Comments Add Comment

प्रदेश १ मा २८ शैय्याको आइसोलेसन वार्ड तयार

२१ फागुन, विराटनगर । कोरोना भाइरस संक्रमितलाई उपचार गर्न प्रदेश १ मा २८ शैय्याको आइसोलेसन वार्ड तयार भएको छ । संक्रमणको आशंका गरिएकालाई डाक्टरको प्रत्यक्ष निगरानीमा राख्न क्वारेन्टाइनस्थलको पनि खोजी गरिएको छछ ।

शंकास्पद बिरामीलाई ‘आइसोलेसन वार्ड’ मा राखेर उपचार गर्न चार वटा अस्पतालमा २८ शैय्याको व्यवस्था गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य महाशाखाका प्रमुख डा शुरेश मेहताको अनुसार प्रदेका ठूला अस्पतालमा २८ शैय्याको आइसोलेसन वार्ड तयार गरिएको हो ।

विराटनगरस्थित विराट मेडिकल कलेजमा सबै भन्दा बढी १२ वटा आइसोलेसन वार्ड तयार भएको छ । त्यसैगरी धरानस्थित बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा १०, कोशी अञ्चल अस्पतालमा ५ र नोवेल मेडिकल कलेजमा आईसीयूसहितको आइसोलेसन वार्ड तयार गरिएको छ ।

विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज र मेची अञ्चल अस्पतालमा आइसोलेसन वार्डको तयारी गरिएको छ ।

कोरोना भाइरसको रोकथाम गर्न आवश्यक तयारीमा प्रदेश सरकार जुटेको डा मेहताले बताए । प्रदेश सरकारले आइसोलेसन वार्ड तयार भएका अस्पतालमा चिकित्सकको समूह बनाउने छ ।

अस्पताल र ल्याबका चिकित्सकलाई विशेष प्रकारको तालिम दिने व्यवस्थासमेत मिलाइएको छ । त्यसैगरी कोशी अञ्चल अस्पतालमा प्रदेश आपलकालीन स्वास्थ्य व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

कोरोनाको संक्रमण रोक्न टास्कफोर्स तयार

कोरोनाको संक्रमणको सावधानी अपनाउन प्रदेश १ सरकारले सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य निर्देशक चन्द्रदेव मेहताको संयोजकत्वमा टास्क फोर्स गठन गरेको छ । टास्क फोर्समा ९ सदस्य छन् ।

‘छिमेकी मुलुक भारत सहित करोना संक्रमण अरु देशमा झन् तीव्र गतिमा फैलिएको छ,’ निर्देशक मेहताले भने, ‘हामी संक्रमणको जोखिमलाई न्युनीकरणका उपायमा लाग्ने विधि तर्फ केन्द्रित हुनेछौ ।’

उनले प्रदेशमा सम्भावित विरामीको नमूना संकलन तथा सावधानीका लागि चिकित्सकले लगाउने सामाग्री खरिद गर्नेलगायतका काम पनि अघि बढ्ने जानकारी दिए ।

विशेष प्रकारको हेलमेट, पञ्जा, मास्कलगायतका सामाग्री खरिद गर्न सामाजिक विकास मन्त्रालयले बजेटसमेत माग गरिएको छ ।

सीमा नाकामा निगरानी

नेपालको पूर्वी सीमा नाका काकडभिट्टा, विराटनगरको रानी र इलामको पशुपतिनगर् भापाको भद्रपुरमा विषेश निगरानीको थालनी गरिएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार यी नाकाबाट नेपाल भित्रिने विदेशी नागरिकलाई नाकामा विशेष निगरानी गरिने छ । त्यसका लागि स्वास्थ्यकर्मीसहितको टोली र त्यसको सहयोगका लागि संयुक्त सुरक्षा फौज परिचालन गरिएको सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए ।

मन्त्री घिमिरेले प्रवेशद्वारबाट नेपाल भित्रिने विदेशी नागरिकको निगरानी र शंका लागेमा उनीहरुलाई आवश्यक स्वस्थ्य परीक्षण गरिने प्रबन्धसमेत मिलाइएको छ ।

यद्यपि अन्य कुनै स्थानमा विदेशी पर्यटक छन् कि छैनन् र उनीहरुको स्वास्थ्य कस्तो भनेर निरन्तर निगरानी गरिरहने व्यवस्था गरिएको छ ।
मन्त्री घिमिरेले भने, ‘कुनै कामले नेपाल आउनैपर्ने अन्य पर्यटकलाई पनि सावधानी अपनाउन अनुरोध गर्न भनिरहेका छौं ।’

संघीय सरकारका प्रतिनिधि प्रदेशमा

कोरोनाको संक्रमण रोक्न तथा सावधानी अपनाउन आवश्यक सहयोगका लागि संघीय सरकारका प्रतिनिधि प्रदेशमा आएका छन् ।

स्वस्थ्य सेवा विभाग अन्तर्गतको जनस्वास्थ्य विभाग प्रमुख डा भोगेन्द्रकुमार डोटेलसहितको तीन सदस्य टोली प्रदेश १ मा आएको हो । टोलीमा डा नरेन्द्र खनाल र त्रिभुवनकुमार शाह रहेका छन् ।

डा. भोगेन्द्र प्रदेश सरकारसंगको छलफल र संमन्वयमा जुटेका छन् भने डा. नरेन्द्र र त्रिभुवन इलामको पशुपतिनगर र पूर्बी नाका काकडभिट्टा अवलोकनमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment