Comments Add Comment

छापामा आज : औषधिकै संक्रमणले बिग्रियो ३ जनाको मिर्गौला

२० फागुन, काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएको विषय आजका सबैजसो दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । कोरोना संक्रमणबाट बच्न सरकारले जारी गरेको ट्राभल एड्भाइजरी र सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् ।

जरुरी कामबाहेक विदेश नजान सरकारले गरेको आग्रहलाई कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । समाचार अनुसार, अतिप्रभावित ५ देशका नागरिकलाई अनअराइभल भिसामा प्रतिबन्ध लगाइएको छ ।

औषधिकै संक्रमणका कारण ३ जनाको मिर्गौला बिग्रिएको अर्को खबर पनि कान्तिपुरमा छ । प्रसूतिको शल्यक्रियाका क्रममा प्रयोग गरिएका दुई औषधिका कारण तीन महिलाको मिर्गौला फेल भएको कान्तिपुर समाचारमा उल्लेख छ ।

जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज (एनएमसी) शिक्षण अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग गरिएका औषधिका कारण संक्रमण भएको पुष्टि भएपछि औषधि व्यवस्था विभागले हालका लागि उक्त व्याचका औषधिको बिक्रीवितरण रोक्ने तयारी गरेको छ ।

कान्तिपुरका अनुसार गत फागुन ४ र ५ गते प्रसूतिका लागि शल्यक्रिया गरिएकामध्ये तीन जनामा एकै प्रकारको संक्रमण देखिएको थियो । संक्रमण देखिएसँगै अस्पताल प्रशासनले शल्यक्रियाकक्ष बन्द गरेर सरसफाइ गरेको थियो । यस्तै अस्पतालले संक्रमणको स्रोत पत्ता लगाउनका लागि शल्यक्रियामा प्रयोग भएको औषधिलगायत सबै वस्तु , औजार तथा शल्यक्रियाकक्षबाट नमूना संकलन गरेर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानबाट त्यहाँ प्रयोग गरिएको व्याक्टेरियाको संक्रमणविरुद्ध उपयोग हुने मेट्रोनिडाजोल सस्पेन्सन र रिंगर ल्याक्टेट नामक सलाइनमा खराबी रहेको पत्ता लागेको छ ।

नयाँ पत्रिकाले कोरोना संक्रमणसँग जुध्न भए/गरेका गृहकार्यमाथि नजर लगाएको छ । समाचार अनुसार, यसबारे निर्णय धेरै भए पनि गृहकार्य थोरै भएका छन् ।

संक्रमण रोक्ने होइन, धूलो छेक्ने मास्कको पनि नेपाली बजारमा अभाव छ । त्यस्तै आइसोलेसन वार्डको व्यवस्था अझै हुन सकेको छैन । आवश्यक परे क्याबिनलाई नै वार्ड राख्ने तयारी गरिएको छ । समाचार अनुसार उपचार गर्दा स्वास्थ्यकर्मीले लगाउने कवज पनि पाँच सय मात्र छ ।

राजधानीले राष्ट्र बैंकले कर्जा खुकुलो पार्दै लगेको समाचार छापेको छ भने अन्नपूर्णले प्रधानमन्त्री अस्पताल भर्ना भएको विषयलाई नै मुख्य समाचार बनाएको छ । ५ देशमा उडान रोक्न सर्वोच्चले जारी गरेको अन्तरिम आदेशलाई पनि अन्नपूर्णले समेटेको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रनटपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment