+
+

सरकारले ‘फुड ट्रक’ रोक्यो अनि सुरु भयो ‘बर्गर डट कम’

गारब योञ्जन गारब योञ्जन
२०७८ माघ २२ गते २०:१०

२२ माघ, काठमाडौं । पेप्सीकोला टाउन प्लानिङभित्र मनोहरा खोलाको अलिक माथि बा २ ख ७८१२ नम्बरको झिल्के रंगको फोर्स गाडी उभिएको भेटिन्छ । झलक्क हेर्दा सामान्य लाग्ने यो गाडी राज्यको कमजोर नीतिले निम्त्याएको समस्याको भारी र एउटा संघर्षको कथासँग जोडिएको छ । यावत् उतारचढावका बीच पनि अन्ततः यसले एउटा सशक्त सन्देश दिन्छ– ‘उद्यमको नयाँ सम्भावना पनि छ ।’

भक्तपुरका गजेन्द्र बस्नेतले लामो समय थन्काएर राखेको यो गाडीले करिब दुई वर्षअघि मात्र पुनर्जीवन पाएको हो । सर्लाहीको बागमती नगरपालिका–८, शंकरपुरका रवीन्द्र कटुवालले उक्त गाडीलाई पुनर्जीवन दिएका हुन् ।

कटुवालले बस्नेतसँग एकलाख ५० हजार रुपैयाँमा थन्किएको गाडी किने । उनले ८८ हजार खर्च गरेर इन्जिन मर्मत गर्दै गाडीलाई झण्डै नयाँ जस्तै बनाए ।

पुरानो गाडीमा नयाँ योजना

गाडी पुरानो किने पनि कटुवालसँग नयाँ योजना थियो । एउटा फोर्स गाडीलाई पुनर्जीवन दिएपछि उनले त्यसमा ग्याँसलाइनको लागि पाइप जडान गरे । भित्र मम, बर्गर जस्ता परिकार बन्थ्यो । बाफ जानको लागि छतपट्टि अलिकति खाली ठाउँ छाडिदिए ।

पछाडिको ढोकाबाट मान्छे सजिलै भित्र छिर्नमिल्ने बनाए । छेउको झ्याललाई फराकिलो गरी एउटै बनाएर त्यहाँबाट ग्राहकलाई सर्भिस दिन मिल्ने गरी व्यवस्थापन गरे । अन्ततः गाडी एउटा सानो रेस्टुरेन्टको आकारमा ढलिसकेको थियो । यसको लागि उनले थप साढे ३ लाख रुपैयाँ खर्च गरे ।

ट्राफिक र महानगरको कानुनी डण्डा

टोलमा कुनै मम पसल चल्यो भने नजिकै प्रशस्तै नयाँ मम पसल थपिन्छन् । तर, कटुवालले देखासिकीभन्दा कुनै नयाँ काम गर्ने योजना बनाए । उनको यो योजना कतिपय देशका लागि पुरानै अभ्यास भएपनि नेपालको सन्दर्भमा नयाँ थियो ।

उनको दिमागमा नयाँ योजना बन्यो । उनले व्यवसाय गर्ने नयाँ ‘आइडिया’ सोचे । यस्तो आइडिया जसले कुनै अतिरिक्त खतरा पैदा गर्ने जोखिम सिर्जना गर्दैन । तर उनको योजनालाई नेपालको कानुनले चिनेन ।

छिटोछिटो खानेकुरा तयार हुने र बाटोमा पनि खाँदै हिँड्न मिल्ने भएकोले उनको योजनालाई ग्राहकहरूले मन पराउँदै गए । बिस्तारै उनकोमा ग्राहकहरूको भीड बढ्न थाल्यो । तर उनले मोटरमै खानेकुरा बनाउन थालेपछि बिस्तारै ट्राफिकको नजर पर्न थाल्यो ।

महानगरले पनि कानुन नभएको भन्दै ‘फुड ट्रक’ सञ्चालनमा अवरोध गर्न थाल्यो । जताजतैबाट अवरोध सिर्जना हुन थालेपछि एउटा नयाँ उद्यमशील कामको बीचैमा पूर्णविराम लाग्यो । बहाना बनाइयो– कानुनको ।

गाडीको मर्मतको लागि साढे ३ लाख र अरू सामानको सहित गर्दा साढे ५ देखि ६ लाखमा एउटा राम्रै उद्यम गर्न सकिने दाबी गर्छन्, कटुवाल । तर राज्यले कानुन छैन भनेर आफ्नै नागरिकलाई उद्यम गर्नबाट रोक्नेभन्दा पनि कानुन बनाउनतिर लाग्नुपर्नेमा उनी जोड दिन्छन् । आफूले रातिको समयमा दरबारमार्ग क्षेत्रमा ‘फुड ट्रक’ सञ्चालन गर्छुभन्दा पनि राज्यबाट अनुमति नपाएको उनको गुनासो छ ।

पूर्णबिराम नलागेको उत्साह

सधैंभरि महानगर र ट्राफिकको टोकसो आउन थालेपछि कटुवाल ‘फुड ट्रक’ व्यवसायबाट पछि हटे । उद्यमको बाटोमा राज्य नै तगारो बनेपछि एकजना ‘निरीह’ नागरिकको के लाग्छ र ?

राज्यले रोक्न खोजेपछि नयाँ–नयाँ काम गर्ने उनको उत्साह रोकिएन । त्यसपछि उनी एउटा स्थायी बर्गर हाउसको खोजीमा अघि बढे । लामो समय दुबईको रेस्टुरेन्टमा काम गरेको अनुभवले नेपालमै केही नयाँ गर्ने विचार आइरहेको थियो । एउटा योजना त सफल हुन सकेन ।

त्यसपछि उनले पेप्सीकोला टाउन प्लानिङको अग्लो ठाउँमा एउटा जग्गा भाडामा लिए । उनले जग्गा भाडामा लिँदा त्यहाँ बगर जस्तो बालुवा नै बालुवा थियो । सबैले उनलाई रेस्टुरेन्ट चलाउन ‘क्राउड’ चाहिने भन्दै त्यहाँ रेस्टुरेन्ट नचल्ने बताइरहेका थिए । तर उनको आत्मविश्वासले मानिसहरूको पूर्वानुमान पत्याएन । पहिलो लकडाउनको प्रतिकूलता लगत्तै उनले रेस्टुरेन्ट सुरु गरे ।

बर्गर बेच्ने योजना

व्यवसाय गर्न अनेकौं विकल्प छन् । तर, बर्गर नै रोजाइमा कसरी पर्‍यो ? उनको सहज जवाफ छ, ‘काठमाडौंमा धेरै ठाउँमा बर्गर खाइयो, तर सबैले पाउरोटीको परिष्कृत रूपलाई नै बर्गर भनेर बेचेको पाइयो । अनि लाग्यो, नेपालीहरूले वास्तविक बर्गर त खान पाएकै रहेनछन् ।’

त्यसपछि उनले वास्तविक स्वादसहित गुणस्तरीय बर्गर बनाउने अठोटका साथ नयाँ व्यवसाय सुरु गरेका हुन् । अहिले उनले एक वर्षको बीचमा नै २ वटा स्टोर थप गरिसकेका छन् भने यही वर्षभित्रै थप २ स्टोर थप गर्ने योजना बनाइरहेका छन् ।

रोजगारीका लागि दुबई यात्रा

सप्तरीको एउटा मध्यमवर्गीय परिवारमा जन्मिएका कटुवाल एसएलसी सकेर उच्च शिक्षाको लागि काठमाडौं आए । काठमाडौंमा आएर कमर्स विषय लिएर पशुपति क्याम्पसबाट आईए पढ्न थाले । पारिवारिक सम्पत्तिको नाममा सप्तरीमा एउटा घर थियो । दुई भाइको लागि त्यो अत्यन्त कम थियो । आफ्नो ज्यान पाल्नकै लागि पनि काम गर्नुको विकल्प थिएन ।

काम खोज्दै जाँदा उनले पाए स्यानिटरी प्याडको मार्केटिङ गर्ने काम । त्यतिबेलासम्म पुरुषहरुले खासै स्यानिटरी प्याड बेच्ने प्रचलन थिएन । तर उनी निःसंकोच चुनौतिपूर्ण काम गर्न तयार भए । रिक्सामा स्यानिटरी प्याड बोकेर पसलपसल चहार्थे । त्यहाँबाट उनले मार्केटिङको पहिलो अनुभव लिए । उनी त्यतिबेला जीवनकै सबैभन्दा संघर्षपूर्ण समयबाट गुज्रिइरहेका थिए ।

११ महिना स्यानिटरी प्याड बोक्दै रिक्साको पेडल घुमाएपछि उनी ‘च्यानल’ मिलाउँदै नयाँ बानेश्वरको एभरेस्ट होटलमा जागिर खान सफल भए । ‘काम त सुरुमै के मिल्थ्यो भाँडा माझ्ने नै हो । तर तलब २५०० बाट ३५०० पुगेकोले मन रमायो ।’

होटलमा भाँडा माझ्दै जाँदा उनलाई वेटर बन्ने रहर जाग्यो । उनले सेफहरुसँग आफ्नो इच्छा सुनाए । ‘त्यतिबेलै एभरेस्ट क्यासिनोमा वेटरको तालिम पनि चलिरहेको रहेछ । म तालिमसँगै सेफको काम गर्न पुगेँ’ उनी भन्छन्, ‘नेपालमा सेफ बन्न विदेशमा जस्तो धेरै गाह्रो छैन । मैले ३५०० रुपैयाँबाट एकैपटक ८ हजार रुपैयाँ तलब बुझ्न थालेँ ।’

वेटरको काम गर्दैगर्दा उनको विदेशी पाहुनाहरुसँग राम्रो हिमचिम बढ्यो । अंग्रेजीमा त्यस्तो समस्या नभएका कटुवाललाई ‘गेस्ट’हरूले नै युएईमा जागिर खान जाने प्रस्ताव गरे । ८ हजार रुपैयाँले जीवन धान्न मुस्किल थियो ।

घरभाडा र महँगी बढिरहेकै बेला उनको काँधमा नयाँ जिम्मेवारी थपियो-भाइलाई काठमाडौंमा पढाउने । रवीन्द्रलाई रोजगारी दिइरहेको क्यासिनो भने कतिबेला बन्द हुने हो भन्ने अन्यौलमा थियो । उनी जीवनका अप्ठ्यारा गाँठा फुकाउने प्रयास गरिरहँदा १० हजार रुपैयाँ तिरेर वर्किङ भिसामा दुबई पुगे ।

सधैंभरि महानगर र ट्राफिकको टोकसो आउन थालेपछि कटुवाल ‘फुड ट्रक’ व्यवसायबाट पछि हटे । उद्यमको बाटोमा राज्य नै तगारो बनेपछि एकजना ‘निरीह’ नागरिकको के लाग्छ र ?

बर्मा गए कर्मसँगै भनेजस्तै दुबई पुगेर पनि उनलाई भाडा माँझ्ने कामले छाडेन । ‘चिज केक’ नामको रेस्टुरेन्टमा भाँडा माँझ्दामाँझ्दै उनी असिस्टेन्टसम्म भए । त्यहीक्रममा उनको भेट भयो– उनलाई दुबई ल्याउने ‘गेस्ट’सँग । उनी त कटुवाल कार्यरत कम्पनीको जनशक्ति व्यवस्थापन गर्ने मानिस पो रहेछन् ।

भेटमा उनले सोधे, ‘काममा कत्तिको सन्तुष्टि छ कटुवाल ?’ जवाफमा उनले आफूलाई धेरै आइटम बन्ने रेस्टुरेन्टमा काम गर्ने इच्छा रहेको बताए । उनी इटालियन रेस्टुरेन्टमा पुगे । इटालियन रेस्टुरेन्टमा पुगेपछि कमी, कुक, सिडिपी जस्ता अनेक क्षेत्रमा चहार्ने मौका मिल्यो । पछि सुपरभाइजर हुँदै किचन सेफसम्म बने ।

११ वर्षसम्म अलसाया भन्ने कम्पनीमा काम गरेपछि उनी कोरोना महामारी सुरु भएपछि उनी नेपाल झरे । ‘मैले बिहान बेलुका र ओभरटाइम नभनी २ घण्टा अगाडि नै आएर काम गर्दै लगनशीलता देखाएपछि मलाई ओपनिङ सेफ बनाएर पठाए’ उनी भन्छन्, ‘ओपनिङ सेफले आफूले नयाँ खोल्दा पनि कसरी काम गर्ने भन्ने कुरा सिक्न सक्दोरहेछ ।’

पहिलो लकडाउनभन्दा अघि त्यो स्टोर बन्द गर्ने गाइँगुइँ चल्यो । विदेशमा चुनौती थिए र अवसर पनि । युवाहरू दौडधुप गरेर विदेशिने प्रयास गरिरहँदा कटुवाल ३२ वर्षको उमेरमा स्वदेश फर्किए । स्वदेशमै आफ्नो सिप बेचेर केही गर्नुपर्छ भन्ने उत्प्रेरणाले आफू नेपाल फर्किएको उनी बताउँछन् ।

बर्गर डटकम ब्राण्डको अन्तरकुन्तर

नेपालमा बर्गर भनेर पाउरोटीको उत्पादन बेच्ने गरेको देखेपछि उनको मनमा एउटा प्रतिबद्धता जागृत भयो– अब सस्तोमा मीठो स्वादसहितको बर्गर बेच्छु । यसका लागि उनले केही अध्ययन गरे । अध्ययनकै क्रममा सुरुमा उनले बर्गरको इतिहास खोजे । खोज्दै जाँदा उनले बर्गर दोस्रो विश्वयुद्धताका सुरु भएको पत्ता लगाए ।

लडाकुहरुलाई पाउरोटीमा कार्बोहाइड्रेट र प्रोटिन मिसाएर खुवाउँदै छिटोछिटो युद्धमा पठाउने गरिएको थियो भन्ने इतिहासले उनलाई लाग्यो ‘उताको लडाकु जस्तै यता पनि हतारमा रहेकाहरुलाई पनि त छिटो तयार हुने बर्गर खुवाएर भोक मेटाउन सकिएला नि ।’

उनले नेपाली बजारमा पाइने धेरै बर्गरमा बन्दाभित्र चप हालेर बेच्ने गरेको भेटे । केही समयको अध्ययनपछि उनले सुरुमा १० वटा कन्टेन्ट तयार पारेर बजारमा पठाए । आफ्नो कामलाई धेरैले मन पराएको कटुवालको अनुभव छ ।

बिस्तारै ग्राहकहरु खोजीखोजी त्यहाँ आउन थाले । बर्गर डटकमबाट बर्गर प्याकिङ गरेर लैजानेको संख्या थपिइरह्यो । टिन एजरदेखि बुढाबुढीसम्मले उनको बर्गर मन पराउन थाले ।

उनी नयाँ व्यवसाय सुरु गर्दा ग्राहकलाई ठग्ने हिसाबले अघि बढ्नु हुन्न भन्ने सोच सुरुदेखि नै राखेको बताउँछन् । थोरै पैसा भएकादेखि धेरै पैसा हुनेसम्मले बर्गर खान सकून् भन्ने हिसाबले यो ब्राण्डको विकास गरेको उनी बताउँछन् ।

‘हामी बन र प्लेटिङ आफैँ बनाउँछौं, चिकेनको होल किनेर ल्याएर आफैं बनाउनुका साथै सस पनि उत्पादन गछौं, त्यसैले हामी सस्तोमा बर्गर बेच्न सक्छौं,’ उनी भन्छन् ।

उनी उपभोक्ताको स्वास्थ्यप्रति सचेत रहेको दाबी गर्छन् । ‘म आफैँसँग हाइजनिक सर्टिफिकेटसमेत रहेकोले पहिले पकाएर आफूले खाइसकेपछि बल्ल म अरूलाई दिने गर्छु’ उनी भन्छन् ।

रवीन्द्र आफ्नो व्यवसायमा सफल भइसकेका छन् । नयाँ पुस्ताले स्वदेशमै अवसर खोज्नुपर्ने र यहाँका चुनौतीहरूलाई अवसरमा बदल्नुपर्ने उनको राय छ । ‘सजिलो छैन, तर प्रयास गरियो भने सकिँदो रहेछ’ उनी भन्छन्, ‘व्यवसायमा आउन चाहने नयाँ पुस्तालाई म सल्लाह सुझाव मात्र होइन, आवश्यक परे लगानी गर्न पनि तयार छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?