Comments Add Comment

नेपाल एयरलाइन्सको नारिता उडानमा औपचारिक कार्यक्रम नहुने

१८ फागुन, काठमाडौं । नेपाल एयरलाइन्सले जापानको नारितामा सोमबारबाट उडान थाल्दैछ । सोमबार बिहान साढे १ बजे त्रिभुवन विमानस्थलबाट नेपाल एयरलाइन्सको वाइडबडी जहाज नारिता उड्दैछ ।

यो उडानका दौरान कुनै पनि प्रकारको औपचारिक कार्यक्रम आयोजना नगर्ने निर्णय पर्यटन मन्त्रालयले गरेको छ । पछिल्लो समय जापानमा समेत कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेको छ ।

यसअघि जापानकै ओशाकामा उडान गरिरहेको नेपाल एयरलाइन्सले ओशाका उडान बन्द गरी नारितामा उडान शुरु गर्न लागेको हो । नेपाल एयरलाइन्स स्रोतका अनुसार पहिलो उडानमा काठमाडौंदेखि करिब डेढ सय यात्रु बोकेर जहाज नारिता उड्नेछ ।

नारिताबाट भने काठमाडौं आउने यात्रु भरिभराऊ छन् । जहाजले पूर्ण क्षमतामा यात्रु बोकेर काठमाडौं आउनेछ । नारिता-काठमाडौं उडानमा २७४ वटै सीट फूल रहेको निगमका एक कर्मचारीले जानकारी दिए ।

नेपाल एयरलाइन्सले काठमाडौं-नारिता एकतर्फी भाडा ३७ हजार रुपैयाँ तोकेको छ । प्रारम्भमा प्रवर्द्धनात्मक भाडादर एकतर्फी ३७ हजार तोकिएको नेपाल एयरलाइन्सले जानकारी दिएको छ । यो विमानस्थल जापानको राजधानी टोकियो नजिकै रहेको छ । काठमाडौंबाट सातामा तीन दिन जापानका लागि सिधा उडान हुने भएको छ ।

यो रुटमा एयरवसको वाइडबडी जहाज ए३३० जहाज उड्नेछ । सोमबार, बुधबार र शुक्रवार काठमाडौंबाट बिहान १ बजेर २५  मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उड्ने छ । सो विमान सोही दिन अपरान्ह ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गर्नेछ ।

हालका लागि प्रवर्द्धनात्मक भाडाडर काठमाडौंबाट नारिताका लागि एकतर्फी रु.३७ हजार र दुईतर्फी भाडा रु.७३ हजार निर्धारण गरिएको कम्पनीले जनाएको छ । यसका साथै विजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५/२५ केजी का २ वटा ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३/२३ केजीका २ वटा व्यागेज सुविधा पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment