Comments Add Comment

नेपाल भ्रमण वर्ष सफल पार्ने सूत्र : भारतीय बजार चिनौं

पर्यटनका दृष्टिकोणले नेपालका लागि भारत सबैभन्दा ठूलो बजार हो । खुल्ला सीमा, धार्मिक, सांस्कृतिक, सामाजिक एवं राजनैतिक सुमधुर सम्बन्धबाट लाभ मिल्दै आएको छ । त्यसैले नेपालमा आउने पर्यटक मध्ये अधिक संख्या भारतीयकै हुन्छ । डेढ सय करोड जनसंख्या भएको भारतबाट अझै पर्यटक तान्न सकिन्छ ।

भारतीय पर्यटक नेपाललाई चिन्न, यहाँका धार्मिक, ऐतिहासिक, प्राकृतिक गन्तव्यको दर्शन, अवलोकन, भ्रमण गर्न आतुर रहन्छन् । तर नेपाल सरकार, सुरक्षा निकाय, भन्सार कार्यालय तथा आम जन समुदायले भारतीय पर्यटकसँग गर्ने व्यवहार र दृष्टिकोणमा बक्रदृष्टि राखेको पाइन्छ ।

गोरो छाला भएका मानिस मात्रै पर्यटक हुन् भन्ने सोच अनि त्यसअनुसार गरिने ब्यवहारमा परिवर्तन आउनु जरुरी छ । पर्यटन क्षेत्रको दिगो बिकासका लागि सबै देशका पर्यटक र आन्तरिक पर्यटकसँग समेत समान ब्यवहार र आतिथ्यता अनि सत्कार गरिनुपर्छ ।

नेपालका लागि दोस्रो ठूलो पर्यटक बजार चीन हो । चीन कोरोना भाइरसको प्रकोपले आक्रान्त छ । भ्रमण वर्ष २०२० को लक्ष्य भेट्टाउनकै लागि भए पनि भारतीय बजारलाई विश्वासमा लिन झनै जरुरी देखिन्छ ।

तेस्रो मुलुकमा बडो तामझाम र सक्रियताका साथ नेपाल भ्रमण वर्षको प्रचार प्रसार एवं विविध कार्यक्रम भइरहेको देखिन्छ । नेपाल सरकारका पर्यटन मन्त्रालय होस् वा अन्य पर्यटनसम्बन्धी सरकारी, गैरसरकारी एजेन्सीहरुको ध्यान भारतीय बजारमा कम छ । बरु नागरिक स्तरबाट सञ्चालित ‘भिजिट मधेस’ अभियानको भारतीय टिमले भ्रमण वर्षको प्रचार प्रसार र भ्रमणका लागि निम्तो बाँडिरहेको छ ।

कृष्णनगरका युवा अभियन्ता अकरम पठानका अनुसार कृष्णनगर हुँदै स्वर्गद्वारी जाने भारतीय पर्यटकहरुलाई सरकारले ब्यवस्थित र सहज प्रवेश गराउन सकेको छैन । त्यसो गर्न सकेको खण्डमा कृष्णनगर नाकाबाट मात्रै वर्षेनी पाँच लाखभन्दा बढी भारतीय पर्यटक भित्र्याउन सकिन्छ । नेपालगञ्जका युवा उद्यमी आशीष गुप्ता कैलाश मानसरोवर जाने यात्रुलाई पनि विशेष सुबिधा उपलब्ध गराउनुपर्ने बताउँछन् । त्यसो गर्दा नेपालगञ्ज नाकाबाट थप भारतीय पर्यटक नेपाल भित्रिन्छन् ।

तराई-मधेस नेपालको प्रमुख प्रवेशद्वार हो । पर्यटन प्रवर्द्धनका लागि खुल्ला सीमाको अधिकतम सदुपयोग गर्न सक्नुपर्छ । यसबाट नेपालको पर्यटन क्षेत्र मात्रै होइन, मुलुकको विकास र समृद्धिका लागि हरेक पाटोमा सकारात्मक टेवा पुग्न सक्छ ।

भारतीय पर्यटकलाई आकषिर्त गर्न तत्कालै सरकारले केही काम गर्नुपर्ने देखिन्छ ।

  • भारतीय गाडीको भन्सार प्रक्रिया सहज बनाइनुपर्छ ।
  • एक वर्षमा एउटा भारतीय गाडीको ३० दिन मात्र भन्सार हुन सक्ने प्रावधन तत्काल सच्चाउनुपर्छ । र यसलाई बढाउनुपर्छ
  •  भारतीय पर्यटकका सवारी साधनलाई नाकामा चेकजाँच गरिसकेपछि ‘पर्यटक’ लेखिएको स्टिकर टाँसेर निर्वाध सञ्चालन गर्न पाउने प्रावधान ल्याउनुपर्छ
  • पर्यटन वर्षमा पर्यटन, होटेल ब्यवसायीहरुले विशेष प्याकेजसहित छुट सुविधा दिनुपर्छ ।
  •  भारतीय पर्यटकहरुसँग हुने दुव्र्यवहार र भेदभाव न्यूनीकरणको लागी ठोस पहल राज्यबाट हुनुपर्छ ।
  •  सुरक्षा ग्यारेन्टीको अनुभूति गराउनुपर्छ ।
  • भारतमा रहेका नेपालीहरुलाई ‘एक नेपाली एक भारतीय परिवार’ चुल्हे निम्तो गर्न सरकार तथा भ्रमण वर्ष २०२० को टोलीले उत्प्रेरित गर्नुपर्छ ।
  • भारतस्थित कूटनीतिक नियोगका कार्यालयहरुले भारतका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुलाई नेपाल भ्रमणका लागि प्राथमिकताका साथ निम्तो दिनुपर्छ ।
  • ‘अतिथि देव भवः’ नारालाई भारतका हरेक प्रदेशमा गुञ्जायमान गर्न पहल गरिनुपर्छ ।
  • तेस्रो मुलुकमा जस्तै भारतमा पनि नेपालका मन्त्री लगायत उच्चपदस्थ अधिकारीहरु नेपाल भ्रमण सम्बन्धी कार्यक्रम लिएर जानुपर्छ ।
  • नेपालका हरेक प्रवेशद्वारहरुमा स्वागत बोर्ड, पर्यटक हेल्प डेस्क सञ्चालन गर्नुपर्छ । पर्यटकीय गन्तव्यहरुको जानकारी दिन सक्ने वातावरण निर्माण गर्नुपर्छ ।

यी तमाम कार्यहरुमा गम्भीरताका साथ सम्पन्न गर्नसके भारतीय पर्यटकको लागि पर्यटक मैत्री वातावरण निर्माण हुन सक्छ । सँगसँगै नेपाली शक्तिपीठहरुलाई भारतका शक्तिपीठसँग सर्किट बनाएर पस्किन सक्नुपर्छ । जस्तै- बुद्ध सर्किट, रामायण सर्किट, महाभारत सर्किट । यस्ता सर्किटहरुको माध्यमले भारतीय धार्मिक पर्यटकलाई नेपालतर्फ लोभ्याउन सकिन्छ । भारतका शिवधामहरुलाई नेपालको शिवालयसँग जोडेर सर्किट निर्माण गर्न सकिन्छ ।

त्यसबाहेक प्रचार-प्रसारमा आइसकेका गन्तव्यबाहेक ओझेलमा रहेका तर प्रचुर सम्भावना बोकेका नयाँ गन्तव्यहरुको प्रवर्द्धन गर्नुपर्ने जरुरी देखिन्छ । खासगरी तराई मधेसका पर्यटकीय गन्तव्यहरु ओझेलमा छन् । बिराटनगरको पुरातात्विक धरोहर बिराट दरवारका अवशेष, बेतना सिम्सार क्षेत्र, सुनसरीस्थित बराह क्षेत्र, रामधुनी, दन्तकाली, बुढासुब्बा, कोशीटप्पु, सप्तरीको कोशी ब्यारेज, छिन्नमस्ता भगवती, कंकालिनी मन्दिर, उदयपुरको प्राकृतिक ताजमहललाई चिनाउनुपर्छ ।

त्यस्तै सिरहाको सलहेश मन्दिर र फूलवारी, धनुषाको जानकी मन्दिर, धनुषाधाम, सतोसर मन्दिर, महोत्तरीको जलेश्वर धाम, भागेश्वर कुटी, सर्लाहीको नाडीमन ताल, मुर्तिया, रौतहटको बारहवा ताल, शिव मन्दिर, राजदेवी मन्दिर, नुनथर क्षेत्र, बाराको महागढिमाई, सिम्रोनगढ, बारागढी, काटघाट, पर्साको पर्सा राष्ट्रिय निकुञ्ज, घडिअर्वा पोखरी, ठोरी उपत्यका, पर्सागढी, घण्टाघर, शंकराचार्य गेट, पारसनाथ मन्दिर, मकवानपुरको चित्लाङ, ईन्द्रसरोवर, मकवानपुरगढी, सहिद स्मारक, चितवनको थारु संस्कृति, चितवन राष्ट्रिय निकुञ्ज, बीस हजारी ताल, नारायणी किनार, गङ्गा आरती, नवलपरासीको सास्वतधाम, त्रेवेणी, दाउन्ने मन्दिर, कपिलवस्तुको तिलौराकोट, अजिंगरा ताल, किसान आन्दोलन स्तुफा, तौलेस्वर मन्दिर, बान गङा, बाँकेको बाँके राष्ट्रिय निकुञ्ज, बागेश्वरी मन्दिर, बर्दियाको बर्दिया निकुञ्ज, ठाकुरद्वारा, कैलालीको घोडाघोडीताल, टीकापुर पार्क, कञ्चनपुरको शुक्लाफाँट राष्ट्रिय निकुञ्ज, ब्रम्हस्थान, लिङा लगायतका नयाँ गन्तव्यहरु पस्कन सक्नुपर्छ ।

यसो गरियो भने भारतीय लगायत अन्य देशहरूका पर्यटकहरु आकषिर्त हुन सक्छन् । यसरी नविन गन्तव्यहरुको भ्रमण गर्नेहरुको नेपाल बसाइको अवधिसमेत बढ्न सक्छ ।

(सर्राफ, भिजिट मधेस अभियान नेपालका संयोजक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment