+
+

पार भयो कोरोना महामारीको तेस्रो लहर

कोरोना भाइरस कमजोर बन्दै जाँदा अब यो महामारीको अन्त्य हुन्छ कि भन्ने आकलन गरिएको छ । तर, जनस्वास्थ्यविद्हरु कोरोना महामारीको अन्त्यको अनुमान गर्न नसकिने र नयाँ–नयाँ भेरियन्टको जोखिम कायम नै रहने बताउँछन् ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७८ माघ २८ गते १६:५०

२८ माघ, काठमाडौं । कोरोना संक्रमितको उपचारका केन्द्रित टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई हप्ताअघि जनरल, आईसीयू, भेन्टिलेटर, एचडीयुमा गरी २२ जना बिरामी थिए ।

दैनिक रूपमा ६–७ जना भर्ना हुन्थे । तर, हिजोआज बिरामी आउन छाडेका छन् । अहिले अस्पतालको जनरल वार्डमा चार आईसीयूमा एक जना उपचारत छन् ।

टेकु अस्पतालको दृश्यलाई कोरोना महामारीमा नेपालभरको ‘प्रतिबिम्ब’ मान्न सकिन्छ ।

‘एक हप्ता अगाडि आईसीयू र जनरल वार्डमा बिरामीको चाप थियो । तर, अहिले सबै बेडहरु खाली हुँदै गएका छन्,’ अस्पतालका सूचना अधिकारी नवराज गौतम भन्छन् ।

उसो त, दैनिक रुपमा गरिएको नमूना परीक्षणमा पनि संक्रमितको संख्या घट्दै गएको छ । ८ माघमा ५० प्रतिशतभन्दा माथि पुगेको संक्रमणदर हिजोआज १३–१४ प्रतिशतमा झरेको छ । जनस्वास्थ्यविद्हरुका अनुसार नेपालमा तेस्रो लहरको जोखिम टरेको छ ।

जीवाणुविज्ञ डा. सन्तोष दुलाल ओमिक्रोनको पुनः संक्रमण नबढ्ने अनुमान लगाउँछन् । उनी भन्छन्, ‘माघ दोस्रो हप्तासम्ममा धेरै मानिस संक्रमित भइसकेका छन् । तीमध्ये केहीलाई लक्षण देखियो भने धेरैलाई लक्षणरहित संक्रमण भयो ।’

नेपालमा पुस २१ गतेदेखि बढ्न थालेको ओमिक्रोनको संक्रमण माघ दोस्रो सातादेखि घट्न थालेको थियो । तेस्रो लहरको उच्च विन्दुमा पुग्दा परीक्षण गरेका दुईमध्ये एक जनामा संक्रमण देखिएको थियो । तर यसपटक धेरै संक्रमितले परीक्षण नगरेको पाइएको छ । ‘ओमिक्रोन भेरियन्टबाट अधिकांश व्यक्तिहरु संक्रमित भइसकेका छन् । जति संक्रमण पर्नुपर्ने हो तेस्रो लहरको उत्कर्षसम्ममा पारिसकेको छ,’ डा. दुलाल भन्छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेल अब संक्रमणदर ह्वातै उकालो नलाग्ने बताउँछन् । तर, निषेधाज्ञा खुलेसँगै संक्रमितको संख्या बढे पनि धेरै बढ्न नसक्ने उनको अनुमान छ । ‘निषेधाज्ञा खुलेसँगै संक्रमणदर थोरै बढेजस्तो देखिन्छ । तर, त्यो धेरै दिनसम्म रहँदैन । हामी तेस्रो लहरको अन्त्यमा आइपुगेको छौं,’ डा. पौडेलले भने ।

पहिलो र दोस्रो लहरको तुलनामा ओमिक्रोन भेरियन्टका कारण फैलिएको कोरोना महामारीको तेस्रो लहर सामान्य क्षतिमा पार भएको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् ।

सरूवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन संक्रमण फेरि फर्किन नसक्ने अनुमान लगाउँछन् । ‘ओमिक्रोनबाट धेरै संक्रमित भइसकेका छन् । अन्य भेरियन्टको तुलनामा ओमिक्रोनले धेरै मानिसलाई संक्रमण गर्‍यो । अस्पतालको दृश्य, संक्रमणदर तल झर्दै गएकाले अब तेस्रो लहरको जोखिम टरेको भन्न सकिन्छ,’ डा. पुन भन्छन् ।

अस्पतालमा शय्या खाली हुँदै, मृत्युदर भने बढ्दै

पछिल्लो समय काठमाडौं उपत्यकाका सरकारी अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको संख्या पनि घटेको छ । केही दिनयता अस्पतालमा भर्ना हुन आउनेको संख्यामा कमी भएको विभिन्न अस्पतालका कोभिड–१९ फोकल पर्सनहरु बताउँछन् ।

टेकु लगायतका काठमाडौं उपत्यकाका प्रमुख अस्पतालमा तेस्रो लहर उत्कर्षमा भर्ना हुने बिरामीको चाप बढेको थियो । तर, ती अस्पतालमा अहिले बिरामी संख्या घटिसकेको छ ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का कोभिड कोअर्डिनेडर डा. उमेश बोगटी भर्ना हुने संख्या घटिरहेको बताउँछन् । ‘कोरोना संक्रमितको संख्या घटेको देखिन्छ । तर, पूरै घटेको होइन । अहिले केही दिनको तथ्यांकलाई हेर्दा स्थिर भएको देखिन्छ,’ उनले भने ।

दोस्रो लहरको तुलनामा यसपटक गम्भीर अवस्थाका संक्रमित निकै कम रहेको उनी बताउँछन् । ‘धेरै संक्रमितहरू लक्षणविहीन वा रूघाखोकी जस्ता सामान्य लक्षण भएको पाइयो । अक्सिजन चाहिने र भेन्टिलेटर चाहिने बिरामीको संख्या पहिलेभन्दा कम भयो,’ डा. बोगटी भन्छन्,’ दीर्घरोगी र ज्येष्ठ नागरिकलाई ओमिक्रोनले बढी असर गर्‍यो । संक्रामक भएपनि क्षति भने न्यून भयो ।’

कोरोना संक्रमण दर घट्दै जाँदा मृत्युको संख्या भने बढेको देखिन्छ । माघको दोस्रो साताबाट संक्रमण दर घटिरहँदा मृत्युको संख्या भने केही बढेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार दैनिक रूपमा ८– १० जनाले ज्यान गुमाइरहेका छन् । तर, यी व्यक्तिहरु दुई हप्ताअघि अस्पताल भर्ना भएकाहरु हुन् ।

‘संक्रमण उच्च भएको समयमा अस्पतालमा भर्ना र मृत्युदर बढ्दैन । संक्रमितको संख्या दुई हप्ताअघि उच्च विन्दुमा पुगेको थियो । त्यसको एक सातापछि अस्पताल भर्ना हुने संख्या बढ्यो । अहिले मृत्युको संख्या बढी देखिएको हो । यो संख्या विस्तारै कम हुँदै जान्छ’, डा. पुन भन्छन् ।

नाका व्यवस्थित नहुँदा संक्रमण फैलियो

कोरोनाको नियन्त्रण र रोकथाम गर्ने पहिलो अस्त्र क्वारेन्टिन र होल्डिङ सेन्टर नै भएको जनस्वास्थ्यविद्हरु बताउँछन् । तर, तीन तहका सरकारबीच समन्वयको अभाव हुँदा संक्रमण नियन्त्रणभन्दा बाहिर गएको विज्ञको ठहर छ ।

पहिलो तथा दोस्रो लहरमा नाका व्यवस्थित नहुँदा क्षति भोग्नुपरेको देख्दै गर्दा सरकारले तेस्रो लहरमा पनि सीमामा संक्रमितलाई अलग गर्ने कुनै संरचना बनाउन सकेन ।

जसका कारण भारतबाट आएका धेरै संक्रमित घर–घर पुगे । भाइरोलोजिष्ट डा. जनक कोइराला सरकारले नाका व्यवस्थित नगर्दा संक्रमण फैलिन मद्दत पुगेको बताउँछन् ।

‘पहिलाको लरहमा नाका व्यवस्थित नहुँदा क्षति ब्यहोर्नुपरेको देख्दादेख्दै पनि सरकारले दुई वर्षसम्म पनि क्वारेन्टिन र होल्डिङ सेन्टर निर्माण गर्न सकेन,’ डा. कोइराला भन्छन्,‘ नाका व्यवस्थापनमा चुक्दा ओमिक्रोन डढेलोसरी फैलियो ।’

अन्य भेरियन्टको जोखिम कायमै 

कोरोना महामारी सुरू भएदेखि डेल्टा, अल्फा लगायतका भेरियन्टहरु नेपालमा देखिए । अन्य भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक रहेपनि कम घातक देखियो ।

कोरोना भाइरस कमजोर बन्दै जाँदा अब यो महामारीको अन्त्य हुन्छ कि भन्ने आकलन गरिएको छ । तर, जनस्वास्थ्यविद्हरु कोरोना महामारीको अन्त्यको अनुमान गर्न नसकिने र नयाँ–नयाँ भेरियन्टको जोखिम कायम नै रहने बताउँछन् ।

ओमिक्रोनलाई अन्तिम भेरियन्ट भन्न नसकिने जीवाणुविज्ञ डा. सन्तोष दुलालको भनाइ छ । ‘कोरोना भाइरस परिवर्तनशील र चलाख छ । परिवर्तनशील भएका कारण कुनै समय एकदमै संक्रामक रुप देखायो भने कुनै समय गम्भीर,’ डा. दुलाल भन्छन्, ‘अन्य भेरियन्टले अर्को लहर ल्याउने सम्भावना कायम छ । किनकि यो भाइरस चलाख खालको छ । विभिन्न स्वरुप देखाएर बाँच्न खोजिरहेको देखिन्छ ।’

त्यस्तै, धुलिखेल अस्पतालका जेनेटिक ल्याब प्रमुख प्रा.डा. राजीव श्रेष्ठ पनि भाइरस म्युटेसन (परिवर्तन) भइराख्ने बताउँछन् । भाइरसको स्वभाव नै परिवर्तनशील हुने भएकाले ओमिक्रोन पनि परिवर्तन भएर अर्को शक्तिशाली नआउला भन्न नसकिने उनको भनाइ छ ।

‘तेस्रो लहरमा संक्रमित भएका तथा खोप लगाइसकेका मानिसमा संक्रमण भयो । यसले के प्रष्ट पार्छ भने भाइरसले नयाँ नयाँ स्वरुप फेरेर पुन संक्रमण गर्न सक्छ । त्यस कारणले नै ओमिक्रोन अन्तिम भेरियन्ट भन्न सकिँदैन,’ श्रेष्ठ भन्छन् ।

डा. दुलाल चार–पाँच महिनापछि अर्को लहर आउन सक्ने अनुमान लगाउँछन् । उनका अनुसार त्यो लहर कत्तिको घातक हुन्छ भन्ने त्यतिबेलाको भेरियन्टको विशेषताले नै पुष्टि गर्छ । ‘कुनै ठाउँबाट नयाँ भेरियन्ट उत्पत्ति भएको खण्डमा संक्रमणले व्यापकता ल्याउन सक्छ,’ डा. दुलालले भने, ‘नयाँ उत्परिवर्तित भाइरस आयो भने त्यसले गर्दा हाम्रो शरीरमा बनिसकेको प्रतिरोध क्षमतामा ह्रास हुन्छ । जसका कारण पुन: संक्रमण व्यापकता ल्याउन सक्छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. पौडेल ओमिक्रोनको संक्रमणदर घटे पनि नयाँ भेरियन्टको जोखिम सधैं कायम हुने बताउँछन् । ‘कोरोनासँग सधैं मिलेर बस्नुपर्छ । ओमिक्रोन नै अन्तिम हो भनेर सोच्नु गलत हो । जनस्वास्थ्यका मापदण्ड लापरबाही हुँदा अर्को भेरियन्ट नआउँला भन्न सकिदैन,’ डा. पौडेलले भने ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?