+
+

कोरोनाविरुद्ध सांसदका सुझाव–संसद रोक्नेदेखि रक्सीमुक्त देश घोषणासम्म

स्वास्थ्यमन्त्रीको जवाफ–डाक्टरले भनेको मान्नु,डाक्टरले गरेको नगर्नु

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७६ फागुन २३ गते १९:०७

२२ फागुन, काठमाडौं । संसारभर अतंकका रुपमा फैलिए पनि अहिलेसम्म नेपालमा भित्रीनसकेको कोरोना भाइरसविरुद्ध सांसदहरुले जमेर छलफल गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कोरोना भाइरस (कोभिड–१९) बारे जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलका क्रममा सांसदहरुले रमाइला सुझावसमेत दिए ।

शुक्रबार संसद भवन नयाँवानेश्वरमा बसेको बैठकमा पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका सांसद गगन थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका हुन् । उक्त प्रस्तावको समर्थकमा कांग्रेसकै सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र नारायण खड्का छन् ।

कोरोनाविरुद्ध सबै एकजुट भएर राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नुपर्ने भन्दै थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका हुन् ।

सांसद थापाले सरकारलाई दिएका मुख्य सुझावहरु

१. इरानलाई हेरेर कार्ययोजना बनाऔं

सांसद थापाले इरानलाई हेरेर कार्ययोजना बनाउन सरकारलाई सुझाव दिए ।

‘इरानको जस्तो भयो भने के गर्ने ? एक जनामा पनि संक्रमण नभएको भनेर सुत्दै गर्दा बिहान उठ्दा दुई वटा मृत्यु र सयौं संक्रमित भएको खबर आयो । संसदहरु संक्रमित भएको कुरा आयो । कामना गरेर बस्ने कि समयको सदुपयोग गर्ने ?’ थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै भने ।

सीमामा छेकबार र खुला सिमानाका कारण नेपाल उच्च जोखिममा रहेको उनको बुझाइ छ । कोरोना रोकथामका लागि सरकारलाई स्पष्ट कार्ययोजना ल्याउन र त्यो सार्वजनिक गर्न थापाले माग गरे ।

‘कुन देशमा आवतजावत पूर्ण रुपमा रोक्ने हो ? कार्ययोजना चाहियो । बाहिर जाने कुरामा श्रम, शिक्षा मन्त्रीहरुको कुरा फरक छ । सांसदहरु जापान गइराख्नुभएको छ । फरक फरक सोच रहेको छ । सरकारले एउटा कुरा भन्नुपर्‍यो ।’

संसदमा प्रस्ताव दर्ता गर्दै सांसद थापाले नेपालमा कोरोनाको संक्रमण देखिएको छैन् भनेर ढुक्क हुन नहुने र त्यसबाट बच्नका लागि तयारी गरिराख्नु बताए । ‘अहिलेसम्म मुलुकमा संक्रमण देखिएको छैन्न हामी ढुक्क भएका छौं,’ थापाले भने, ‘यस्तै ढुक्क भएर बसिरहँदा इरानमा जस्तै एक्कासि धेरै व्यक्तिमा संक्रमण देखियो भने के गर्ने ?’

एकिकृत कार्ययोजना बनाएर तत्काल कार्यान्वयनमा जानुपर्ने र कार्ययोजना सार्वजनिक हुनुपर्ने उनको माग छ ।

२. संसदबाट विशेष समिति गठन गरौं

थापाले कोरोना भाइरस (कोभिड–१९) बारे सरकारलाई सुझाव दिने गरी संसदबाट विशेष समिति बनाउन माग पनि गरे ।

सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोनाबारे सर्तकता अपनाउने सम्बन्धी कार्यका लागि उच्चस्तरीय समिति बनाएर काम गरिरहेको छ । उक्त समितिलाई सुझाव दिन र उच्चस्तरीय समितिले लागू गर्ने कार्यायोजनाको अनुगमन गर्ने अधिकार संसदबाट विशेष समितिलाई दिने उनको प्रस्ताव छ ।

जवाफमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पहिले पनि संसदले विशेष समितिहरु गठन गरेको स्मरण गरे । तर, थापाको प्रस्तावका सम्बन्धमा प्रष्ट जवाफ दिएनन ।

३. स्वदेशी औषधीलाई प्रोत्साहन गरौं

सांसद थापाले स्वदेशी औषधीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

पछिल्लो समय भारतले विभिन्न औषधी निर्यातमा रोक लगाएको छ । नेपालले नेपालमा औषधी नरोक्न आग्रह गरिरहेको प्रसंग जोड्दै थापाले स्वदेशी उत्पादनमा जोड दिनुपर्ने र स्वदेशी औषधिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । मास्क पनि नेपालमै उत्पादन गर्न सकिने उनले बताए ।

अस्पतालमा रहेका बेडलाई आइसोलेसन बनाउन मिल्ने पनि उनको सुझाव छ ।

४. प्रयोगशालाको आईसीयूलाई २४ सै घण्टा खुला राखौं

टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको आईसीयूलाई २४ सै घण्टा खुला गर्नुपर्ने पनि सांसद थापाको प्रस्ताव छ ।

२४ घण्टा काम गर्दा हप्ताको १२ सय र अन्य अस्पताल गरी १६ सय जति बिरामीको परिक्षण÷उपचार गर्न सकिने उल्लेख गर्दै उनले स्वास्थ्यकर्मीलाई तालिम दिएर तयारी अवस्थामा राख्नुपर्नेमा पनि जोड दिए ।

संक्रमण भए/नभएको पत्ता लगाउने ल्याबको क्षमतामा समेत वृद्धि गर्नुपर्ने थापाको सुझाव छ ।

स्वास्थ्यकर्मीहरुको बिमा गर्नुपर्ने, प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने पनि उनको माग छ ।

५. सीमा नाकामा ख्याल गरौं

सांसद थापाले सरकारलाई सिमानाकामा ख्याल गर्न पनि सुझाव दिएका छन् । खुला सिमानाका कारण नेपालमा बढी जोखिम रहेको उनको निश्कर्ष छ ।

नेपाल प्रवेश गर्ने मानिसहरुको आवतजावतमा ख्याल गर्नुपर्ने, ती मानिस कहाँ छन् भन्ने जान्न ट्राभल ट्रयाक गर्नुपर्ने व्यवस्थाको माग गरे ।

इटली, जापान, इरानबाट एक हजार तीन सय ७८ जना नेपाल आएको, भारतलगायत देशले भिसा रद्ध गरेको जस्ता तथ्यहरु पनि उनले पेश गरे ।

नेपाल आउनेको मात्रै नभएर विदेश जानेको पनि ख्याल गर्न उनको सुझाव छ । ‘सरकारले स्वदेशमै भीडभाड, भोजभतेर नगर्न आग्रह गरिरहेका बेला मन्त्री तथा सांसद नै वैदेशिक भ्रमणमा छन’ थापाले भने ।

मानिसको आवतजावत कम हुँदा होटल, बैंक प्रभावित हुन सक्ने भन्दै थापाले अर्थतन्त्रबारे सोच्नुपर्नेमा पनि जोड दिए ।

कोरोनाको त्रास फैलाएर कालोबजारी गर्ने र खाद्यान्न लगायतको आपूर्ति प्रणाली बिग्रन नदिने गरी काम गर्नुपर्ने पनि उनको सुझाव छ ।

सांसदका सुझाव– सदन रोक्नेदेखि रक्सी बन्द गर्नेसम्म

थापाले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सत्ता र प्रतिपक्षका समेत ३९ जना सांसदले भाग लिए । उनीहरुले सरकारलाई थरीथरीका सुझाव दिएका छन । शून्य समयमा समेत सांसदहरुले कोरोना त्रास र सर्तकताकबारे सरकारको ध्यानाकर्षण गरे ।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले सांसद र मन्त्रीहरुलाई कोरोनाको संक्रमण भएको नभएको परीक्षण गरेर मात्रै संसद छिर्ने व्यवस्था गर्न माग गरे । अन्यथा संसद अविलम्ब बन्द गर्नुपर्ने उनको प्रस्ताव छ ।

जवाफमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले संसदलाई लामो नगरौं भन्ने विषयलाई सकारात्मक रुपमा सोच्ने बताए ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले तत्काल स्कुल कलेज बन्द गर्न माग गरिन् ।

जिल्ला प्रशासन कार्यलयले भिडभाडमा नजानु, घरबाट बाहिर ननिस्कनु भनेर सर्कुलर गरेको प्रसंग उल्लेख गर्दै सचेकत भुसालले स्कुल कजेलहरुलाई तत्कालै बन्द गर्न माग गरेकी हुन् ।

कांग्रेसका सांसद तेजुलाल चौधरीले भने कोरोनाबाट बच्न रक्सी बन्द गर्नुपर्ने बताए ।

‘कम्तीमा एक महिनाका लागि शाकाहारीको व्यवस्थापन होस् । एक महिनाको लागि भएपनि यो देशलाई रक्सी मुक्त देश बनाओस्’ उनले भने ।

कोरोना भाइरसबाट सतर्कताका लागि शाकहारी बन्‍नुपर्ने उनले बताए । जवाफमा स्वास्थ्यमन्त्री ढकालले व्यक्तिको खानेकुरामाथि बन्देज लगाउन नहुने भन्दै मासु राम्ररी पकाएर खान सुझाव दिए ।

जरुरी सार्वजनिक प्रस्तावमा समर्थन गर्दै कांग्रेसकै सांसद दिव्यमणि राजभण्डारीले औषधी, मास्क कृत्रिम अभाव र मूल्य वृद्धि गराउनेलाई जेल हाल्न माग गरे । मास्क लुकाउने, औषधी लुकाउनेलाई २ लाख रुपैयाँ जरिवाना मात्रै होइन जेल जेल हाल्नुपर्ने उनको भनाइ थियो ।

नेकपाका प्रमुख सचेक देव गुरुङ, सांसदहरु खगराज अधिकारी, रामकुमारी झाँक्रीलगायतले कोरोनाबारे वास्ताविकता भन्दा ज्यादा अफवाह फैलिएको भन्दै त्यसतर्फ ख्याल गर्न सरकारको ध्यानाकर्षण गरे । उनीहरुले पनि सरकारलाई एकिकृत र आधिकारिक धारणाको माग गरे ।

स्वास्थ्यमन्त्री ढकालको जवाफ

जवाफमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाबाट बच्नका लागि सरकार पूर्वतयारीमा लागिरहेको बताए ।

नेपालमा संक्रमण भेटिइहालेको खण्डमा के गर्ने ? भन्ने सन्दर्भमा १५५ वटा बेड बिभिन्न अस्पतालहरुमा तयार गरेको, सात वटा अस्पताललाई अवको रुपमा विकास गरिएको जानकारी दिए ।

सांसद गगन थापाले इरानको जस्तो थाहै नभइ संक्रमण भित्रियो भने के गर्ने ? भनेर सोधेका थिए जवाफमा मन्त्री ढकालले भने, ‘त्यतिखेर संकटकाल घोषणा गरेर सबै स्वास्थ्य केन्द्रहरु, पायमा रहेका होटेलहरु र सार्वजनिक स्थलहरुलाई प्रयोग गर्ने बारेमा अहिलेदेखि नै हेक्का राख्नुपर्छ भन्नेमा मेरो ध्यान गएको छ ।’

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोनाबारे सर्तकता अपनाउने सम्बन्धी उच्चस्तरीय समिति बनाएर काम गरिरहेको उनले जानकारी दिए । यसको अलावा मुख्य मन्त्रीको नेतृत्वमा प्रदेशहरुमा समेत संयन्त्र निर्माण गरिएको, नाकामा सम्बन्धित स्थानीय तहका प्रमुखको अध्यक्षतामा संयन्त्र निर्माण गरेर काम गरिरहेको बताए ।

डब्लुएचओलगायतबाट अन्तर्राष्ट्रिय सहयोग समेत प्राप्त भएको उनले जानकारी दिए ।

कालाबजारीको अनुगमन गर्ने, राज्यको तर्फबाट प्रयाप्त सामाग्री उपलब्ध गराउने विषयमा सरकार जिम्मेवार हुने उनको प्रतिवद्धता छ ।

उनले हालसम्म विश्वमा यसको परेको प्रभावका सन्दर्भमा पनि जानकारी गराए । मन्त्री ढकालका अनुसार ८९ देशमा संक्रमण फेला परेका छन । ९८ हजार ४०७ जनामा संक्रमण भएको, ३३ हजार ८७ जनाको को मृत्यु भएको, ५५ हजार बढी उपचारपछि घर फर्किएका छन् । छिमेकी भारतमा पनि संक्रमण भेटिएको सुनिएको र नेपालमा हालसम्म नभेटिएको उनले बताए ।

डाक्टरले भनेको मान्नु, डाक्टरले गरेको नगर्नु !

स्वास्थ्य मन्त्री ढकालले कोरोनाबाट बच्न के गर्ने के नगर्ने भन्ने विषयमा डाक्टरले भनेको मान्न आग्रह गरे ।

नेकपाकै सांसद रामकुमारी झाँक्रीले कोरोना के हो ? यसबार कसरी बच्ने भनेर सरकारले प्रष्ट रुपमा भन्नुपर्ने आशयसहित सरकारको ध्यानाकर्षण गरेकी थिइन् ।

मन्त्री ढकालले ढकालले ठट्यौलो पारामा जवाफ दिए –’स्वास्थ्य नपढेको मान्छे स्वास्थ्यमन्त्री भइएको छ । डाक्टरहरुले भनेको गर्नु, गरेको नगर्नु । पहिले एउटा उखान थियो, सरहरुले भनेको मान्नु, सरहरुले गरेको नगर्नु भने जस्तै ।’

यस्तै, नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिको परीक्षण गरेर मात्रै आवतजावत गर्न दिने पनि मन्त्री ढकालले बताएका छन् । उमालेको पानी पिउन, राम्ररी पकाएको खाना खान उनको सबैलाई सुझाव छ ।

संकटमा पर्नु भन्दा अगाडि नै कोरोनाविरुद्धको सचेतना र सर्तकताका लागि सबै पक्ष एक भएको भन्दै उनले खुसी प्रकट गरे ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्युरोमा आबद्ध बजगाईं मुलतः संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?