Comments Add Comment

विश्व स्वास्थ्य संगठनले कोरोनाको उच्च जोखिममा नेपाललाई किन राख्यो ?

जनस्वास्थ्य विज्ञको सुझाव : बढी जोखिम भएकाहरुलाई सरकारले ध्यान देओस्

कोरोना भाइरसको जोखिममा रहेकालाई राख्नका लागि भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइन ।

१९ फागुन, काठमाडौं । गत शुक्रबार पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभाको राष्ट्र संघीय कार्यक्रम सकेर रुसी महासंघ एवं गणतन्त्र सर्वियाको औपचारिक भ्रमणबाट फर्किँदै थिए । बिहान १० बजे विमानस्थल ओर्लिएका मन्त्री ज्ञवालीले त्यहाँ स्वास्थ्य जाँच गर्ने हेल्थ डेस्कमा राम्रोसँग जाँच नभएको देखे ।

जाँच गर्न इच्छा हुनेहरु थर्मल स्क्यानरमा जाँच गराउन गएका थिए भने ईच्छा नहुनेहरु जाँचै नगराई विमानस्थलबाट बाहिरिएका थिए । त्यो दृश्य देखेका मन्त्री ज्ञवालीले विमानस्थलमा राम्रो जाँच नभएको भन्दै प्रधानमन्त्रीलाई जानकारी गराए ।

मन्त्री ज्ञवालीले जस्तै विमानस्थलको हेल्थ डेस्कले प्रभावकारीरुपमा काम नगरेको भन्दै गुनासो गर्नेहरु धेरै छन् । जसले के प्रष्ट पार्छ भने कोरोना संक्रमण भएका मानिसहरु विमानस्थलबाट देशमा सजिलै छिर्न सक्छन् ।

डब्लुएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) डेढ महिनाअघि ‘नेपाल लगायत दक्षिण एसियाली देशहरु कोरोनाको उच्च जोखिममा छ’ भन्दै गर्दा चीनमा कोभिड १९ को महामारी भर्खर सुरु भएको थियो । डब्लुएचओले हेल्थ इमर्जेन्सी घोषणा गरेको थिएन । चीनबाहेक अन्य देशहरु कोरोनामुक्त नै थिए ।

डेढ महिनापछि पनि डब्लुएचओले नेपाल लगायतका देशहरुलाई ‘कोरोनाको उच्च जोखिम भएको’ भनिरहेको छ । तर, यतिबेला पहिलेभन्दा धेरै माहोल परिवर्तन भएको छ । यो समाचार तयार पार्दासम्म ६५ भन्दा बढी देशमा कोरोना फैलँदा ३ हजार ४८ जना भन्दा बढी मानिसको मृत्यु भएको छ ।

नेपाल लगायतका देशहरुलाई उच्च जोखिममा राख्नुको कारण दिँदै डब्लुएचओले त्यतिबेला भनेको थियो, ‘थोरै जमीनमा धेरै जनसङ्ख्या, अव्यस्थित स्वास्थ्य सेवा र कमजोर जनचेतना ।’

डब्लुएचओले भनेझैं नेपालमा कोरोनाको महामारी फैलियो भने न त आइसोलेसनका लागि अस्पतालमा बेड तयार छ, न त क्वारेण्टाइनस्थल नै । यही डर बोकेका नेपालका स्वास्थ्यकर्मीहरु ‘सरकारको कमजोर तयारीका बाबजुद स्वास्थ्यसेवामा खटिँदा ज्यान नै जोखिम होला कि भन्ने डर भइसक्यो’ भनिरहेका छन् ।

‘एकमात्र प्रयोगशालामा पनि पर्याप्त किट नहुनु, स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका लागि मास्क, चस्मा र गाउनलगायतका उपकरणहरु नहुनु र, अस्पतालमा आइसोलेसनका लागि बेडको अभाव हुनु स्वास्थ्यकर्मी कोरोनाबाट डराउनुजस्ता कारणहरु हुन् ।

स्वास्थ्य सेवामा लामो समय खटिएका चिकित्सकहरु नै भन्छन्, ‘विमानस्थलको कमजोर व्यास्थापन नै नेपालमा कोरोना भित्र्याउने कारण बन्न सक्छ ।’

उनीहरु यसका २ वटा आधार प्रस्तुत गर्छन् ।

पहिलो– विमानस्थलमा स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको हेल्थ डेस्कमा जम्मा ११ जना स्वास्थ्यकर्मीले मात्र काम गरिरहेका छन् । विमानस्थलमा शनिबारसम्म तीन सिफ्टमा चीन, थाइल्याण्ड, जापान, कोरिया र हङकङबाट आउने व्यक्तिहरुको मात्र स्क्रिनिङ गरिँदै आइएको थियो ।

सरकारले आइतबारबाट सबै मुलुकबाट आउने– जाने यात्रुको स्वास्थ्य परीक्षण गरिने बताएको छ । विमानस्थलबाट दैनिक ५ देखि ६ हजार स्वदेशी तथा विदेशीहरु नेपाल भित्रिने गरेको अध्यागमन विभागको तथ्यांक छ । तर, हेल्थ डेस्कमा कर्मचारीको अभाव त छँदैछ सँगसँगै स्वास्थ्य जाँच गर्नका लागि थर्मल स्क्यानर पनि पर्याप्त छैन ।

विमानस्थल हेल्थ डेस्कका संयोजक गोपाल पाण्डेका अनुसार हाल ११ जना कर्मचारीले तीन सिफ्टमा काम गरिरहेका छन् । सबै देशबाट आउने यात्रुको स्क्रिनिङ गर्न ४ सिफ्टमा स्वास्थ्यकर्मी खटाउनुपर्ने र हरेक सिफ्टमा कम्तीमा पनि ७ जना स्वास्थ्यकर्मी आवश्यक पर्ने संयोजक पाण्डे बताउँछन् । भन्छन्, ‘हामीले मन्त्रालयसँग स्वास्थ्यकर्मी मगाएका छौँ, भरेसम्ममा आइपुग्छन् कि ।’

पाण्डेका अनुसार सोमबारबाट इन्फारेड थर्मोमिटरले विमानस्थलमा आउजाउ गर्ने यात्रुको स्वास्थ्य जाँच सुरु गरिएको छ । थर्मल स्क्यानरमा धेरैको गुनासो आएपछि इन्फारेड थर्मोमिटरबाट जाँच सुरु गरिएको हो । पाण्डे भन्छन्, ‘इन्फारेड थर्मोमिटरबाट लाइनमा राखेर १/१ जनाको जाँच गरिन्छ, सोही कारण इन्फारेड थर्मोमिटरबाट जाँच गर्दा ढिलो हुन्छ ।’

दोस्रो आधार — विमानस्थलको हेल्थ डेस्कमा यात्रुलाई ज्वरो भए/नभएको पत्ता लगाउन जडान गरिएको एउटा ‘थर्मल स्क्यानर’ बिग्रिएको एक महिना हुन लाग्दा पनि मर्मत गरिएको छैन । सरकारले सबै देशमा आउने/जाने यात्रुको स्वास्थ्य जाँच गर्ने बताइरहँदा विमानस्थलमा एउटा स्क्यानर मात्र चलिरहेको छ ।

जनशक्ति र कमजोर पूर्वाधार देख्नासाथ प्रश्न उठ्छ, ‘के विमानस्थलको जाँच प्रभावकारी हुन्छ त ?’

हेल्थ डेस्कका संयोजक पाण्डे भन्छन्, ‘जनशक्ति र उपकरण तत्काल नथपे जाँच प्रभावकारिता अत्यन्तै गाह्रो हुन्छ ।’

नेपालका यी र यस्तै अवस्था नियालिरहेको डब्ल्युएचओले नेपाललाई उच्च जोखिममा राखेको हो ।

उच्च जोखिममा राख्नुका अन्य कारणहरु

जनस्वास्थ्य वैज्ञानिक समीरमणि दीक्षितका अनुसार सरुवा रोगको संक्रमण हुने खतरा जति टाढाको देशलाई हुन्छ, त्यसको दोब्बर खतरा नजिकको देशलाई हुन्छ । चीन र नेपाल सडक र हवाई दुबै हिसाबले नजिक छन् । मानिसहरु ओहोर–दोहोर गर्न सहजरुपमा सीमाना जोडिएका कारणले पनि नेपाल खतरामा रहेको उनको भनाइ छ ।

सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषण डाक्टर पुन दीक्षितको तर्कलाई समर्थन गर्दै भिजिट नेपाल २०२० का कारणले पनि नेपाललाई डब्लुएचओले उच्च जोखिमका रुपमा राखेको बताउँछन् । भलै, सरकारले भिजिट नेपाल २०२० लाई स्थगन गर्ने निर्णय गरेको छ ।

डाक्टर पुनका अनुसार विश्वव्यापी बन्दै गएको कोरोना फैलन मानिसहरु ओहोर–दोहोरको कारणले पनि महत्वपूर्ण भूमिका खेल्छ । एउटै मान्छे विभिन्न देशको ट्रान्जिट बनाएर यात्रा गर्दा भाइरस सर्न सक्छ । २ देखि १० दिनको अवधिमा भाइरस संक्रमण हुने भएकाले विमानस्थलमा जति नै कडाइ गरे पनि संक्रमण भएको थाहा नहुन सक्छ । सोही कारण डब्लुएचओले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको डा. पुन बताउँछन् ।

जनस्वास्थ्य वैज्ञानिक दीक्षितका अनुसार डेढ महिनाअघि नै संक्रमण पुष्टि भइसकेको देशले यतिबेलासम्म केही भवितव्य आइलागे आइसोलेशनका लागि छुट्टै अस्पताल र क्वारेन्टाइनस्थल तयारी राखिसक्नुपर्ने थियो । चिकित्सकहरुका लागि अति आवश्यक उपकरण र सावधानीका लागि चस्मा, गाउन र मास्कजस्ता उपकरणको व्यवस्थापन गर्नुपर्थ्यो । तर, अहिलेसम्म १४४ वटा मात्रै आइसोलेसन बेडहरु तयारी पार्नुबाहेक अन्य काम नभएपछि सरकारको तयारी कमजोर भएको प्रष्ट बुझिन्छ ।

‘कमजोर पूर्वाधार र तयारीका कारणले पनि नेपाललाई डब्लुएचओले उच्च जोखिममा राखेको हो’ दीक्षित भन्छन्, ‘स्वास्थ्य र शिक्षा अवस्था कमजोर भएको देशमा जहिले पनि सरुवा रोगको महामारी फैलने सम्भावना बढी हुन्छ ।’

जुनसुकै बेला, जहाँ पनि, जेसुकै हुन सक्छ

ल्यानसेट जर्नलको पछिल्लो अनुसन्धानले चीनपछि इजिप्ट, अल्जेरिया र दक्षिण अफ्रिकामा कोरोना भाइरस (कोभिड १९) को महामारी फैलन सक्ने देखाएको थियो । तर, चीनपछि दक्षिण कोरिया, इरान र इटाली लगायतका देशहरुमा कोरोनाको संक्रमण उच्च देखियो । नेपाल, भारत लगायतका देश भन्दा युरोपियन देशहरु बढी संक्रमित भए ।

यो तथ्याकंले जुनसुकै बेला, जहाँ पनि, जेसुकै हुन सक्छ भन्ने संकेत दिएको विज्ञहरु बताउँछन् । नेपाल लगायतका दक्षिण एसियाली देशमा संक्रमित व्यक्तिको प्रवेश कम भएकाले संक्रमित नदेखिएको हुन सक्ने बताउँदै दीक्षित भन्छन्, ‘कतिपय संक्रमितहरु अस्पताल नपुगेका पनि हुन सक्छन्।’

डाक्टर पुनका अनुसार कोरोनाको कारण, नतिजा र फैलावट वैज्ञानिकले अनुमान गरेभन्दा बाहिर छ । नेपालीहरुको ‘इम्युनिटी पावर’ बढी भएको तर्क गलत भएको बताउँदै पुन भन्छन्, ‘अहिले नै त्यो भन्न सकिने अवस्था छैन, एकजनामा संक्रमण फैलिएमा राज्यले भयावह रोक्न सक्दैन।’

संक्रमित सबैको मृत्यु हुँदैन

विश्वव्यापीरुपमा कोरोना फैलिएपछि अहिले संसारभर कोरोनाको सन्त्रास छ । तर, सत्य के हो भने कोरोना संक्रमित भएका सबैजनाको मृत्यु हुँदैन । यो समाचार लेख्दासम्म विश्वभर ८९ हजार ३ जना संक्रमित भएकोमा ३ हजार ४८ जनाको मृत्यु भएको छ । त्यसैगरी ४४ हजार ८ सय ९५ जना संक्रमित भएर पनि ठीक भइसकेका छन् । यसले के प्रष्ट हुन्छ भने संक्रमित सबैको मृत्यु हुँदैन ।

पछिल्ला विभिन्न अनुसन्धान अनुसार मानिसको उमेर जति बढ्दै जान्छ कोरोनाको संक्रमणको कारण हुने मृत्युको खतरा त्यति नै बढी हुन्छ । ८० वर्ष माथिका १ सय जनालाई संक्रमण भएको छ भने मृत्यु हुने सम्भावना १५ प्रतिशत हुन जान्छ, अर्थात ८० वर्षमाथिका १०० जना संक्रमित भए भने १५ जनाको मृत्यु हुने सम्भावना हुन्छ ।

त्यसै गरी ६० देखि ७० वर्ष उमेर समूहको १०० जनालाई संक्रमण भयो भने मृत्युको सम्भावना ८ प्रतिशत हुन्छ । अर्थात यो उमेर समूहका १०० जनालाई संक्रमित भयो भने ८ जनाको मृत्यु हुन सक्छ ।

त्यसै गरी ४० देखि ५० वर्ष उमेर समूहका १०० जनालाई संक्रमण हुदाँ मृत्युको सम्भावना ४ प्रतिशत हुन्छ । त्यसै गरी २० देखि ३० उमेर समूहको १०० जनालाई संक्रमण हुँदा मृत्युको सम्भावना ०.५ प्रतिशत हुन्छ । त्यसै गरी २० भन्दा कम उमेर समूहका १०० जनलाई संक्रमण हुदाँ मृत्युको सम्भावना ०.१ प्रतिशत हुन्छ ।

अर्थात जति उमेर कम त्यति नै मृत्युको सम्भावना पनि घटेर जान्छ । ६० वर्ष भन्दा बढी र अन्य दीर्घरोग तथा श्वासप्रश्वाससम्बन्धी समस्या बोकेका मानिसहरु बढी सचेत हुनुपर्ने विभिन्न अनुसन्धानहरुको निष्कर्ष छ।

जनस्वास्थ्य विज्ञको सुझाव : बढी जोखिम भएकाहरुलाई सरकारले ध्यान देओस्

सरकारको अहिलेसम्मको तयारी हेर्दा कोरोनाको महामारी फैलिए सरकारले धान्न नसक्ने जन स्वास्थ्य विज्ञहरु बताउँछन् । यस्तो तयारी नपुगेको अवस्था विशेष गरी खतरामा रहेका उमेर समूहलाई सरकारले ध्यान दिनुपर्ने चिकित्सकहरुको तर्क छ ।

‘देशले तयारी पूरा नगरेको अवस्थामा जनता आफैं सचेत भएर घरमै क्वारेण्टाइनमा बस्दा पनि संक्रमणको डर कम हुन्छ’ डाक्टर दीक्षित भन्छन्, ‘यो बेला राज्यले ६० वर्षभन्दा माथि र श्वास प्रश्वास लगायतका अन्य गम्भीर दीर्घरोग भएका नागरिकहरुलाई पहिचान गरेर विशेष निगरानी र उपचार गर्नुपर्छ ।’

सरुवा रोग अस्पतालका डाक्टर पुन नागरिकहरुलाई कोरोनाबाट सुरक्षित रुपमा राख्न देशमा उपलब्ध स्वास्थ्यकर्मी, प्रयोगशाला, उपचारस्थल र संयन्त्र आदि संसाधन र जनशक्तिलाई अधिकतम जनताको हितमा हुने गरी व्यवस्थापन गर्नुपर्ने बताउँछन् ।

उनी भन्छन्, ‘योबेला नागरिक र सरकार दुबै पक्ष मिलेर उपलब्ध स्रोत साधनको व्यावस्थापन गरेर अघि बढ्नुको विकल्प नै छैन ।’

यो पनि पढ्नुहोस देशवासीलाई सरकारको अपील : विदेश भ्रमणमा नजानुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment