Comments Add Comment

कथा– सीडीओ सापको नयाँ ज्याकेट !

सीडीओ साप आज तनावमा हुनुहुन्छ । त्यसैले अनिन्द्रामा हुनुहुन्छ । यता कोल्टे फेर्नुहुन्छ, उता कोल्टे फेर्नुहुन्छ । अहँ निन्द्रा पटक्कै लाग्दैन । अनेकतिर मन डाइभर्ट गर्न खोज्नुहुन्छ । अहँ कतैतिर मन जानै मान्दैन । उल्टै भूमरी झैं केन्द्रीकृत हुन खोज्छ मन ।

यो तनाव जिल्लाको तनाव पटक्कै होइन । न शान्ति सुरक्षाकै तनाव हो । न घर परिवारको । एक किसिमले भन्ने हो भने वहाँको जिल्ला, परिवार, नातागोता ,साथीभाइ सबैतिर ठीकठाक छ ।

तर, पनि वहाँ तनावमा हुनुहुन्छ । केको तनाव त त्यस्तो ? आफ्नो दुःख आफैंसँग मनमनै पोख्नुहुन्छ–

‘त्यत्रो पैसा हालेर खुब मन परेर किनेको ज्याकेट, साले गोविन्देले लाउनु न फाल्नु पार्दियो ।’

‘नलाउँ बीस–बीस हजार हालेर किनेको छ, लाउँ बजियाले हुबहु यस्तै भिरेर आउँछ ।’

‘बजियालाई गिफ्ट दिनेले पनि काटीकुटी मेरैजस्तो दिएर मरेछ नि ।’

एउटा चुरोट सल्काउनु भो । चुरोट तान्दै गर्दा पनि मनमा त्यही विषयको तर्कना आउन थाले ।

ज्याकेट ह्याङगरमा राखेर दराजभित्र झुण्ड्याउनुभो । अनि फेरि पलङमा पल्टिनुभो । मोबाइल चलाउन खोज्नुभो । त्यसमा पनि मन गएन । मनमा त्यही कुरा खेल्न थाल्यो

‘आफैंले किनेर त किन लाउँथ्यो होला र मोरोले । सके पो किन्नु !’

‘औकात हुनुपर्यो नि ।’

‘सित्तैमा पाएर ढल्काई ढल्काई हिँड्छ ।’

एक गिलास पानी पिउनुभो । टीभी खोल्नुभो । अहँ टीभीमा पनि मन गएन ।

एक मनले त वहाँलाई ‘तँ अबदेखि यो ज्याकेटचाहिँ नलगाई आइज है गोविन्दे । लाउनै परे मेरो सरुवा भएपछि लाउलास्’ भनूँ कि जस्तो पनि लाग्यो । तर, त्यसो भन्न पनि निकै अप्ठेरो हुने ठान्नुभो ।

गोविन्दले प्याच्च मुख फर्काए भने आफ्नै बेइज्जत हुने ठान्नुभो । नफर्काउने सम्भावना पनि थिएन । आफ्नो लुगा लाउन पनि सीडीओको सहमति ! यो त अति नै हुन्थ्यो ।

आखिर इज्जतभन्दा ठूलो त ज्याकेट होइन जस्तो लाग्यो वहाँलाई ।

एकछिन उठ्नुभो । दराज खोल्नुभो र झिक्नुभो त्यही ज्याकेट । अनि ज्याकेट सुम्सुम्याउँदै कल्पिनुभो– ‘हेर ! त्यस्तो मन परेर किनेको ज्याकेट । जाडो गर्मी दुबैमा लाउन मिल्ने । उल्टो सुल्टो जताबाट लाए नि हुने । रंग पनि क्या मन परेको ! क्या काइदाको ज्याकेट थियो । महिना दिनअघि मात्रै किनेको । फाट्टफुट्ट बाहेक अघाउञ्जेल लाउनै पा’छैन । शहर बजार घुमेर दुई–चारजनालाई देखाउनै पा’छैन ।

ज्याकेट ह्याङगरमा राखेर दराजभित्र झुण्ड्याउनुभो । अनि फेरि पलङमा पल्टिनुभो । मोबाइल चलाउन खोज्नुभो । त्यसमा पनि मन गएन । मनमा त्यही कुरा खेल्न थाल्यो–

‘कसैलाई दिउँ त्यति महङ्गो ज्याकेट, कुन मन र कुन आँटले दिउँ?’

‘लिने त बग्रेल्ती भेटिएलान् ।’

कसैलाई दिने कुरा त्यत्तिकै स्थगित गर्नुभो ।

‘हिजो मात्रै त हो त्यसले ला’को । धेरैले देखेकै छैनन् । मोराको त्यो ज्याकेट नै किनेर ध्वस्त गरौं, अनि आफ्नो मात्रै लाउँ कि ! किन्न त पाइन्छ नि ।’

एक मनले यसो सोच्नुहुन्छ ।

‘तर बजियाले अर्काले दिएको उपहार बेच्दिनँ भन्यो भने अथवा बेचे पनि खाँटी मूल्य नै माग्दियो भने त मेरो ज्याकेटको मूल्य त चालीस हजार पुग्छ ।’

‘हैट ! बीस हजारको ज्याकेटलाई चालिस हजार तिरेर नि कसैले लगाउँछ ?’

चिटचिट पसीना आउन खोज्छ वहाँलाई । फेरि एक गिलास पानी खानुभो ।

‘अहँ हुन्न यो आइडिया !’

उहाँ तुरुन्तै ब्याक हुनुभो ।

००००

कोल्टे फर्किनुभो सीडीओसाप ।

रात छिप्पिँदो छ । ज्याकेटको तनाव पनि कम हुनुको साटो झन् झन् छिप्पिँदो छ । दिमागले पनि कोल्टे फेरेर होला, अर्को सोचले डेरा जमायो । अलिकति बनावटी, अलिकति देखावटी सोच–

‘लायो त लायो, के बिग्रियो हँ ? मैले मात्रै लगाउन भनेर बनाएको पनि त होइन कम्पनीले । उसले पनि लाउँछ, मैले पनि लाउँछु अर्कोले पनि लाउँछ । जसले पाउँछ, त्यसले लाउँछ । त्यसैले भोलिदेखि नै लगाएर हिँड्छु यत्रैसित्ति !’

तर, उहाँ यो आइडियालाई तुरुन्तै निषेध गर्नुहुन्छ ।

अर्को विचारले प्रभाव जमाउन थाल्छ ।

‘हैट कहाँ हुन्छ ! सिडियो जस्तो मान्छेले गोविन्देले लाएजस्तो लाउन त ! अगाडि केही नभने पनि पछाडि त अनेक कुरा काटिहाल्छन् नि ।’

नानाभाँतीका कुराहरू सोच्दासोच्दै कतिखेर–कतिखेर भुसुक्कै निदाउनुभयो सीडीओ साप ।

०००

उसो त अर्को सम्भावना पनि त बाँकी नै थियो ।

रङ मिल्यो भन्दैमा क्वालिटी र ब्राण्ड पनि मिल्छ भन्ने थिएन । गोविन्देको ज्याकेटको पुरै जाँचपड्ताल गर्न बाँकी पनि थियो । उसको ज्याकेटलाई कुनै न कुनै कोणबाट निम्नकोटीको प्रमाणित गर्ने झिनो सम्भावना बाँकी नै थियो ।

गोविन्देले त्यही ज्याकेट लगाएका बेला वहाँले मौन जाँचपड्ताल गर्नुभो । हुबहु आफ्नैजस्तो छ । वहाँ यही निष्कर्षमा पुग्नुभो कि वहाँको र गोविन्देको ज्याकेट एउटै हो– ब्राण्डदेखि रङ्गसम्म, क्वालिटीदेखि प्राइससम्म सबै उही नै हो । केही फरक नै छैन ।

वहाँलाई लाग्यो–

‘शायद गिफ्ट दिनेले गोविन्देलाई दुईचार महिना लाइवरि सेकेण्डह्याण्ड बनाएर दिएको हुँदो हो ।’

कता–कता वहाँलाई लाग्यो–

‘तर उसको चाहिँ जड्यौरी, अनि मेरो चाहिँ न्यु ब्रान्ड भन्ने आधार उसको र मेरो पदीय ओहोदा बाहेक अरू केही पनि त छैन ।’

०००

सीडीओसापले यस्तै कुरा धेरै दिनसम्म सोचिरहनुभो । तर, ज्याकेट लाउने आँट गर्नुभएन । न कसैलाई दिने छाँट देखाउनुभो । न गोविन्देलाई नै त्यो लाउन प्रतिबन्ध लाउन सक्नुभो ।

झिक्दै, राख्दै । सुम्सुम्याउँदै, गुम्स्याउँदै । यदाकदा कोठाभित्रै लाउँदै, ऐना हेर्दै, फुकाल्दै वहाँको ज्याकेट मैलियो । मैलिएपछि धुनुपर्ने हो । तर, नलाउने भएपछि केलाई धोइरहनु ? नधुँदा नधुँदै त्यत्तिकै थोत्रियो । कताकता ज्याकेटप्रति नै उहाँको मोहभङ्ग भो ।

उता गोविन्द अर्थात् वहाँको कार्यालयको कार्यालय सहयोगी भने मस्तसँग त्यो ज्याकेट लगाएर हिँडिरहे हिँडिरहे ।

लगाउँदा लगाउँदै गोविन्दको ज्याकेट पनि थोत्रियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment