Comments Add Comment

जब बद्री पंगेनीले मञ्चमै नेकपा सांसद्लाई भ्रष्टाचार नगर्ने कसम खुवाए

१४ फागुन, डोटी । सांसद् तथा मन्त्रीहरूले कार्यभार सम्हाल्नुअघि नै निष्ठापूर्वक काम गर्ने शपथ खाएका हुन्छन् । तथापि, उनीहरूका पदीय मर्यादाविपरीतका घटना सार्वजनिक हुन छाडेका छैनन् । यहीबीच, कलाकार बद्री पंगेनीले प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेलाई सार्वजनिक मञ्चमै भ्रष्टाचार नगर्ने कसम खुवाएका छन् ।

डोटी चेम्वर अफ कमर्सद्वारा आयोजना गरिएको सुदूरपश्चिम प्रादेशिक महोत्सवको समापन सभाको प्रमुख अतिथि रहेका सांसद् आलेलाई कलाकार पंगेनी भ्रष्टाचार नगर्ने कसम खुवाएका हुन् ।

गीत गाउन निम्त्याइएका बद्रीले प्रमुख अतिथिका रूपमा आसीन आलेलाई मञ्चबाटै भने, ‘डोटीको विकासका लागि जनताले तपाईंलाई चुनेका छन्, विकास गर्नु तपाईंको जिम्मेवारी हो । तर अहिले विकासभन्दा महत्त्वपूर्ण सुशासन बनेको छ । त्यसैले भ्रष्टाचार नगर्ने बाचा गर्न म अनुरोध गर्छु ।’

आफ्नो मन्तव्यको क्रममा सांसद् आलेले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको बचाउ गर्ने संकेतको अभिव्यक्ति दिएका थिए । बद्रीले आफू बास्कोटालाई अहिल्यै निर्दोष भन्न सक्ने अवस्थामा नरहेको बताउँदै भने, ‘म बास्कोटाका लागि भोट माग्न गीत गाउँदै हिँडेको थिएँ, तर आज उहाँको ७० करोडको कुरा बाहिर आउँदा लज्जित भएको छु ।’

चुनावताका आलेका लागि पनि भोट माग्न डोटी आएको स्मरण गर्दै उनले आफूले डोटेली जनताको नजरमा लज्जित हुनु पर्ने अवस्था नआओस् भन्न चाहेको बताए ।

बद्रीको आग्रहपछि सांसद् आले मञ्चमा उभिए र हात जोड्दै भने, ‘आदरणीय डोटीबासी आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीहरु, म भ्रष्टाचार गर्ने छैन र अरुलाई पनि भ्रष्टाचार गर्न दिने छैन ।’

सांसद आलेको यो बाचासँगै दर्शकहरुले गड्गडाहट ताली बजाए । आलेले डोटी जिल्लाको विकासका लागि आफू सधैं सक्रिय रहने कसमसमेत खाए । उनले धनगढी–खुटीया–बिपीनगर–दिपायल फाष्ट ट्र्याकको काम तत्काल अगाडि बढ्ने आश्वासनसमेत दिए । आफूले चुनावको बेला जनतासँग गरेका बाचाहरु आफ्नो कार्यकालमा पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाए

आमाहरुले आँसु थाम्न सकेनन्

कार्यक्रममा बद्री पँगेनीले वेदनाका गीतसमेत गाए । उनको गीत सुनेर दर्शकहरु भावुक पनि बने ।

‘बाध्य भइयो प्रदेशमा छिर्न, आमा मैले पढ्दा लाएको ऋण तिर्न
आमा बिदा पाउँदिन, अहिलेको दशैंमा आमा घरमा आउँदिन…’

मञ्चमा बद्रीले यो गीत गाउँदै गर्दा दर्शकहरुको भिडमा उभिएर बद्रीलाई हेर्दै गीत सुन्दै गरेकी ६० वर्षीया काली नेपाली रुन थालिन् । बद्री उनकै छेउमा पुगे । उनले गीत मार्फत नै नरुन आग्रह गरे । काली नेपाली झन् भक्कानिइन् र बद्रीलाई अंगालो हान्दै रोइरहिन् ।

कालीका छोरा टीका नेपाली रोजगारीको सिलसिलामा बिगत आठ वर्षदेखि भारतमा छन् । चाडपर्वमा सधैं छोराको बाटो हेर्दा पनि नआउने गरेको भन्दै उनले भनिन्, ‘यो गीत मेरो आफ्नै जीवनको जस्तो लागेर रोएँ ।’

कालीमात्रै होइन, बद्रीले यो गीत गाइरहँदा मञ्चमा बसेकी दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले समेत आँसु थाम्न सकिनन् । दर्शक महिला–पुरुषका साथसाथै अन्य अतिथिहरुका पनि आँखा रसाए ।

बद्रीले स्वदेशमै रोजगारी सिर्जना गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । उनले भने ‘यी आमाहरु आफन्तहरुसँग वर्षौंदेखि टाढा बस्दाको पीडाले रोएका हुन् । उनीहरुका आफन्तहरु रहरले होइन, बाध्यताले मुग्लान पसेका छन् ।’

उनले नगर प्रमुख मलासीलाई आग्रह गर्दै भने ‘तपाईं आफै महिला हुनुहुन्छ, पहुँचमा हुनुहुन्छ, यी दिदी–बहिनीहरुका आँसुु पुछ्ने गरी काम गरिदिनुहोस् ।’

फागुन १ गतेदेखि सञ्चालन भएको उक्त महोत्सव मंगलवार समापन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment