Comments Add Comment

अब कहिले हुन्छ ईपीएल ?

काठमाडौं : टीयू मैदानमा क्रिस गेलको खेल हेर्न दर्शक आतुर थिए । आयोजक पनि गेल जस्ता विश्व स्तरिय खेलाडीलाई नेपाल ल्याएर खेलाउन पाउँदा खुशी थियो । गेल खेलाउने फ्रेन्चाइज त झनै उत्सहित थियो ।

दर्शकहरु त्यसतै उत्सहित थिए । प्रतियोगिता आउन पनि अब एक साता  र केही दिन मात्र बाँकी थियो ।

तर तत्कालका लागि सबैको उत्साह हराएको छ । केही दिनको लागि त्यो उत्साह निराशामा बदलिएको छ । खेलाडी नआउने भएका पनि होइनन् । प्रकृतिले नै यस्तै रोजेको हो । अहिले विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । छिमेकी चीनबाटै शुरु भएको कोरोनाको असर नेपालमा नहुने कुरै भएन । नेपालमा पनि यसको संक्रमण देखिसकेको छ । अहिले विश्वभर खेलकुद गतिविधि हरु पनि कवरोनाले प्रभावित बनेको छ । त्यसैको असर ईपीएलमा पनि देखिएको छ ।

एक वर्षदेखि आयोजक इपीएल प्राली ले इपीएल २०२० लाई भव्य बनाउनको लागि निकै मिहिनेत गरिरहेको थियो । क्रिस गेलसँगै विश्वका १६ स्टार खेलाडी नेपालमा खेल्न आउने पक्का भइसकेको थियो । अरु खेलाडीको नाम सार्वजनिक हुनै बाँकी थियो । तर कोरोनाकै कारण आयोजकले यही चैत १ देखि शुरु हुन लागेको एभरेष्ट प्रिमियर लिग टी २० प्रतियोगिता स्थगित गरेको छ । आयोजकले बिहीबार सोल्टी होटलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता स्थगित भएको घोषणा गरेको हो ।

‘खेलाडी र फ्यानहरुको सुरक्षाका कारण प्रतियोगिता तोकिएको समयमा गर्न नसकिने भयो । अर्को सूचना नआएसम्मका लागि स्थगित गरेका छौं’ आयोजक ईपीएल प्रालिका प्रवन्ध निर्देशक आमिर अख्तरले यसो भनिरहँदा उनी पनि निराश देखिएका थिए । लामो समयदेखिको तयारी अनि स्टार विदेशी खेलाडी आउने उत्साह थियो । त्यो तत्काल पूरा नहुने भएकोले पनि दुखी हुनु स्वाभाविक थियो । ‘यो दु:ख को क्षण हो तर हामी वर्तमान अवस्थालाई सम्मान गर्दै सरकारको निर्देशनलाई सम्मान गर्दै ईपीएल स्थगित गरेका हौं’ उनले भने ।

यो घोषणाले दुई वटा प्रश्न उठेको छ । ईपीएल कहिले हुन्छ र विदेशी खेलाडी आउँछन् कि आउँदैनन् ?

यो अहिल्यै भन्न सक्ने अवस्थामा आयोजक पनि छैन । कोरोनाको संक्रमणको जोखिम कहिलेसम्म हुन्छ त्यो थाहा छैन । त्यो नरोकिएसम्म ईपीएल भइहाल्ने अवस्था छैन । अर्को, अब नेपालको राष्ट्रिय टिमको पनि व्यस्त खेल तालिका छ त्यसले गर्दा पनि खेलाडीहरु उपलब्ध हुन गाह्रो पर्ने देखिन्छ । साथै विदेशी खेलाडी पनि अन्तर्राष्ट्रिय खेलमा व्यस्त हुन सक्छन् ।

अख्तरले पनि ईपीएल अब कहिले हुन्छ ठोकुवा गरेर भन्न सकेका छैनन् । तर उनले खेलाडीहरुको अन्तर्राष्ट्रिय खेलको क्यालेन्डर हेरेर मिति तय गर्ने बताए । ‘हामी केही मिति हेरिरहेका छौं । नेपालको राष्ट्रिय टिमको क्यालेन्डर हेरेर विदेशी खेलाडी खेलाडीको पनि उपलब्धता हेरेर मिति तय गर्नेछौं’ उनले भने ।

नेपालको राष्ट्रिय टिम अहिले एसीसी इस्टर्न रिजन खेल्न थाइल्याण्डमा छ । नेपालले शुक्रबार सिंगापुरसंग अन्तिम खेल खेल्नेछ। शुरुवाती दुई खेल हारे पनि नेपाल एसिया कप छनोटमा पुग्न सकेन ।

नेपाल क्रिकेट संघ क्यानले पनि आगामी वर्ष बैशाखमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको छ । यसअघि राखेपले गर्दै आएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अब क्यानले गर्न लागेको हो । त्यसको लागि अहिले जिल्लास्तरको छनोट खेल भइरहेको छ । साथै नेपालको राष्ट्रिय टिमले आगामी अप्रिल, जुन  र जुलाईमा आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्दैछ । अप्रिलमा नेपाल नामिबिया जानेछ भने जुनमा पपुवा न्यूगिनी जानेछ । यस्तै जुलाईमा स्कटल्याण्ड जानेछ ।

बीचको मे महिनामा मात्र नेपालको अन्तर्राष्ट्रिय प्रतियोगिता छैन । तर क्यानले त्यसैको आसपासमा राष्ट्रिय प्रतियोगिता पनि गर्ने तयारी गरिरहेको छ । त्यसैले अब ईपीएल कहिले हुन्छ भन्ने प्रश्न उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment