Comments Add Comment

चीनपछि कोरियामा कोरोनाको जोखिम, त्रासमा काम गर्दै नेपाली

१३ फागुन, काठमाडौं । चीनको वुहानबाट फैलिएको कोभिड १९ को संक्रमणको त्रास यतिबेला विश्वभर छ । चीनपछि दक्षिण कोरियामा सर्वाधिक व्यक्तिहरु संक्रमित भएका छन् । त्यहाँ ८४३ जनामा संक्रमण हुदाँ ८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

पाँच दिनअघिसम्म दक्षिण कोरियामा ५१ जनालाई मात्र कोरोना भाइरस संक्रमण भएको थियो । छोटो समयमा संक्रमणको दर उच्च भएपछि विश्व स्वासथ्य संगठनले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।

वैदेशिक रोजगारी र अध्ययन गर्न गएका दक्षिण कोरियामा वैधानिक र अवैधानिक गरेर झन्डै ५० हजारको हाराहारीमा नेपाली नागरिक रहेका छन् । संक्रमण उच्चरुपमा फैलिएको देगु शहरमा १ हजारभन्दा बढी नेपाली रहेको अनुमान गरिएको छ ।

संक्रमण र मृत्युको बढ्दो तथ्यांकले त्यहाँ रहेका नेपालीहरुले मनोवैज्ञानिक त्रास बढेको बताएका छन् ।

देगुको एक कपडा कम्पनीका काम गर्ने सञ्जय केरुङका अनुसार देगुमा काम गर्ने नेपालीहरु डरको कारण कम्पनीबाट बाहिर निस्किन छाडिसकेका छन् । कम्पनीले पनि अति आवश्यक काम बाहेक बाहिर ननिसक्न आग्रह गरेको छ । संक्रमणको डर भए पनि कम्पनीले बिदा नदिएको कारण काम गर्नुपरेको सुनाउँदै उनले भने, ‘कम्पनीभित्र कसैलाई संक्रमण नभएकाले डर मानी मानी भए पनि काम गरिरहेका छौँ, अरु कम्पनिको साथीले पनि बिदा पाएका छैनन्।’

उनका अनुसार उनी कार्यरत कम्पनीमा ७ जना नेपाली काम गर्छन्। त्यसै गरी त्यही शहरका अन्य नेपाली कामदारहरुसँग पनि उनको कुराकानी हुन्छ । उनीसँग सम्पर्कमा रहेका अधिकांश साथीहरु पनि त्रसित नै छन् । उनीहरुको एउटै स्वर छ — ‘सरकारले उद्धार गरे देश फर्कने हो, नत्र हामी मजदुर आफ्नो खर्चले फर्कन सक्दैनाै‌ं ।’

केही भवितव्य आइलाग्नुअघि सरकारले उद्धार गर्ने आश रहेको उनले सुनाए । भने, ‘चीनबाट त उद्धार गरेको छ भने हामीलाई गाह्रो भयो भने पनि सरकारले उद्धार गर्ला नि ।’

संक्रमण सुरु भएको कोरियाको राजधानी सोलमा मात्र २३ जनालाई संक्रमण पुष्टि भएको छ । त्यही शहरमा रहेका निशान कार्की संक्रमणले उग्र रुप लिए त्यहाँ पुगेका धेरै नेपाली कामदार र विद्यार्थीको अवस्था नाजुक हुने बताउँछन् ।

उनका अनुसार कोरियामा संक्रमण फैलिएको समाचार बाहिरिनासाथ सडकमा मानिसको चहलपहल पातलो भएको छ । बजार तथा रेस्टुरेन्टमा मानिसको भिड कम छ । सञ्चार माध्यम र सामाजिक सञ्जालमा पनि कोरोनाकै चर्चा भएकाले डर बढ्दै गएको छ । नेपालबाट अभिभावकहरुले चिन्ता लिएकाले डर बढेको सुनाउँदै उनले भने, ‘त्यत्रो खर्च गरेर आएका छौं, बिचमै फर्कनुपर्‍यो भने तनाव हुन्छ ।’

कोरोनाको संक्रमण बढ्दै गएकाले भर्खरै कोरिया पुगेकाहरुलाई काम नपाउने तनाव रहेको सुनाउँछन् थेंगु प्रान्तमै रहेका विष्णु सापकोटा । अध्ययनका लागि गएका उनी काम नपाउँदा कलेजको शुल्क तिर्न नसक्ने सुनाउँछन् ।

काम गर्न मात्रै गएका भन्दा पनि विद्यार्थीहरुलाई गाह्रो हुने अवस्था आइसकेको उनको अनुभव छ । सापकोटा भन्छन्, ‘काम नगरे खान पनि पाइन्न, कलेजको फी तिर्न पनि सकिन्न ।’

यो अवस्थामा घर फर्कने निर्णय गर्न नसक्ने बताउँदै उनले भने, ‘त्यत्रो ऋण गरेर भर्खरै आएको नेपाल फर्किनुपर्‍यो भने भने त डुबिन्छ नै, यहाँ बस्न नि डरमर्दो छ । के गर्ने, सोच्न सकेको छैन।’

कोरियाको एक मोटर वर्कसपमा कार्यरत निर्मल मगरका अनुसार अहिले त्यहाँ रहेका नेपालीहरुमा डर बढेको छ । उनका अनुसार केही कम्पनीहरुले बिदा दिए पनि धेरैजसो नेपालीले बिदा पाएका छैनन् । उनले भने, ‘धेरै साथीहरुले बिदा माग्न थालेका छन्, तैपनि बिदा नपाएकाले तनाव छ ।’

दूतावास भन्छ– नेपालीहरु सुरक्षित छन्

सोलस्थित नेपाली दुतावासले कोरिया सरकारले नै उच्च सतर्कता अपनाएकाले डराइहाल्नुपर्ने अवस्था नरहेको बताएको छ । कुनै समस्या आए तुरुन्तै दुतावासमा खबर गर्न भनेको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अहिले कोरोना प्रभावित शहरमा सरकारले नागरिकलाई सचेत बनाउने काम गरिरहेको छ । भीडभाडमा ननिस्कन भनेर सूचना जारी गरिरहेको छ । सञ्चार माध्यमार्फत बाहिर नजान, मास्क अनिवार्य प्रयोग गर्न, मिचेर हात धुन आह्वान गर्दै सूचना र विज्ञापनहरु बजाइरहेका छन् । कोरिया सरकारले कोरोनाको लक्षण देखिए तत्काल अस्पताल भर्ना गरेर निशुल्क उपचार गर्ने समेत बताएको छ ।
यो पनि पढ्नुहोस ४४ हजार नेपाली बस्ने कोरियामा कोरोनाको त्रास, दूतावास भन्छ- डराउनुपर्दैन

सोही कारण कोरियामा रहेका नेपालीहरु अहिलेको अवस्थामा डराउनु नपर्ने बताउँदै नेपाली दूतावासले कामदारलाई सुरक्षित रहन र स्वस्थ्यमा समस्या आए नजिकको स्वास्थ्य संस्थामा पुगेर जाँच गराउन आग्रह गरेको छ ।

दक्षिण कोरियास्थित नेपाली दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘पछिल्लो समय कोरियामा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले पनि कोरियाली सरकार र सम्वद्ध निकायहरूले समय–समयमा जारी गर्दै आएका सुरक्षाका उपायहरू प्रभावकारी ढङ्गले अवलम्वन गरी कोरोनाभाइरसबाट सुरक्षित रहन विभिन्न सिलसिलामा हाल दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपाली राजदूतावास सोल विशेष अनुरोध छ ।’

त्यसै गरी कोरियास्थित नेपाली सम्पर्क समिती (एनसीसी) का केन्द्रीय सदस्य ललित पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरिया लगायत पाँचवटा संस्थाहरुसँग समन्वय गरेर त्यहाँका नेपालीहरुलाई सुरक्षित रहन आग्रह गरिएको बताए ।

उनका अनुसार अहिले कोरियामा रहेका कोही पनि नेपालीलाई संक्रमण पुष्टि भएको छैन । थेगुका २५ लाग जनसङख्यालाई स्थानीय प्रशाशनले घर बाहिर ननिस्कन आग्रह गरेको छ । स्थानीय सरकारले सुरक्षाको तयारी र सुरक्षित रहने उपायहरु सञ्चार माध्यमबाट प्रसारण गरिरहेको छ । उनले भने, ‘कोरियन सरकारले नै उच्च सतर्कता अपनाएका कारण अहिले नै डराइहाल्नुपर्ने अवस्था छैन ।’

स्वास्थ्य मन्त्रालय भन्छ– अन्य मन्त्रालयसँग छलफल भएको छैन

अहिलेको अवस्थामा कोरियामा रहेका नेपालीहरुले उद्धारका लागि गुहार मागेका छैनन् । त्यसैगरि कोरियास्थित नेपाली दुतावासले पनि त्यहाँ रहेका नेपालीहरुलाई खतरा नभएको बताइसकेको छ । सोही कारण यो विषयमा स्वास्थ्य तथा जनसङख्या मन्त्रालयमा अहिलेसम्म छलफल भएको छैन।

त्यहाँ रहेका नेपालीहरुलाई खतरा आइपरे स्वास्थ्य मन्त्रालयले आफ्नो कर्तव्य पूरा गर्ने सहप्रवक्ता सागर दहालले बताए । उनले भने, ‘दुतावास र पराराष्ट्र मन्त्रालयलेसँग छलफल नगरी हामीले मात्र केही गर्न सकिन्न । कोरियामा रहेका नेपालीहरुलाई आवश्यक सहयोग गर्न हामी तयार छौँ ।’

विश्वव्यापी असर

विश्व स्वास्थ्य सङ्गठनले एउटाभन्दा बढी क्षेत्रमा रोग फैलिए त्यसलाई विश्वव्यापी महामारी घोषणा गर्न सक्छ । पछिल्लो तथ्यांक अनुसार चीनको हुबे प्रान्तबाट सुरु भएको कोरोना भाइरस २९ देशमा फैलिसकेको छ । चीन बाहिर १४ सयभन्दा बढी सङ्क्रमित हुँदा १६ जना भन्दा बढीको मृत्यु भएको बताइएको छ ।

चीनमा मात्रै अहिलेसम्म ७७ हजारभन्दा बढी मानिसमा संक्रमण र २५ सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ । चीनपछि अहिले दक्षिण कोरिया, इटली र इरानमा उक्त भाइरसको प्रकोप फैलिएको छ ।

पछिल्लो जानकारीअनुसार इटलीमा १५२ जनामा संक्रमण भएको पुष्टि भएको छ भने इरानमा ४३ संक्रमित मध्ये आठ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment