Comments Add Comment

पर्यटन क्षेत्र बचाउन अष्ट्रेलिया र मलेसियाबाट सिक्ने की ? 

कोरोना भाइरसको संक्रमणले विश्वव्यापी प्रभाव पार्न थालेपछि अन्तर्राष्ट्रिय पर्यटन व्यवसाय यो वर्ष लगभग माथि उठ्न सक्दैन । यो स्वभाविक पनि हो । हरेक मुलुकको प्राथमिकता आफ्ना नागरिकको स्वास्थ्य र सुरक्षा हुन्छ । यो हामीले चाहेर भन्दा पनि अकस्मात आइपरेको समस्या हो । यो समस्याबाट पार पाउन संसारमा अनेक प्रयास भएका छन् । आशा गरौं, छिट्टै कोरोनाको त्रासबाट संसारले मुक्ति पाउनेछ । यस भाइरसका कारण मानवीय स्वास्थ्यमा पार्ने प्रभाव त छँदैछ, त्यसको त्रासले तीब्र प्रभाव पार्ने क्षेत्र पर्यटन हो ।

नेपालमा एक पर्यटक आउँदा १२ जनाले रोजगारी पाउने अनुमान गरिन्छ । एक जना पर्यटक आउँदा उसकै कारण एयरलाइन्स, ट्राभल एजेन्सी, होटेल, यातायात, कृषिसहित धेरै क्षेत्र चलायमान भएको हुन्छ । तर, कोरोना भाइरसको विश्वव्यापी प्रभावका कारण यो वर्ष संसारभरकै पर्यटन व्यवसायमा नकारात्मक प्रभाव परेको छ । यसबाट नेपाल अछूतो रहने कुरै भएन ।

यसको मतलव सबै ध्वस्त भयो, अब कुनै आशा बाँकी छैन भन्ने पनि होइन । अहिले विदेशी पर्यटक आउन छाडेका छन् । बुकिङ रद्द हुने क्रम तीव्र छ । त्यसकारण पर्यटन र आतिथ्य उद्योग कमजोर हुने पक्का छ । यसो भन्दैमा के अब हातै उठाएर आशा मारिदिने त ? के पर्यटनलाई बचाउने कुनै सम्भावना छैन ?

छ, सम्भावना अहिले पनि जिवित छ । आजको दिनसम्म नेपालभित्र कोरोनाको बिरामी पुष्टी भएको छैन । नेपाल आउने पर्यटकमाथि नाका र विमानस्थलहरुमा बढाइएको निगरानीका कारण यो संक्रमण नेपाल आउने सम्भावना कम हुनेछ । आइहालेपनि त्यसका लागि नेपाल सरकारले तयारी बढाएको छ । यो सकारात्मक पक्ष हो ।

अब नेपालभित्र आन्तरिक पर्यटनलाई हामीले जिवित राख्न सक्छौं । हामी अब अष्ट्रेलिया र मलेसियाको मोडलमा जान सक्छौं । ती मुलुकमा अन्तर्राष्ट्रिय पर्यटक आउन छाडेपछि आन्तरिक पर्यटनलाई प्राथमिकता दिइएको छ ।

आगोलागीका कारण त्राहीमाम भएको अष्ट्रेलियाले विदेशी पर्यटक नआएपछि आन्तरिक पर्यटनमा आफूलाई केन्द्रित गरेको छ । पहिले आगोलागी र अब कोरोनाले प्रभावित भएको पर्यटन व्यवसायीलाई मर्न नदिन र व्यवसायीको आशा कायमै राख्न अष्ट्रेलियाले गरेको प्रयास नेपालका लागि पाठ हुन सक्छ ।

ठूलो संकटका बीच पनि अष्ट्रेलियाले पर्यटन व्यवसायीलाई निरास हुन दिएको छैन । नेपालसँगै भ्रमण वर्ष घोषणा गरेको मलेसियाले पनि अन्तर्राष्ट्रिय पर्यटक नआउने भएपनि आन्तरिक पर्यटकलाई लक्षित गरी प्याकेज घोषणा गरिसकेको छ । हामी त्यसतर्फ जान सक्छौं ।

अब सरकारले व्यवसायीलाई सहयोग गर्नुपर्छ, काम गर्न हामी तयार छौं । एक पटक व्यवसाय टाट पल्टियो भने उठ्न निकै कठिन हुनेछ । त्यसकारण अब एयरलाइन्स, होटेललगायत सरोकारवालाको सहभागितामा आन्तरिक पर्यटकलक्षित प्याकेजहरु ल्याउनु पर्छ । होटेल बन्दै राख्नुभन्दा ५ जना नेपाली पुगेर बसिदिँदा मात्र पनि धेरै राहत हुन्छ । मोटरसाइकल चढेर मुस्ताङसम्म जान तयार हुने नेपाली पर्यटक छन् । उनीहरुलाई विदेशी नआएको मौकामा देश दर्शनको अवसर किन नदिने ?

अर्कोतर्फ सरकारले सकेसम्म विदेश यात्रामा नजान नेपालीलाई सचेत गराएको छ । यस अवस्थामा आफ्नो भ्रमणको योजना नेपालीले देशभित्रै बनाउन सक्छन् । त्यसका लागि त्रास र डरको वातावरण बनाएर होइन, पर्याप्त सुरक्षा प्रवन्ध गरेर, पूर्ण तयारी गरेर, रोग र संक्रमण भएमा हामी मुकाविला गर्न तयार छौं भन्ने आभास दिएर देशभित्र घुमघामको वातावरण बनाउनु पर्छ । यसमा ढिलाई गर्नु हुँदैन ।

काठमाडौं भित्रका होटेल विदेशी पर्यटकमा बढी आधारित छन् । तर, होटेल र पर्यटन काठमाडौंमा मात्र सीमित छैन । अब हामी पोखराका आन्तरिक पर्यटकलाई काठमाडौं ल्याउन सक्छौं, पोखराका पर्यटकलाई विराटनगर लैजान सक्छौं । सुदुरपश्चिमका नागरिकलाई सुदरपूर्वमा भ्रमणको वातावरण बनाउन सक्छौं । भ्रमणको वातावरण कायमै रहृयो भने व्यवसाय समेत कायम रहनेछ ।

सरकारले व्यवसायीलाई नगद अनुदान या प्याकेज दिँदैमा पर्यटन व्यवसाय जोगिन्छ भन्ने होइन, बरु व्यवसाय बच्ने वातावरण बनाइदिनु पर्छ । अहिले सरकारी तलव खाने ५/६ लाख कर्मचारीलाई सरकारले निश्चित रकम दिएर बिदा पर्यटनमा पठाउन सक्छ । त्यसो गर्दा सरकारलाई अतिरिक्त भार पनि नपर्ने र व्यवसाय पनि नमर्ने ।

देशभित्र कर्पोरेट हाउसहरुले आफ्ना कर्मचारीलाई बिदा भ्रमणमा पठाउन सक्छन् । त्यसका लागि पनि सरकारले प्रोत्साहित गर्न सक्छ । प्याकेज र सहुलियत दिने सन्दर्भमा व्यवसायी तयार छन् । महत्वपूर्ण पक्ष व्यवसायीले निरास हुनु नपरोस भन्नेमा सरोकारवालासचेत हुनुपर्छ ।

(अनलाइनखबरसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment