Comments Add Comment

खेर गएको जीवनको पहिलो भोट

जीवनका विभिन्न कालखण्डमा मान्छेले सामाजिक जिम्मेवारीबोध गर्दै जाँदोरहेछ । सामाजिक जिम्मेवारी बोध हुने पनि चरण हुँदा रहेछन् । एसएलसी (प्रवेशिका) पास हुँदा मैले पहिलोपटक आफ्नो जिम्मेवारी बढेको महसुस गरेँ ।

जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रमाण–पत्र लिँदा नागरिक भएको जिम्मेवारी बोध भयो । एकदमै छोटो अवधिका यी दुई घटनाले मलाई आफू जिम्मेवारीसहितको मान्छे भएछु भन्ने बोध भयो ।

तर, यी दुई घटनाभन्दा भिन्नै अर्को एक अधिकार पनि मेरो जीवनमा प्राप्त हुँदै थियो । त्यो थियो– ‘मतदानको अधिकार’ ।

बाल्यकालमा चुनाव लागेको बेला छरछिमेकमा हुने चुनावी रौनकले मलाई पनि जीवनमा कहिले १८ वर्ष पुगुँला र भोट हाल्न पाउँला भन्ने लागिरहन्थ्यो । अनि बा–काकाले झैं चुनावी गफगाफमा आफूलाई भुलाएर परिपक्व भएको आभाष गरूँ ! ‘मतदाता परिचय–पत्र’ लिएर भोट हाल्न लाइनमा उभिएको बेला भने मलाई लाग्यो, ‘म पनि यो देशको नागरिक हुँ ।’

यो देशको भविष्य निर्माणमा मेरो पनि योगदान छ । मतदान लाइनमा उभिरहँदा मैले आफूलाई देशको असली नागरिक ठानेँ ।

‘फलानालाई होइन रुखलाई भोट हाल्ने, रुख होइन हलोलाई भोट हाल्ने’ जस्ता हल्लाखल्ला चुनाव लागेको बेलाटोलमा हुन्थ्यो । अन्जानमै सहि म यी हल्लासँग नजिकिन पुगिसकेको थिएँ । दिदी तत्कालीन विद्यार्थी राजनीतिमा संलग्न हुनुले पनि चुनावी माहौलमा म जानीनजानी अभ्यस्त भएँ ।

२०६४ सालको संविधानसभा चुनावका बेला हुने आमसभा, घरदैलो कार्यक्रम, दिउँसो र साँझको भोजभतेरमा म पनि दिदीसँगै जान्थेँ । त्यही निर्वाचनमा हो मैले चुनावको माहौल प्रत्यक्ष महसुस गर्न  पाएको । चुनावी रस्साकसी र जालझेलका घटनाहरू सुनेको ।  रेडियो नेपाल र एफएमहरूबाट दशैभरिको निर्वाचनको अपडेट सुन्न आतुर छरछिमेकीको हतारो पनि पहिलोपटक मैले २०६४ को चुनावमा देखेको हुँ ।

अन्ततः चुनाव देखेको एक दशकपछि मात्र मैले बालिग मताधिकारको प्रयोग गर्न पाएँ । अर्थात्, ‘स्थानीय तथा संघीय संसदको निर्वाचन २०७४’ मा मैले मत हाल्न पाएँ ।

भोट हाल्न पाएर म आफैँसँग रमाएको क्षण यही थियो । त्यतिमात्र कहाँ हो र ! ९० वर्षीय गोपालदास बादे श्रेष्ठसँग म १९ वर्षीय किशोरले सँगसँगै एकै बुथबाट भोट हाल्यौं । अनि एउटा किशोर र वयोवृद्ध नागरिकले  सँगै भोट हालेका समाचार अन्नपूर्ण पोस्टमा छापियो । भोट हाल्ने क्रममा भेटिएका एकजना पत्रकारले यो संयोगलाई समाचार बनाइहाले ।

त्यतिबेला पत्रिकाले लेखेको थियो– ‘एउटै बुथमा नेपालका सबै निर्वाचनमा भोट हालेका वृद्ध र जीवनमा पहिलोपटक मताधिकार उपयोग गरिरहेका युवा संघीय गणतन्त्र नेपालको पहिलो आम निर्वाचनमा सँगै भोट हाल्दैछन् ।’

भोट हाल्न लाइनमा उभिरहँदा मुटुको ढुकढुकी बढिरहेको थियो ।

एक मनले भन्थ्यो– ‘यो त सामान्य कुरा हो किन आत्तिनु ।’

अर्का मनले भन्थ्यो– ‘एक मतको पनि मूल्य हुन्छ देशको भाग्य बदल्न ।’

‘कतै मैले भोट हालेको पात्रको कारण देशले दुःख पाउने त होइन ?’ अचानक मेरो मनमा प्रश्न उब्जियो ।

‘जीवनको पहिलो मत नै खराब पात्रलाई पर्ने त होइन ?’ प्रश्नमाथिको जब्बर प्रश्न मनमा उब्जियो ।

प्रश्नहरूको गोलचक्करमा परिरहँदा भोट हाल्ने पालो आयो । हातमा मतपत्र लिएर सानो कोठाभित्र मतदान गर्न गएँ ।

लोकतन्त्रको सर्वोच्च अधिकार प्रथम पल्ट प्रयोग गर्न पाएर चुलिएको मेरो गौरव तासको महल जस्तै गर्ल्यामगुर्लुम्म ढल्यो । जीवनको पहिलो भोट खेर गएको शोकमा मेरो मन एकतमासले कुँडियो

मतपत्रमा छाप लगाउँदा मेरो हात काँपिरहेको थियो । मसी दायाँबायाँ लाग्यो भने मत बदर हुने डर । त्यसमाथि पट्याएको मिलेन भने पनि मसी लतपतिने डर ।

थोरै डर, थोरै आत्मविश्वास र थोरै गर्वभाव सहित मैले भोट हालेँ । अनि निर्धक्क बाहिर निस्किएँ बुढी औंलामा मतदानको निशानी बोकेर ।

बुढी औंलामा लगाइदिएको मसीको दाग त दुईतीन दिनमा मेटियो । तर मेरो मनमा बसेको सन्देह भने वर्षौंसम्म मेटिएन । मैले जुन व्यक्तिलाई भोट दिएँ ऊ र उसको पार्टीले कतै मेरो सपना त तुहाउने होइन । पार्टीको त के नै कुरा भयो तर व्यक्ति नै खराब भयो भने ?

कमसेकम, कार्यक्रम वा  कतै जम्काभेट हुँदा, मैले भोट हालेको सांसद भनेर गर्व गर्न सकियोस् । टोलछिमेक र जिल्लामा गाह्रोसाह्रो पर्दा मद्दत माग्न सकियोस् । र, मेरो सांसदलाई विश्वास गर्न सकियोस् ।

मेरो अपेक्षाभन्दा माथि मैले भोट हालेका मान्छे मन्त्री भए । संयोग नै भन्नुपर्छ मैले गरिरहेको पेशासँगै जोडिएको मन्त्रालय प¥यो उनको भागमा । मन्त्री बन्नु अगाडि उनी पनि अहिले मैले गरिरहेको पेशामा थिए ।

आफैंले भोट हालेका । आफ्नै पेशाको नियमन गर्ने मन्त्री बनेको उनको तीखो र चर्को बोलीको निरन्तर आलोचना हुँदा पनि मलाई खासै असर परेन । पाँच वर्ष समय छ, राम्रै गर्लान् भन्ने विश्वासमा उनका तिखा बोली सहिरहेँ ।

तर बिडम्बना, साता दिनअघि एकाबिहानै मेरो भोटको मानक सांसदको अडियो सार्वजनिक भयो । त्यो अडियोले मेरो सपना र उनीप्रतिको विश्वास चकनाचुर बनायो । अडियोमा उनी भ्रष्ट्राचारको डिल गर्दै थिए । कर्मचारीप्रति अपशब्द प्रयोग गर्दै थिए ।

त्यो अडियो सत्य वा झुट के छ म जान्दिनँ । तर, ती सांसद÷पूर्वमन्त्रीले बोलेका अपशब्द र गरेको चालचलनले मेरो मनमा ब्रज प¥यो ।

जीवनको पहिलो मतमा अपशकुन परेझैं भयो ।

नागरिकका हसियतले जीवनमा अझै दशौंपटक मतदान गर्न सपना पालेको मेरो हृदयमा भोट र चुनावी माहोलप्रति सन्देह जाग्यो ।

लोकतन्त्रको सर्वोच्च अधिकार प्रथम पल्ट प्रयोग गर्न पाएर चुलिएको मेरो गौरव तासको महल जस्तै गर्ल्यामगुर्लुम्म ढल्यो । जीवनको पहिलो भोट खेर गएको शोकमा मेरो मन एकतमासले कुँडियो ।

मतदानको माध्यमबाट पहिलोपटक पाएको नागरिकको जिम्मेवारी अपुरो भए जस्तो लाग्यो । गलत उम्मेदवार छनौट गरे किँ जस्तो लाग्यो । स्थानीय निर्वाचनको भोटमा पनि मेरो सपना क्रमशः मर्दैछ । ‘छोटा राजाको बढिया शासन’ भनेझैं स्थानीय शासन जनतालाई कष्टकर बन्दै छ ।

खेर गएको जीवनको पहिलो भोट अब सायदै बिर्सने छु म । र कामना गर्छु, ‘कसैको पनि पहिलोमात्र होइन, कुनै पनि भोट खेर नजाओस् !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment