
२१ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कोरोना भाइरस र यसबाट जोगिने उपायबारे जानकारीमूलक पर्चा बनाउन र प्रत्येक घरमा पुर्याउन निर्देशन दिएको छ ।
महासचिव विष्णु पौडेलले बुधबार अन्तरिक सर्कुलर जारी गर्दै सबै जिल्ला कमिटीलाई पर्चा बनाउन भनेका हुन् । सबै तहका कमिटीले आफ्नो तहका जनप्रतिनिधि, सामाजिक अगुवा र स्थानीय सञ्चार माध्यमसँग समन्वय गरी कोरोनाबाट बच्ने उपायबारे जानकारीमूलक कार्यक्रम गर्न भनिएको छ ।
नेकपाले पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान अन्तरगत गर्ने भनिएको ठूलो भेला तथा जनसभाहरु भने स्थगित गरेको छ ।
कोरोना भाइरसबाट जोगिन सरकारले ठूला भेला तथा सम्मेलन नगर्न अपील गरेको भन्दै नेकपाले ठूला भेला र जनसभाहरु नगर्ने निर्णय गरेको हो ।
सबै कमिटीलाई सर्कुलर जारी गर्दै सबै तहका कमिटीको बैठक बस्ने, संगठित सदस्य र साधारण सदस्यता नवीकरणलगायतका काम भने जारी राख्न भनेको छ । उसले २०७५ जेठबाट लागू हुने गरी संगठित सदस्यता शुल्क मासिक २५ र साधारण शुल्क मासिक १० रुपैयाँ तोकेको छ ।
प्रतिक्रिया 4