Comments Add Comment

ती भाग्यमानी व्यक्ति, जसलाई दुईवटा परमाणु बमले पनि मार्न सकेन

Photo Credit : Jemal Countess/WireImage

काठमाडौं । दुनियामा केही यस्ता अनौठा तथा अकल्पनीय घटना र पात्रहरु हुन्छन् जसका बारेमा थाहा पाउँदा आश्चर्यले जिब्रो टोक्नुको विकल्प रहँदैन ।

एक निमेषमा लाखौँ मानिसको ज्यान लिन सक्ने विनाशकारी परमाणु बम भन्नेबित्तिकै यसलाई मानव सभ्यताको सबैभन्दा क्रूर शत्रु मान्दा हुन्छ । विश्वयुद्धका क्रममा दुईवटा परिमाणु बम अमेरिकाले जापानमा खसाल्दा हजारौँ मानिस मरे । तर केही मानिस यस्ता अजम्बरी निस्किए जो दुवै परमाणु बम आक्रमण भएको ठाउँमा हुँदासमेत दुवै पटक बाँच्न सफल भए । अर्थात् लाखौँको ज्यान लिएका ती परमाणु बमले उनलाई मार्न सकेन ।

सुतोमु यामागुची नामका व्यक्ति सायद दुनियाका एकमात्र यस्ता व्यक्ति हुन् जो दुई–दुईपटक परमाणु बमको आक्रमणमा पर्दा समेत बाँच्न सफल भए ।

दोश्रो विश्वयुद्धका क्रममा सन् १९४५ को अगष्टमा अमेरिकाले हिरोसिमा र नागासाकीमा ३ दिनको अन्तरमा परमाणु बम खसालेको थियो । अगष्ट ६ को दिन हिरोसिमामा परमाणु बम खस्दा यामागुची हिरोसिमामै थिए । त्यसको ३ दिनपछि नागासाकीमा अर्को परमाणु बम खस्दा समेत उनी नागासाकीमै पुगेका थिए । उनको अहोभाग्य तथा चमत्कार नै भन्नु पर्दछ दुवै घटनामा उनी जिवितै रहन सफल भए ।

दुईवटा परमाणु बमले समेत मार्न नसकेका यामागुची अन्ततः अजम्बरी भने रहन सकेनन् । क्यान्सर रोगबाट पीडित भएका उनी ९३ वर्षसम्म बाँचे र सन् २०१० मा उनको मृत्यु भयो ।

२९ वर्षका जलसैन्य इन्जिनियर यामागुची आफ्नो कम्पनीको तर्फबाट ३ महिनाको लागि हिरोसिमामा काममा खटिएका थिए । अगष्ट ६ मा उनी आफ्नो कार्यकाल सकेर फर्किने तयारीमा थिए । विडम्बना सोही दिन अमेरिकाले हिरोसिमामा परमाणु बम खसाल्यो ।

बिहानको सवा आठ बजेको समयमा उनी आफ्नो मित्सुबिसी कम्पनीको जहाजबाट बन्दरगाहतर्फ जाँदै थिए । त्यहीबेला उनले आकाशमा बम वर्षक विमान देखे । क्षणभरमै उनीभन्दा झण्डै २ माइल पर बम खस्यो र तत्कालै आकाशमा आगोको ज्वाला फैलियो । उनी तत्कालै नजिकैको एउटा खाडलमा हाम फालेका मात्र के थिए निकै शक्तिशाली झट्का तरंग आएर उनलाई खाडलबाट थुतेर हावामा उडायो । हावामा केहीबेर फनफनी घुमाएपछि उनी नजिकैको आलु बारीमा बज्रिए । सायद त्यतिबेलासम्म उनी बेहोस भैसकेका थिए । जब आँखा खोले तब जताततै अन्धकार थियो । फिल्म हलमा फिल्म सुरु हुन लागेको अवस्था जस्तो उनलाई महसुस भयो । उनको जिउ नराम्रोसँग डढेको थियो भने दुवै कानका जाली फुटेका थिए ।

उनी त्यहाँबाट हिँडेर आफ्नो मित्सुबिसीको बन्दरगाह स्थलसम्म पुगे । त्यहाँ उनका दुईजना साथीहरु जीवितै रहेछन् । त्यो रात तीनैजनाले खुल्ला आकासमुनि बिताए । अर्को बिहान जलिरहेका भग्नावशेष पार गर्दै तथा बगिरहेका लासहरु पन्छाउँदै पौडी खेलेर नदी पार गरी रेल स्टेसनमा पुगे । अनि रातभरको रेलयात्रा गरी अगष्ट ८ को बिहान आफ्नो गृहनगर नागासाकी पुगे र अस्पतालमा भर्ना भए उपचारको लागि ।

अस्पतालमा प्रारम्भिक उपचारपछि उनी घर फर्किए । आफ्नो घर नागासाकी बल्लतल्ल पुगेर पत्नी र छोराछोरीसँग भेटेसँगै उनलाई उनको अफिसबाट बोलावट भयो मिटिङका लागि । उनले अफिस पुगेर हिरोसिमाको घटनाबारे बताए । तर उनले गरेको दर्दनाक बयान पत्याउने कोही थिएन । यामागुचीले हिरोसिमा घटनाको बारेमा कार्यालयमा बताइरहेको बेला बाहिर एक्कासी धुवाँको मुस्लोले पूरै वातावरण ढाकियो । शक्तिशाली तरंग सहितको झट्काले कार्यालयका झ्यालहरु फुटाउँदै भित्र छिरेर सबैलाई भुइँमा नराम्रोसँग थेचार्यो ।

वास्तवमा ९ अगष्टको त्यो बिहान अमेरिकाले नागासाकीमा पनि परमाणु बम खसालेको थियो । हिरोसिमाको परमाणु बमबाट बँचेका यामागुचीले तीन दिनको अवधिमा नागासाकीमा पनि परमाणु बमको आक्रमण झेल्नुपर्यो ।

उनको कार्यालय परमाणु बम खसेको क्षेत्रभन्दा झण्डै दुई माइल टाढा थियो । भाग्यवस उनी बाँच्न त बाँचे तर दोश्रो पटक परमाणु बमको खतरनाक विकीरण झेल्नुपर्यो । जसका कारण पछि उनलाई क्यान्सर भयो ।

हिरोसिमा र नागासाकीका दुवै परमाणु बम झेल्ने उनी एकमात्र आधिकारिक मानिस हुन् । आधिकारिक यस अर्थमा कि सन् २००९ मा जापान सरकारले उनलाई ‘निजुयु हिबाकुसा’ पदवी दियो । जसको अर्थ ‘दोहोरो बम आक्रमणमा परेको मानिस’ भन्ने हुन्छ ।

यद्यपि हिरोसिमा र नागासाकीका दुईवटै परमाणु बम भोग्ने मानिसहरु झण्डै १ सय ६५ जना रहेको बताइन्छ ।

यी भाग्यमानी यामागुचीले परमाणु बमका दर्दनाक कथा समेटेर विभिन्न कविताहरु पनि लेखे । उनले आणविक हमलाका क्रममा आफूले भोगेका कथाहरु समेटेर संस्मरण पनि लेखे र आणविक हतियार विरोधी अभियानमा समेत सामेल भए । सन् २००६ मा उनले आणविक निःशस्त्रीकरण सम्बन्धमा संयुक्त राष्ट्रसंघ बैठकमा भाषण दिए ।

अन्ततः सन् २०१० मा ९३ वर्षको उमेरमा उनको मृत्यु भयो । उनी विकीरणकै कारण क्यान्सर रोगबाट पीडित भएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment