Comments Add Comment

जनयुद्धमा प्रचण्ड बसेको घर अब ‘युद्ध पर्यटन केन्द्र’

सुरुङलाई आधुनिकीकरण गर्ने योजना

१३ फागुन, रोल्पा । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माओवादी जनयुद्धका बेला आवासका रुपमा प्रयोग गरेको रोल्पाको राङसीस्थित घर र आसपासका क्षेत्रलाई समेटेर ‘युद्ध पर्यटन क्षेत्र’ घोषणा गरिएको छ ।

प्रचण्ड स्थानीय लालबहादुर घर्तीको घरमा ०६१ वैशाखदेखि २०६१ फागुन ३ गतेसम्म पत्नी सीता र छोरा प्रकाशसहित बसेका थिए । त्यहाँ सेनाले आक्रमण गर्दैछ भन्ने सूचना पाएपछि प्रचण्ड अर्को गाउँमा सरेका थिए । लगत्तै सेनाले सो घरमा आक्रमण गरेको थियो । उक्त घरका भित्तामा अहिले पनि गोलीले पारेका प्वाल छन् ।

प्रचण्डले लामो समय बिताएको सो घर हाल जीर्ण भइसकेको छ । घर लड्नबाट जोगाउन चारैतिर फलामले टेको दिएर जस्ताको छानो लगाइको छ । युद्ध पर्यटन विकास समितिका अनुसार प्रचण्ड बसेको घरमुनि रहेको ७० मिटर लामो सुरुङलाई आधुनिकीकरण गर्ने योजनासमेत बनाइएको छ ।

१२ बुँदे सहमतिमा हस्ताक्षर हुनुअघि भएको चर्चित रोल्पा वार्ताका लागि आएका तत्कालीन एमाले नेताहरु बामदेव गौतम र युवराज ज्ञवालीलाई सोही घरबाट गएर प्रचण्डले भेटेका थिए

सोमबार सो घर परिसरमा आयोजित एक कार्यक्रममा नेकपा स्थायी समिति सदस्यसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ‘युद्ध पर्यटन क्षेत्र’ घोषणा गर्दै सो घर नेपालको राजनीतिक परिवर्तनका लागि भएको जनयुद्धको साक्षी भएको बताए ।

‘यो घर प्रचण्ड बस्नुभएको कारणले मात्र होइन, तत्कालीन अवस्थामा काठमाडौंमा रहेको ज्ञानेन्द्र शाहीको सरकार र जनताको समानान्तर सत्ताका बीचको संघर्षको केन्द्र हो’, मन्त्री पुनले भने, ‘यो लोकतन्त्र र परिवर्तनका लागि भएका सबै आन्दोलनमा सहभागी हुनेहरुको साझा घर हो ।’

‘एकपटक प्रचण्डले जनयुद्धमा बसेको बंकरमा गएर सुत्न मन लागेको छ भन्नुभएको थियो’, पुनले भने, ‘त्यसले ठूलै तरंग ल्यायो । उहाँ फर्केर काठमाडौं गएपछि दलहरुबीच संविधानमा सहमति भयो । यो घर त्यस्तो शक्तिको स्रोत हो ।’

सात राजनीतिक दल र तत्कालीन माओवादीबीच १२ बुँदे सहमतिमा हस्ताक्षर हुनुअघि भएको चर्चित रोल्पा वार्ताका लागि आएका तत्कालीन एमाले नेताहरु बामदेव गौतम र युवराज ज्ञवालीलाई सोही घरबाट गएर प्रचण्डले भेटेका थिए ।

प्रचण्डले त्यतिबेला प्रयोग गरेका खाट, खाना पकाउने र खाने भाँडा, कपडा, त्यहाँ बसेर लेखिएका दस्तावेज सबै युद्ध पर्यटन केन्द्रमा सर्वसाधारणका लागि प्रदर्शनीमा राखिने बताए ।

संघ, प्रदेश र स्थानीय सरकार मिलेर उक्त स्थानको संरक्षण तथा प्रवर्द्धन गर्ने योजना रहेको मन्त्री पुनले जानकारी दिए । युद्ध पर्यटन केन्द्रमा एक दिन मानिसहरु आएर बस्न सक्ने बनाउन नजिकैका घरहरुमा होमस्टे सञ्चालन गर्न मन्त्री पुनले सुझाव दिए ।

कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्तीले प्रचण्डले जनयुद्धको नेतृत्व गरेको घर इतिहासको साक्षी भएकाले त्यसको संरक्षण गर्न लागिएको बताइन् ।

नेकपा नेतृ एवं सांसद जयपुरी घर्तीले व्यक्तिका रुपमा नभई जनयुद्धको प्रतीकका रुपमा चिनाउन प्रचण्ड बसेको घर आसपासलाई समेटेर युद्ध पर्यटन केन्द्र घोषणा गरिएको बताइन् ।

कार्यक्रममा नेकपाका रोल्पा जिल्ला इञ्चार्ज एवम् प्रदेशसभा सदस्य दीपेन्द्र पुनमगर ‘सिजल’ले मुस्लिमहरुको पवित्र तीर्थस्थल मक्कामदिना र हिन्दूहरुको पशुपति भनेजस्तै संसारभरका कम्युनिष्ट क्रान्तिकारीहरुका लागि एकपटक आउनैपर्ने घरका रुपमा उक्त क्षेत्रको विकास गरिने बताए ।

युद्ध पर्यटन विकास समितिका सचिव जितेन्द्र पुनले प्रचण्ड बसेको घरमुनि रहेको ७० मिटर लामो सुरुङलाई आधुनिकीकरण गर्ने र घरको प्राङ्गणमा ढुंगा बिछ्याउने योजना रहेको जानकारी दिए । सो घर नजिकै हेलिप्याडसमेत निर्माण गर्न लागिएको छ ।

यो पनि पढ्नुहोस बंकरमा बम हान्ने पाइलटले प्रचण्डलाई उडाए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment