Comments Add Comment

दिपायल सिलगढी नगरपालिकामा १७६ छाउगोठ

१२ फागुन, डोटी । डोटी जिल्ला सदरमुकामसमेत रहेको दिपायाल सिलगढी नगरपालिकाभित्र एक सय ७६ छाउगोठहरु रहेको एक अध्ययनले देखाएको छ ।

दिपायल सिलगढी नगरपालिकाको सहयोगमा समुदाय प्रहरी साझेदारी कार्यक्रम र महिला अधिकार मञ्च डोटीले गरेको छाउपडी गोठहरुको तथ्यांक संकलन र अवस्था अध्ययनले सो कुरा देखाएको छ ।

सोमबार आयोजित “छाउपडी प्रथा न्यूनिकरण सम्वन्धि छाउपडी तथ्यांक सार्वजनिक तथा अन्तरकि्रया कार्यक्रम’मा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।

तथ्यांक अनुसार प्राप्त एक सय ७६ गोठमध्ये एक सय १५ छुट्टै छाउगोठमा रहेका छन भने ६१ परिवारका महिलाहरु महिनावारी भएका बेला गाईबस्तुसँगै गोठमा बस्ने गरेका छन् ।

तथ्यांक अनुसार वडा नं. १ मा सबैभन्दा बढी ५७ छाउगोठहरु रहेका छन् । उक्त वडामा २६ छुट्टै छाउगोठ र ३१ गाईबस्तुसँगै बस्ने गरेका छन् । यस्तै वडा नं. ३ मा नौ, ५ मा १४, ७ मा १८, ८ मा ५४ र ९ मा २४ छाउगोठहरु रहेका छन् । अध्ययन अनुसार एक सय ७६ मध्ये १४ गोठहरुमा मात्रै झ्याल रहेका छन् ।

यस्तै ३७ छाउगोठमा मात्रै बत्ति रहेको अध्ययनले देखाएको छ । एक ७६ मध्ये एक सय ४२ परिवारका महिलाहरु महिनावारी भएका बेला गोठमा चिसो भुईँमा सुत्ने गरेको र एक सय सात परिवारका महिलाहरुसँग न्यानो कपडासमेत नरहेको देखाएको छ । ८६ प्रतिशत महिलाहरुले छाउगोठमा बस्दा आफू असुरक्षित महसुस भएको प्रतिवेदनमा उल्लेख छ ।

महिनावारी भएका बेला ७१ प्रतिशत महिलाहरुले महिनावारी हुँदा सामान्य अवस्थाको धारा छुन पाउँदैनन् । एक सय ७६ मध्ये तीन परिवारले मात्रै महिलाहरुलाई महिनावारी भएका बेला दही दूध खान दिने गरेको प्रतिवेदनले देखाएको छ ।

कार्यक्रममा पत्रकार झलक पालीले नगरपालिकाभित्र यो भन्दा पनि बढी छाउगोठहरु हुन सक्ने बताए । उनले महिनावारी भएका बेला महिलाहरुले शौचालय प्रयोग नगर्ने गरेको समेत बताए ।

राजकुमार मलासीले महिनावारी भएका महिलाले छुँदा कुनै पनि धामी/झाँक्री र पुजारीको मृत्यु नभएको दाबी गरे । उनले भने ‘न त छोइएको धामीको मृत्यु भएको छ, न धामीलाई छोएको कारण कुनै महिलाको मृत्यु भएको छ, त्यसैले यो रुढीगत मान्यता मात्रै हो ।’

उनले आफू तेडी देउताको धामी भएको र पेशाले शिक्षक पनि भएको बताउँदै भने, ‘मैले पढाउने कक्षाहरुमा महिनावारी हुने उमेरका किशोरीहरु पनि छन् तर मलाई त कहिल्लै केही भएन ।’

उनले छाउगोठ भत्काउनु भन्दा पनि रुढीगत चेतना भत्काउनु आवश्यक भएको वताए । उनले भने ‘जिल्ला सदरमुकाम रहेको नगरपालिकाभित्रै महिलाहरु गाईबस्तुसँगै गोठमा बस्नु लाजमर्दो अवस्था हो, यसलाई भत्काउनु जरुरी छ ।’

चेतनामूलक कार्यक्रम सञ्चालन गर्छौं-नगर प्रमुख

कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीले स्थानीय प्रशासनसँग समन्वय गरी तत्काल छाउगोठहरु भत्काउने अभियान सञ्चालन गरिने बताइन् । ‘एउटा खाका आएको छ, यसमा केही त्रुटि भएको कुरा पनि आएको छ,’ मलासीले भनिन्, ‘थप गोठहरु छन भने पनि भत्काउने हो ।’

मलासीले छुट्टै छाउगोठहरुको भन्दा पनि गाईबस्तुसँगै गोठमा बस्ने परिवारहरुको समस्या रहेको बताइन् । उनले भनिन्, ‘गोठ भत्काउने अभियानसँग चेतनामूलक अभियानहरु सञ्चालन गर्छौं, त्यति गर्दा पनि यदि मान्दैनन् भने कानूनी कारवाही थाल्छौं ।’

डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले नगरपालिकाभित्र फेला परेका छाउगोठ नगरपालिकाभित्र समन्वय गरी भत्काउने अभियान थालिने बताए ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्लामा अहिलेसम्म तीन सय २४ छाउगोठ भत्काइएको जानकारी दिए । ‘अब बाँकी रहेका छाउगेाठहरु भत्काउने अभियान सुरु गर्छौं,’ पौडेलले भने, ‘अव अटेरी गर्नेलाई कानून बमोजिम कारबाही हुन्छ ।’ छाउगोठसंगै चेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment