Comments Add Comment

भारतमा दुर्घटनामा मृत्यु भएका तीर्थयात्रीको शव ल्याउन अन्योल

११ फागुन, विराटनगर । बुधबार राति भारतको तामिलनाडुमा दुर्घटनामा परी ज्यान गुमाउने नेपालीको शव ल्याउने विषयमा अन्योल भएको छ । सरकारले बेलामा समन्वय नगर्दा भारतमा मृत्यु भएका तीर्थयात्रीको शव कसरी नेपाल ल्याउने भन्ने विषयमा आफन्त अलमलमा छन् ।

तीर्थयात्रामा गएका नेपाली सवार मिनीबस बुधबार राति भारतको तामिलनाडु प्रान्तको सलेम जिल्ला स्थित बेंगलरु नेशनल हाइवेमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । जसमध्ये इटहरी उपमहानगरपालिका १० कै ६ जना रहेका छन् ।

इटहरी उपमहानगरपालिका – १० का टीकाराम चौधरी, रसिलाल चौधरी, फूलमती चौधरी, बोधनी चौधरी, गोपाल तामाङ, वीरबहादुर राई र पवनलाल चौधरीको मृत्यु भएको जानकारी आएको इटहरी उपमहानगरपालिका उपप्रमुख लक्ष्मी गौतमले बताइन् । उनका अनुसार दुर्घटनामा इटहरी १० कै एक महिला गम्भीर घाइते छिन् ।

दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तसँग शनिबार भेटघाट गरेकी उपप्रमुख गौतमले संघीय सरकारसँगको समन्वयमा शव ल्याउन पहल सुरु गरेको बताइन् ।

सरकार पुग्न चार दिन

माघ २३ गते मोरङ झापा र सुनसरीबाट ३५ दिने तीर्थयात्राका लागि ३२ जना मिनिबसमा भारतर्फत गएका थिए । बुधबार राति करिब १ बजे धर्मशालामा बास बस्नका लागि बस रोक्न खोज्दा लरीले ठक्कर दिएर दुर्घटना भएको थियो ।

दुर्घटनाको चार दिनपछि मात्र घटनास्थलमा नेपाल सरकारका प्रतिनिधि पुगेका छन् । आइतबार बिहान मात्र दिल्लीस्थित नेपाली दूतावासका प्रतिनिधि शव राखिएको अस्पतालमा पुगेको जानकारी आएको इटहरी उपमहानगरपालिका – १० का अध्यक्ष प्रकाश चौधरीले जानकारी दिए ।

शनिबार इटहरीकी उपप्रमुख गौतमले परराष्ट्र मन्त्रालयमा जानकारी गराएकी थिइन् । मन्त्रालयले पत्र पठाएपछि दूतावासको टोली शव राखेको अस्पताल पुगेको हो । ‘आज विहानसम्म मृतकका आफन्तलाई अस्पतालले शव लैजान भनेर दबाब दिएको थियो’ चौधरी भन्छन् ‘दूताबासबाट प्रतिनिधि पुगेपछि दबाव दिएको छैन ।’

दुर्घटनामा ज्यान गुमाएकाहरुको शव ल्याउन समस्या भएको छ । चार दिनअघि भएको दुर्घटनाका कारण शव कसरी ल्याउने भनेर छलफल भइरहेको गौतमले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment