Comments Add Comment

जंगीअड्डाको भवन बनाउनेले भुक्तानी पाएनन्, गेटअगाडि धर्ना

१३ माघ, काठमाडौं । नेपाली सेनाको जंगीअड्डामा निर्माण गरिएको भवनको भुक्तानी माग गर्दै भद्रकाली अगाडि प्रदर्शन भएको छ ।

मुख्यालयका विभिन्न संरचना निर्माणमा संलग्न सहायक ठेकेदार, सप्लायर्स, मजदुरले लामो समयसम्म पनि भुक्तानी नपाएको भन्दै मंगलबार बिहान प्रदर्शन गरेका हुन् ।

मुख्यालय भवन निर्माण कार्य सकेको ९ महिना बितिसक्दा पनि भुक्तानी नपाएपछि बाध्य भएर आफूहरू धर्नामा बसेको सहायक ठेकेदार रमेश शिवकोटीले अनलाइनखबरलाई जानकारी दिए ।

धर्नामा बसेका उनीहरूले ‘मजदुर मार्न पाइँदैन’, ‘भुक्तानीको ग्यारेन्टी गर’लगायतका प्लेकार्ड बोकेका छन् । बिहान १० बजेदेखि सुरु धर्ना १२ बजेसम्म जारी रहने सहायक ठेकेदार शिवाकोटीले जानकारी दिए ।

भवन निर्माणका लागि सेनालाई पुनर्निमाण प्राधिकरणमार्फत सरकारले तीन अर्ब ४४ करोड रुपैयाँ बिनियोजन गरेको थियो । भवनको १० वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।

गोरखा भूकम्पपछि प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढंगबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना भएको सेनाको दाबी थियो ।

२४ जेठ २०७३ बाट निर्माण सुरु भएको भवन दुई वर्ष १० महिनामा तयार भएको थियो । निर्माणका लागि दैनिक ४ सय जनशक्ति अहोरात्र खटिएका थिए ।

भएको के हो ?

नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय भवन निर्माणको जिम्मा सेनाले केसी कन्स्ट्रक्सनलाई दिएको थियो । तर कोसीले सव–कन्ट्याक्टर भित्राएर क्वेस्ट इन्फालाई जिम्मा लगाएको थियो ।

क्वेस्टमार्फत विभिन्न सहायक ठेकेदारहरूले भवन निर्माणका विभिन्न कामहरूको जिम्मा पाएका थिए । सहायक ठेकदारहरूले २ वर्ष नौ महिना लगाएर भवन हस्तान्तरण गरेका थिए ।

तर, भवन निर्माणमा संलग्न सहायक ठेकदार, सप्लायर्स र मजदुरले जिम्मेवारी पूरा गरेको ९ महिना बितिसक्दा पनि भुक्तानी पाएका छैनन् ।

सहायक ठेकदार शिवाकोटीका पटकपटक ताकेता गर्दा पनि क्वेस्टले भुक्तानी गर्न आनाकानी गरेको छ । उनका अनुसार, निर्माणमा जोडिएका सेनादेखि ठेकेदारसम्मले एकले अर्कोलाई देखाएर अल्झाउँदै आइरहेका छन् ।

‘निर्माण जिम्मा दिने क्वेस्टसँग भुक्तानी माग्न जाँदा हामीले नै पाएका छैनौं, कहाँबाट दिनु भन्छ । मुख्य ठेकेदार र सेनासँग दुःख बिसायो भुक्तानी भइसक्यो भन्छ,’, शिवाकोटीले अनलाइनखबरसँग भने, ‘यताबाट उता देखाएर हैरान पारे । हामी कहाँ जाऔं ?’

सहायक ठेकदार, सप्लायर्स तथा मजदुरहरूले आफूहरूमाथि अन्याय भएको भन्दै सहयोगका लागि सबैलाई अपिल गरेका छन् ।

तस्वीर  : आर्यन धिमाल /अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment