Comments Add Comment

इटालीमा कोरोना संक्रमण दर २५ प्रतिशतले वृद्धि

ज्यान गुमाउनेको संख्या १२ पुग्यो, ४ सय संक्रमित

१५ फागुन, काठमाडौं । चीन हुँदै युरोपका देशमा फैलिएको कोरोना भाइरसको संक्रमण दर वृद्धि भएको छ ।

कोरोना नियन्त्रणका लागि विश्वव्यापी प्रयास भइरहेका बेला युरोपका इटाली, अस्ट्रिया, क्रोएशिया, ग्रिस, नर्वे र स्विट्जरल्यान्डमा संक्रमण फैलिएको हो ।  त्यस्तै, स्पेन, जर्मनी र फ्रान्समा पनि कारोनाका बिरामी भेटिएका छन् ।

विश्व स्वास्थ्य संगठनले चीनबाहिर तीव्र गतिमा कोरोना भाइरस फैलन थालेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

इटली सबैभन्दा बढी प्रभावित

युरोपतर्फ कोरोनाबाट सबैभन्दा बढी इटली प्रभावित भएको छ । बीबीसीका अनुसार, यहाँका १२ मानिसले ज्यान गुमाइसकेका छन् भने ४ सय मानिस संक्रमणमा परेका छन् ।

कोरोना नियन्त्रणका लागि विश्वव्यापी प्रयास भइरहेका बेला इटलीमा संक्रमण दर बढेको हो । बीबीसीका अनुसार मंगलबार रातिसम्म इटलीका ३२० मानिस यसबाट संक्रमित रहेकोमा बुधबार ४ सय पुगेको छ । अघिल्लो दिनको तुलनामा यो संक्रमण २५ प्रतिशतले बढी भएको इटलीका सरकारी अधिकारीहरूले जनाएका छन् ।

बीबीसीका अनुसार, इटलीको उत्तरी भेगमा पर्ने लोम्बार्डी र भेनेटोमा कारोनाको प्रभाव बढी देखिएको छ ।

कारोना संक्रमण फैलिएपछि त्यहाँको सरकारले शैक्षिक संस्थालगायतमा सार्वजनिक बिदा दिएको छ ।

भाइरस फैलिएपछि इटलीमा त्रास बढेको छ । तर सरकारी अधिकारीहरूले नियन्त्रण प्रयास भइरहेको भन्दै आश्वस्त गराउने प्रयास गरिरहेका छन् ।

यहीबीच युरोपेली संघका स्वास्थ्य मामिलाकी एक आयुक्तले इटलीको स्वास्थ्यमन्त्रीसँग भेटघाट गरेकी छन् । भेटघाटका क्रममा उनले कोरोना संक्रमण चिन्ताको विषय भएको उल्लेख गर्दै नआत्तिन सुझाव दिएकी छन् ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार, भाइरस संक्रमणका कारण बुधबार बिहानसम्ममा विश्वभर २८०१ जना मानिसको ज्यान गएको छ । चीनमा मात्रै २७४४ ले ज्यान गुमाएका छन् । विश्वभरका कोरोना संक्रमितको संख्या भने ८२ हजार २७ छ ।

कोरोना संक्रमित रिकभर हुने क्रम पनि बढिरहेको छ । साउना चाइना मर्निङ पोस्टले जनाएअनुसार, ३३ हजार २ सय ६ जना मानिस स्वास्थ्य लाभ गरेर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment