Comments Add Comment

उपाधिको लक्ष्य बनाएको नेपाल कहाँ चुक्यो ?

२३ फागुन, काठमाडौं । चार खेलमा दुई हार, एक जित, एक खेल रद्द । पाँच टिम सहभागी प्रतियोगितामा चौथो स्थान । थाइल्याण्डमा सम्पन्न एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपालको प्रदर्शन हो यो ।

उपाधि विजेता बन्ने लक्ष्य बोकेर गएको नेपाली टोलीले पाँचौ स्थानमा चित्त बुझाउनु परेको छ । र, टेष्ट राष्ट्रहरु सहभागी हुने एसिया कप खेल्ने यसपटक पनि अधुरै रह्यो ।

इस्टर्न रिजनमा शीर्ष दुईमा पर्न नसक्दा नेपाल अर्को दुई प्रतियोगिता खेल्नबाट वञ्चित भयो । एसिया कपको रोडम्यापको रुपमा रहेको इस्टर्न रिजनको शीर्ष दुई टोली एसिया कप क्वालिफायरमा छनोट हुनेछन् । यसमा वेस्टर्न रिजनको पनि दुई गरी कुल ४ टोलीबीच प्रतिस्पर्धा हुनेछ र विजेता टिमले पाँच टेष्ट राष्ट्रसहित सेप्टेम्बरमा मलेसियामा एसिया कप खेल्नेछ ।

तर आफ्नो लक्ष्यमा चुकेको नेपालले यो अवसर गुमाएको छ ।

उपाधिको दावेदार मानिएको नेपालले आफ्नो स्तरअनुसार खेल देखाउन सकेन ।

खेलमा जित र हात हुन्छ । यो खेलको नियम हो । तर अहिलेको अवस्थामा नेपाली टिम कस्तो छ ? यो प्रतियोगिता कुन स्तरको थियो ? प्रतिस्पर्धी टिम कति बलिया थिए ? यस्ता प्रश्नमा घोत्लिने हो भने यो हारको गम्भीर समिक्षा आवश्यक देखिन्छ ।

नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले र दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो । दुवै खेलमा नेपालले पूरा २० ओभर ब्याटिङ गर्न सकेन । तेस्रो खेलमा भने कमजोर प्रतिस्पर्धी थाइल्याण्डलाई नेपालले ९ विकेटले हरायो ।

यसअघि गतवर्ष जुलाईमा टी–२० विश्वकपको एसिया क्षेत्रको फाइनल चरणमा पनि नेपाल कतार र सिंगापुरसँग पराजित हुँदा ग्लोबल क्वालिफायरमा पुग्न असफल भएको थियो ।

नेपालको तयारी

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ सँगै इस्टर्न रिजनको लागि पनि तयारी गरेको थियो । घरेलु मैदानमा भएको विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नेपालले मिश्रित नतिजा निकाल्यो । त्यसको केही दिनपछि नै नेपालले इस्टर्न रिजनका लागि भनेर घरेलु मैदानमा तयारी गरेको थियो, जसमा नेट प्राक्टिस, फिटनेस अनि प्राक्टिस म्याच खेलेको थियो ।

तर नेपालले अरु टिमसँग अभ्यास खेल खेलेन । कप्तान ज्ञानेन्द्र मल्लले निरन्तर क्रिकेट खेलिरहेकाले इस्टर्न रिजनको तयारीमा सहयोग पुग्ने त्यतिबेला बताएका थिए ।

उता इस्टर्न रिजन खेल्ने मलेसिया, हङकङ सिंगापुरले भने विशेष तयारी गरेको थिए । मलेसिया र हङकङले ५ खेलको टी–२० सिरिज खेले । घरेलु मैदानमा मलेसियाले हङकङलाई ५–० ले क्लिन स्वीप गर्दा मलेसियामा आत्मविश्वास बढेको थियो । बाबर हायत अंशुमन रथ जस्ता खेलाडीले छाडेयता हङकङ टिम उस्तै छैन । तर पाँचै खेल हारे पनि हङकङले धेरै सिक्ने अवसर पायो ।

यस्तै सिंगापुरले विश्वकप जितिसकेका प्रशिक्षक डेभ वाटमोरलाई प्रशिक्षक नियुक्त गरेर तयारी गरेको थियो ।

प्रशिक्षक परिवर्तनको असर

यो प्रतियोगिता अगाडि नेपालको मुख्य प्रशिक्षक परिवर्तन हुँदा पनि नेपाली टिमलाई असर पर्‍यो ।

त्रिकोणात्मक सिरिजअघि नै भारतीय प्रशिक्षक उमेश पटवालले नेपाली टिमको प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका थिए । अमेरिका र ओमान सम्मिलित सिरिजपछि उनी भारत फर्किए । क्यानलाई तत्कालै अर्को विदेशी प्रशिक्षक नियुक्त गर्न समय भएन । नेपालकै पूर्वप्रशिक्षक जगत टमाटालाई अन्तरिम प्रशिक्षक बनाइएको थियो । नेपाललाई ओडिआई मान्यता दिलाउँदाका प्रशिक्षक जगत टमाटा आफ्ना खेलाडीहरुबारे जानकार पनि थिए ।

ट्राई सिरिजमै पनि उनले पटवालसँग सहकार्य गरेका थिए । टमाटाले यसअघि पनि पटक–पटक नेपाली टिम सम्हालेका छन् । तर पनि विदेशी प्रशिक्षकले भर्खरै छोडेपछिको अवस्थामा नेपाली टिमको आत्मविश्वास धर्मराएको थियो ।

टिम कम्बिनेसन

नेपालको खराब प्रदर्शनको तेस्रो कारण हो, टिम कम्बिनेसन । यसपटक नेपाली टिमको सन्तुलन पनि मिलेको थिएन ।

कप्तान र प्रशिक्षकले टिम सन्तुलित भएको बताएपनि मैदानमा त्यो पाइएन । त्रिकोणात्मक सिरिज खेलेको नेपाली टिमबाट इस्टर्न रिजनका लागि चार खेलाडी परिवर्तन गरिएको थियो । पवन सर्राफ र सन्दिप जोराले पुनरागमन गरेका थिए । यस्तै स्पीनर भुवन कार्की तीन वर्षपछि राष्ट्रिय टिममा पर्दा किशोर महतोले पहिलो पटक स्थान बनाए । शरद भेषावकर, रोहितकुमार पौडेल र कमल सिंह ऐरी इस्टर्न रिजन टिममा परेनन् ।

कप्तान र प्रशिक्षकले टी–२० का लागि सुहाउँदा खेलाडी छनोट गरिएको बताएका थिए । प्रशिक्षक टमाटाले सन्दिप जोरालाई इंगित गर्दै उनको फिल्डिङ पनि राम्रो भएको औंल्याएका थिए । जोरा टी–२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने विश्वकै कान्छा खेलाडी समेत हुन् । तर जोराले एउटा म्याच पनि खेल्न पाएनन् ।

यस्तै किशोरले पनि बेन्च मात्रै तताए ।

स्पीनर भुवनले सुरुको दुई खेल बेन्चमा बसेर हेरेपछि तेस्रो खेलमा थाइल्याण्डविरुद्ध अवसर पाए । उनको त्यो टी–२० अन्तर्राष्ट्रियमा डेब्यु थियो र उत्कृष्ट प्रदर्शन पनि गरे । उनले ४ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर १ विकेट लिए ।

ओपनिङमा प्रयोग जारी रह्यो ।

कप्तान ज्ञानेन्द्र मल्ल र र युवा अलराउण्डर कुशल मल्लले सुरुको दुई खेलमा ओपनिङ गरे । तेस्रो खेलमा पारस खड्का र कुशलले ओपनिङ गरे । यसअघि टी–२० मा ज्ञानेन्द्र र पारस वा पारस र इशान पाण्डेले ओपनिङ गरेका थिए ।

मध्यक्रममा खेल्दै आएका उनलाई कुन आधारमा ओपनिङ गराइयो भन्ने समेत प्रश्न उठेको छ ।

तेस्रो खेलमा थाइल्याण्डविरुद्ध नेपालले ९ विकेटको जित हात पार्दा तेस्रो नम्बरमा पवन सर्राफले ब्याटिङ गरे । उनले अघिल्लो दुई खेलमा पाँचौ नम्बरमा ब्याटिङ गरेका थिए । नेपाली टिमका नियमित सदस्य रहेका सोमपाल कामी अहिले टिममा छैनन् । यस्तै अनुभवी खेलाडी शरद भेषावकर, बसन्त रेग्मी पनि छैनन् । व्यक्तिगत कारणले सोमपाल र बसन्त त्रिकोणात्मक सिरिज खेलेका थिएनन् । शरदले सिरिजमा एक खेल खेले पनि चोटका कारण बाँकी खेल खेल्न सकेनन् । उनको स्थानमा सुवास खकुरेलले खेलेका थिए ।

अघिल्लो पुस्ताका पारस र ज्ञानेन्द्र मात्र रहेको नेपाली टिममा अहिले युवा खेलाडीको बाहुल्यता छ । उनीहरुलाई सही तरिकाले खेलाउन नसकेको हो भन्ने प्रश्न पनि उठेको छ ।

खराब ब्याटिङ

चौथो र खेलमा प्रष्ट देखिएको कारण हो खराब ब्याटिङ । नेपालले राम्रो ब्याटिङ गर्न नसक्दा नै पराजित भयो ।

नेपाले दुई खेलमा १५५ रनको लक्ष्य पाउँदा भेट्टाउन सकेन । दुवै खेलमा अलआउट भयो । तीन खेल खेल्दा नेपालका कुनै पनि खेलाडीले अर्धशतक बनाउन सकेनन् ।

सुरुको दुई खेलमा नेपाल अलआउट भएको थियो भने तेस्रो खेलमा नेपालले जम्मा ६७ रनको लक्ष्य चेज गरेको थियो । नेपालका तीन खेलाडीले ३/३ पटक ब्याटिङ गर्दा अरु ७ खेलाडीले २/२ पटक ब्याटिङ गरे । तर कुनै पनि खेलाडीले अर्धशतक प्रहार गर्न सकेनन् । दोस्रो खेलमा हङकङविरुद्ध कप्तान ज्ञानेन्द्र मल्लले बनाएको ४६ रन नै नेपालको व्यक्तिगत उच्च स्कोर हो ।

पहिलो खेलमा मलेसियाविरुद्ध नेपालका ३ खेलाडीले मात्र दोहोरो अंकमा रन बनाएका थिए । यस्तै दोस्रो खेलमा हङकङ विरुद्ध ४ खेलाडीले दोहोरो अंक जोडे । तेस्रो खेलमा थाइल्याण्ड विरुद्ध नेपालले एक मात्र विकेट गुमाएको थियो भने बाँकी दुई खेलाडीले दोहोरो अंकमा रन बनाए ।

पूर्वकप्तान पारस खड्काले तीनै खेलमा दोहोरो अंकमा रन छुन सकेनन् । उनी पहिलो खेलमा ९ रन, दोस्रो खेलमा ४ रन र तेस्रो खेलमा ९ रन बनाएर आउट भए । नेपालको ब्याटिङ अहिले पनि धेरै हदसम्म पारसमा निर्भर मानिन्छ । उनी नचल्दा हुँदा सिंगो ब्याटिङ पंक्ति असफल भएका उदाहरण धेरै छन् । अहिले उनै पारस रन हान्न सकिरहेका छैन् नेपाले पनि जित्न सकिरहेको छैन ।

दुई खेलमा मात्र ब्याटिङ गरेका ज्ञानेन्द्रले नेपालबाट सर्वाधिक ८४ रन बनाएका छन् । उनले मलेसियाविरुद्ध ३८ र हङकङविरुद्ध ४६ रन बनाए । यस्तै कुशल मल्लले तीन खेलमा ५५ रन बनाए । मलेसिया विरुद्ध शून्यमा आउट भएका कुशलले हङकङ विरुद्ध १९ र थाइल्याण्ड विरुद्ध अविजित ३६ रन जोडे । उपकप्तान दीपेन्द्र सिंह ऐरीले कुल ४३ रन बनाए । उनले मलेसियाविरुद्ध ३८ र हङकङ विरुद्ध ५ रन जोडे । पवन सर्राफले तीन खेलमा ४९ रन बनाए । मलेसियाविरुद्ध १९ रन बनाएका पवन दोस्रो खेलमा १ रनमा आउट भएका थिए । तेस्रो खेलमा थाइल्याण्डविरुद्ध उनले अविजित १९ रन बनाए ।

विनोद भण्डारीले दुई खेलमा ब्याटिङ गर्दा दोहोरो रन बनाउन सकेनन् । आरिफले दुई मध्ये एक खेलमा १० रन पूरा गरेका थिए ।

विपक्षीलाई हल्का आँक्नु

थाइल्याण्ड जाँदा नेपाल आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा १२औं स्थानमा थियो । नेपालले टेष्ट राष्ट्र आयरल्याण्डलाई पनि उछिनेको थियो । तर लगातार दुई हारपछि नेपालको वरीयता पनि खस्कियो । नेपाल तीन स्थान तल झर्दै १५औंमा पुग्यो । आयरल्याण्डसहित स्कटल्याण्ड र युएईले नेपाललाई पछि पारे ।

टी–२० वरीयतामा इस्टर्न रिजन खेलेका बाँकी टोली नेपालभन्दा पछि छन् । पहिलो खेलमा नेपाललाई हराउँदै मलेसिया ३२ औं स्थानमा थियो । पछि मलेसिया एक स्थान माथि उक्लियो । यस्तै हङकङ र सिंगापुर पनि वरीयतामा नेपाल भन्दा तल छन् ।

सामान्यतया वरीयतामा अगाडि रहने टिम बलियो भन्ने बुझिन्छ । तर वरीयताले नै सबै निर्धारण भने गर्दैन । नेपालको हकमा पनि त्यो प्रष्ट देखिएको छ ।

इस्टर्न रिजन खेल्ने नेपाल मात्र ओडिआई मान्यताप्राप्त देश हो । त्यसैले नेपाल अरुभन्दा बलियो छ भन्ने सबैलाई लागेको थियो । फेरि विपक्षी टिमसँग नेपालको रेकर्ड पनि राम्रै थियो । त्यसैले नेपालले स्वभाविक रुपमा उपाधिको लक्ष्य राखेको थियो । तर नेपालले विपक्षीको तयारी र खेलस्तर कस्तो छ भन्ने ख्याल राखेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment