि बोलाए । धेरैले करतल ध्वनिले उनको स्वागत गरे । एकछिनमा सबै शान्त भएपछि एक व्यक्तिले उनलाई होच्याएर त्यो नाटकको कमजोर पक्षको बारेमा घुमाउरो शैलीले कुरा राखे । त्यतिकैमा शाले ती व्यक्तितर्फ फर्किएर भने ‘तपाईंको कुरामा म पनि सहमत छु, मेरो कमजोरी पक्कै पनि यो नाटकमा छ । तर, यतिका मानिसहरुले बुझेको कुरा बिरुद्ध तपाईं र मैले मात्रै केही गर्नसक्ने अवस्था मैले देखिन ।’ त्यो जवाफले ती व्यक्ति चुप बसेरै फर्किए । वास्तविक रुपमा सो नाटकको बारेमा उनले मात्रै बुझेको भन्ने शाको ठम्याइ हो ।

****

एकपटक उनी एकदमै बिरामी परे । डाक्टरहरूले उनलाई अण्डाहरू र मासको दाल खानको लागि सुझाव दिएका थिए । उनको त्यो समस्या निको पार्न ती खानेकुराहरु खानै पर्ने चिकित्सकको भनाइ थियो । उनले चिकित्सकहरुको कुरा मानेनन् । कारण थियो उनी शुद्ध शाकाहारी थिए । चिकित्सकहरुले आफूहरुको सुझाव नमान्दा जीवन नै तलमाथि हुन सक्नेसम्मको चेतावनी दिए । जर्ज बर्नार्ड अझै पनि डाक्टरको आदेश मान्न तयार भएनन् । आजित भएपछि चिकित्सकहरुले अन्ततः जर्ज बर्नार्डलाई भने ‘तिमी अब यो रोगबाट मुक्त हुन सक्दैनौ ।’ त्यसपछि जब जर्ज बर्नार्डको अवस्था बिग्रँदै गयो र उनलाई नै आफू अब बाँच्छु जस्तो लाग्न छाड्यो त्यतिबेलासम्म पनि उनले चिकित्सकले भने अनुसार अण्डा खाएनन् ।

२१ वर्षको उमेरसम्म उनले नाटक लेखे । त्यतिबेलासम्म उनी चर्चामा आउन थालिसकेका थिए । उनले पैसा पनि धेरै कमाइरहेका थिए । शाले सोही उमेरमा एउटी धनी केटीसँग घरबार जोडे । त्यतिबेलासम्म अंग्रेजी आलोचकहरुले उनका नाटकलाई कट्मेरो नाटकको रुपमा नै बुझ्ने गर्दथे । तर, बिस्तारै उनीहरुले शालाई अंग्रेजी नाटकको एक ओजस्वी शक्तिको रुपमा स्वीकार्न थाले । उनलाई फ्रेन्च नाटककार मोलियरकै कित्तामा राख्न थालियो ।  जतिबेला उनले सेन्ट जोन लेखे । उनको प्रसिद्धि झनै चुलीमा पुग्यो ।

बर्नाड शाको साहित्यिक विशेषता

उनी कहिले वेश्यावृत्तिको कठोर सत्यलाई उजागर गर्थे त कहिले गरिबीको समस्यालाई बाहिर ल्याउँथे । भ्रष्टाचारको विषयमाथि चोटिलो प्रहार गर्नु उनको साहित्यिक विशेषता हो । उनी आफैं पनि गरिबीको दुष्चक्रमा फसेर आएका व्यक्ति हुन् । चौध वर्षको उमेरमा गरिबीका कारण स्कूल छाडेका उनले २१ वर्षको उमेरसम्ममा नाटक लेखेर नै धेरै पैसा जोडे । पछि धनी केटीसँग विवाह गरेपछि उनलाई आर्थिक समस्याले पिरोलेन । तरपनि उनले आर्थिक संकटको दृश्यलाई भने आफ्नो साहित्यमा समेट्न भुलेनन् ।

बर्नाडले १० वर्षको उमेरमा नै शेक्सिपयरका रचनाहरु र बाइबललाई राम्रोसँग अध्ययन गरेका थिए । स्कूले ज्ञानमा उनी चम्कन सकेका थिएनन् । तर, उनी साहित्य र अरु ज्ञानमा भने निकै अघि थिए । पछि उनी बाइबलका कतिपय विषयवस्तुका कडा आलोचक पनि भएर निस्किए ।

बर्नेडको मिसेस वारेन प्रोफेसन नामक पुस्तकमा उनले वेश्यावृत्तिको कठोर सत्यलाई उजागर गरिएको छ भने मेजर बारबारामा गरिबीको समस्यालाई देखाइएको छ ।

रोचक रोचक निर्णयहरु

उनी मृत्युको मुखमा नै पुगिसकेको बेलामा एक सहयोगीले उनलाई सोधे । तपाईं स्वर्ग जान चाहनुहुन्छ कि नर्क ? उनले ती व्यक्तिलाई रोचक उत्तर दिएको कुरा कतिपय पुस्तकहरुमा पाइन्छ । उनले भनेका थिए ‘यदि म स्वर्ग जाने पहिलो व्यक्ति बन्छु भने म ठिक छ स्वर्ग जान्छु । होइन भने मलाई नर्क नै ठिक छ स्वर्गको आशा छैन ।’ यसरी उनी जे कुरामा पनि पहिलो हुन रुचि राख्थे ।

सन् १९२५ मा उनले साहित्य तर्फको नोबेल पुरस्कार पाए । तर, उनले त्यो पुरस्कार लिन अस्वीकार गरे । ब्रिटेन सरकारले फेरि उनलाई अर्डर अफ मेरिट् प्रदान ग¥यो । त्यो पनि उनले लिन मानेनन् । उनले भनेका थिए मैले त्यो पुरस्कार पहिले नै आफैंले आफैंलाई दिइसकेको छु । त्यसैले एउटै पुरस्कार दुई पटक म लिन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment