Comments Add Comment

खरको छाना मुक्त नगर बनाउने तयारी

जस्ता पाता किन्न ५० लाख बजेट

२१ फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरलाई खरको छानोमुक्त नगर बनाउने भएको छ । आर्थिक अभावको कारण खरको छानोमुनि बस्न बाध्य नगरबासीका लागि नगरपालिकाले जस्ता पाता दिएर खरको छानोमुक्त बनाउने भएको हो ।

खरको छानोमुक्त नगर बनाउन नगर कार्यपालिका वैठकले ५० लाख रुपैयाँ भन्दा बढी बजेट विनियोजन गर्ने निर्णय गरेको छ । नगरपालिकाका वडा नम्बर १०, ११, १२, १३, १४ र १७ का करिब पाँच सय घरधुरीमा खरले छाएका छाना छन् ।

चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ वजेट खर्च गरेर खरले छाएका घरमा जस्ता पाता लगाउन नगरपालिकाले उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलले नगरपालिकामा रहेका खरको छानायुक्त घरधुरीलाई जस्तापाता उपलब्ध गराउने छ ।

नगरपालिकाले कार्यक्रमका लागि अपुग बजेट अर्को आर्थिक वर्षमा व्यवस्था गरेर नगरलाई खरको छानोमुक्त नगरपालिका बनाउने निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।

‘खरको छानो हुँदा आगलागी हुने जोखिम पनि हुने भएकोले नगरबासीलाई सुरक्षित बसोबासमा सहयोग गर्न यो कार्यक्रम ल्याइएको हो,’ नगरप्रमुख बासुदेव घिमिरले भने, ‘जुन घरलाई जति जस्ता पाता चाहिन्छ, कार्यदलले सिफारिस गरेपछि नगरपालिकाले उपलब्ध गराउँछ ।’

हात नमिलाउन आव्हान

तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको जोखिमलाई रोक्न हात मिलाउनुको साटो नमस्कारको संस्कृतिलाई अनुसरण गर्न नगरबासीलाई आह्वान गरेको छ ।

कार्यपालिका बैठकले कोरोनाको जोखिम पूर्वतयारी योजनालाई स्वीकृत गर्दै नगर प्रमुखको संयोजकत्वमा पूर्व तयारी निर्देशक समिति गठन गरेको छ ।

बैठकले कोरोना भाइरस संक्रमणको शंका लागेका बिरामीको उपचार व्यवस्था मिलाउन वडा नम्बर १७ स्थित वीपी ग्रामलाई प्रयोगमा ल्याउन आवश्यक सर्जिकल, मेडिकल तथा जनशक्ति व्यवस्थापनका लागि संघीय र प्रदेश सरकारसँग सहकार्य गर्ने निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment