+

७ वर्षपछि राष्ट्रिय टिममा जितेन्द्रको पुनरागमन

२०७८ माघ  २९ गते २०:१३ २०७८ माघ २९ गते २०:१३
७ वर्षपछि राष्ट्रिय टिममा जितेन्द्रको पुनरागमन

२९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिममा जितेन्द्रकुमार मुखियाले सात वर्षपछि पुनरागमन गर्दै शनिबार युएईविरुद्ध खेले ।

ओमानमा भइरहेको चारदेशीय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले युएईविरुद्ध खेल्दा २९ वर्षीय जितेन्द्रले तीन ओभर बलिङ गरे । २५ रन खर्चिएर विकेटविहीन रहे । तर खेल भने नेपालले २५ रनले गुमायो । लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गर्दा जितेन्द्र निकै खुशी छन् । जितेन्द्रको प्रदर्शन पनि ठीकठाक रह्यो ।

जितेन्द्रको चाहना राष्ट्रिय टिममा रहिरहने छ । ‘कोसिस त यो हुन्छ कि राष्ट्रिय टिमका कन्टिन्यू गरिरहुँ । जितेन्द्रले ओमानबाट ह्वाट्सएप कुराकानीमा भने, ‘नेसनल टिममा राम्रो गरेर म्याचहरु जिताइराखौं भन्ने चाहना छ ।’

सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै दुई खेल जित्दा जितेन्द्रको निकै चर्चा भएको थियो । त्यसपछि उनले सन् २०१५ मा एक खेल खेल्न पाए । त्यसपछि भने चोटका कारण उनी राष्ट्रिय टिमबाट टाढिए ।

जितेन्द्रले हिम्मत हारेनन्, उपचार गराए, निको भएपछि फेरि क्रिकेटमा फर्किए र अहिले राष्ट्रिय टिममा पुनरागमन गरे ।

खेल नै सबैथोक

खेलाडीको लागि खेल्नु भन्दा ठूलो केही हुँदैन । अनि चोट भन्दा पीडादायी अर्को केही हुँदैन । जितेन्द्रले राष्ट्रका लागि खेलेर खुशी बटुले अनि चोटको पीडासमेत भोगे । त्यसैले उनीसंग दुवै खाले अनुभव छ ।

राम्रो फर्ममा रहेको खेलाडी चोट लागेर खेल्न नपाउँदा उनलाई पनि धेरै पीडा भयो । त्यो समय उपचारको राम्रो व्वयस्था पनि थिएन । ‘सुरुमा चोट लाग्दा लास्टै गाह्रो भएको थियो । त्यतिबेला के गर्ने, कसो गर्ने राम्ररी थाहा पनि थिएन । हामीसंग फिजियो पनि थिएन । उपचार गर्न कहाँ जाने भन्ने निर्णय गर्न पनि गाह्रो भएको थियो’ जितेन्द्र सम्झन्छन् ।

जितेन्द्रले उपचार गराए । ठीक भएपछि विभागीय टोली आर्मीबाट क्रिकेट खेल्न थाले । आर्मी नै त्यस्तो ठाउँ बन्यो जसले उनलाई क्रिकेट छाड्न दिएन । ‘चोट ठीक भएपछि आर्मीमा आवद्ध थिएँ । त्यही भएर गेमबाट टाढा भइन’ उनी भन्छन् ।

उनी क्रिकेटमा फर्किएपछि पछिल्लो दुई वर्ष घरेलु प्रतियोगिताहरुमा भने राम्रो प्रदर्शन गरे । आफ्नो प्रदर्शनका कारण उनलाई राष्ट्रिय टिममा फर्किने विश्वास थियो । ‘यति विश्वास थियो कि राम्रो प्रदर्शन गरेँ भने राष्ट्रिय टिममा फर्कने आशा थियो’ उनी भन्छन् ।

अब भने उनी राष्ट्रिय टिमबाट टाढा हुन चाहँदैनन् । ‘सात वर्षपछि सपना साकार भयो । अब राष्ट्रिय टिममा लामो समय खेलौँ भन्ने इच्छा छ’ जितेन्द्रले भने ।

टिममा चुनौती छ

सन् २०१४ मा नेपालले विश्वकप खेल्दा र अहिलेको टिममा धेरै फरक छ । टिममा नयाँ कप्तान युवा खेलाडीहरुको बाहुल्य छ । त्यो बेलाका कप्तान पारस खड्काले सन्यास लिइसके । अर्का खेलाडी शक्ति गौचनले पनि सन्यास लिइसके । सन् २०१४ मा नेपाललाई विश्वकप पुर्‍याउने पुबुदु दसानायके भने अहिले पनि प्रशिक्षकको भूमिकामा छन् ।

सन् २०१३ मा पुबुदुले नै जितेन्द्रलाई राष्ट्रिय टिममा ल्याएका थिए । २०१४ को विश्वकप खेल्ने टिममा रहेका जितेन्द्रसहित पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र प्रदिप ऐरी मात्र अहिले टिममा छन् ।

राष्ट्रिय टिममा आएका नयाँ खेलाडीका जितेन्द्रले केही चुनौती महसुस गरेका छन् । ‘मेरो लागि मैले आफूले पुस गर्नुपर्छ । हरेक कुरामा योजना गर्नुपर्छ । चुनौतीहरु छ । त्यसमा आफूले कस्तो गर्न सकिन्छ भन्नेमा भर पर्छ’ उनी भन्छन् ।

विश्वकपमा पुग्ने विश्वास

दोस्रो पटक टी-२० विश्वकप खेल्ने लक्ष्यसहित नेपाली क्रिकेट टोली अहिले ओमानमा छ । ग्लोबल क्वालिफायरमा समूह ए मा नेपालसहित ८ टिम छन् । जसमध्ये दुई टिममात्र अष्ट्रेलियामा अक्टोबर नोभेम्बरमा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।

त्यसैले छनोटमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने चुनौती छ । समूह चरण पार गर्दै सेमिफाइनल पनि जितेर फाइनल पुगेपछि मात्र विश्वकप पुगिन्छ । यस पटक थोरै टिम र फरक स्थिति रहेकाले क्वालिफायरका खेल प्रतिस्पर्धात्मक छ । जितेन्द्र पनि त्यही मान्छन् । तर टिम राम्रो रहेको उनको बुझाई छ ।

‘हामीसंग सन्तुलित टिम छ । ब्याट्सम्यानहरु फर्ममा छन् र बलरहरु पनि राम्रा छन् । आशा छ हामी यो क्वालिफायरमा राम्रो गर्दै विश्वकपमा छनोट हुनेछौँ’  जितेन्द्रले विश्वास राखेका छन्, ‘राम्रो गर्नका लागि खेल्छौँ तर क्रिकेट हो जे पनि हुन सक्छ ।’

आईसीसी टी-२० ग्लोबल क्वालिफायर क्रिकेट जितेन्द्र मुखिया

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय