+
+

एमसीसीमा वार कि पार !

अमेरिकी सहायकमन्त्रीसँग तीन नेताको तीनथरी कुरा, मन्त्रीको चेतावनी : एमसीसी अनुमोदन नभए नेपाललाई थप अप्ठ्यारो पर्न सक्छ

बिनु सुवेदी बिनु सुवेदी
२०७८ माघ २७ गते २१:५७

२७ माघ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारेको अलमल अब वार कि पारको चरणमा प्रवेश गरेको छ । एमसीसीलाई लिएर सत्ता गठबन्धनभित्रै चर्काे मतभेद रहेका बेला अमेरिकाले समेत थप पर्खिन नसक्ने बताएपछि नेताहरु दबावमा छन् ।

बिहीबार अमेरिकी सहायकमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर यही फेब्रुअरी २८ अर्थात् फागुन १६ एमसीसी अनुमोदनको अन्तिम मिति हो भनेर स्मरण मात्रै गराएका छैनन्, अनुमोदन नभए नेपाललाई थप अप्ठ्यारो पर्ने चेतावनी दिएका छन् । तर नेपालका शीर्ष नेताहरुबाट भने उनले फरक–फरक जवाफ पाएका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आफू एमसीसी सम्झौता संसदमा टेबल गर्न आतुर रहेको र अहिले सबै दलहरुलाई सहमत गराउन प्रयासरत रहेको बताएका छन् । देउवा निकट स्रोतले अनलाइनखबरलाई भनेअनुसार कम्युनिस्टहरुले अघि बढ्न नदिएका कारण एमसीसी राजनीतिक मुद्दा बनेको उनको भनाइ थियो । १६ फागुनअघि नै एमसीसी संसदमा टेबल गराएर मतदान हुने वातावरण बनाउन आफूले हरसम्भव प्रयास गरेको जानकारी लुलाई दिएका छन् ।

त्यसपछि बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समेत देउवाले एजेण्डामै नभएको एमसीसीबारे छलफल गराएका छन् । देउवाले एमसीसीबारे थप प्रष्ट पार्न नेता डा. रामशरण महतलाई भनेका थिए । महतले एमसीसीबारे ब्रिफिङ गरेपछि अधिकांश नेताहरुले अनुमोदन गर्नुपर्ने धारणा राखेका छन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीलाई संसदबाट अघि बढाउनुपर्ने नेताहरुको धारणा रहेको बताउँछन् । ‘माओवादी समेतको संयुक्त सरकारको पालामा एमसीसी अघि बढेको हो । त्यसैले एमसीसीबारेको त्यो अन्यौललाई पनि चाडै समाप्त पार्न संसदमार्फत अघि बढाउनुपर्छ, अरु दलहरुको सहमति जुटाउनुपर्छ’ प्रवक्ता महतले भने, ‘यो विषयलाई संसदमा प्रवेश पनि नगराउने र भ्रमको खेती गराउनका लागि ठाउँ दिनुहुँदैन, संसदमा छलफल भयो भने ठूलो बहुमतका साथ यो पारित हुनसक्छ ।’

नेताहरुका अनुसार अहिले पनि देउवाको पहिलो प्रयास सबै दलहरुको सहमतिमा एमसीसीलाई संसदबाट अनुमोदन गराउने नै हो । त्यसका लागि उनले सत्ता र प्रतिपक्षी दलहरुसँग बारम्बार छलफल गरेका छन् । तर सत्ताधारी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुका बीचमा मत एकता नहुँदा अध्यक्षहरुले एमसीसी अनुमोदन गराउने सहमति दिन सकेका छैनन् ।

बिहीबार बिहान प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा पनि सहमति जुटेन । देउवाले एमसीसी अनुमोदन गरेर जाऔं र अब बस्ने संसद बैठकमा टेबल गरौं भन्ने प्रस्ताव गरेका थिए । तर नेपाल र प्रचण्डले एमसीसीलाई चुनाव पछाडि सार्न आग्रह गरे ।

देउवा भने अब एमसीसीलाई संसदमा टेबल गराउनैपर्छ भन्नेमा पुगेको जवाफ दिएको बताएको बालुवाटार स्रोतले जानकारी दियो । प्रचण्ड र नेपालले भने पार्टीमा कुनै पनि हालतमा सहमति जुट्न नसक्ने भन्दै थप समय मागेका थिए । ‘बरु गठबन्धन टुटोस्, एमसीसी अघि बढाउनुपर्छ भन्नेमा देउवाजी दृढ हुनुहुन्छ’ एक नेताले भने, ‘हामी पनि बरु गठबन्धन टुटोस्, यही हालतमा पारित गर्न हुँदैन भन्नेमा दृढता छ । प्रचण्ड र माधवजी पनि यसमा दृढ हुनुहुन्छ ।

स्रोतका अनुसार एमसीसी सम्झौता संशोधनका लागि अमेरिकासँग प्रस्ताव गर्न प्रचण्ड र माधव नेपालले आग्रह गरेबमोजिम नै प्रधानमन्त्री देउवाले अमेरिकी सहायकमन्त्री लुसँग संवाद गरेका हुन् । तर मन्त्री लुले एमसीसी संशोधन हुनै नसक्ने बरु फागुन १६ सम्म अनुमोदन नगरिए फिर्ता लैजाने जवाफ दिए ।

त्यसपछि मन्त्री लुको फोन प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पालैपालो गएको हो । ओली र प्रचण्डसँग मन्त्री लुले एकै आशयको कुरा गरेका थिए ।

उनले नेपालमा चीनको हस्तक्षेप बढ्दै गएको र एमसीसी पारित हुन नसक्नुमा चीनकै हात रहेको भनेर बुझ्न अमेरिका बाध्य हुने बताएका थिए । जवाफमा दुवै नेताले चीनको हस्तक्षेपभन्दा नेपालको आन्तरिक राजनीतिका कारण एमसीसी अप्ठ्यारोमा परेको जिकिर गरेका छन् ।

एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा जसले एमसीसी अघि बढाउन रोकेका थिए, तिनै नेताहरु अहिले पनि लागेको बताए । साथै यसपालि चाहिं आफ्नो हातमा केही पनि नरहेको जवाफ दिएका छन् ।

‘अध्यक्षज्यूलाई अमेरिकी सहायकमन्त्रीले अब संशोधन गर्न नसकिने र थप पर्खिन पनि नसकिने कुरा स्पष्टै रुपमा भन्नुभयो’ ओली निकट एक नेताले भने,‘अध्यक्षज्यूले संसदमा आए एमसीसीलाई एमालेले अप्ठ्यारो नपार्ने भए पनि सभामुखले संसदमै ल्याउन नदिएपछि हामीले थप केही गर्न नसकिने बताउनुभयो ।’

एमाले नेताहरु सार्वजनिक रुपमा सत्ता गठबन्धनभित्रै एकमत नभएकाले एमसीसीबारे अहिले आफूहरु बोलिरहनु उचित नहुने बुझाइमा छन् । यद्यपि ओलीले देउवालाई गठबन्धन टुटाउने शर्तमा एमसीसी अनुमोदनका लागि सरकारलाई जुनसुकै बेला सहयोग गर्न तयार रहेको बताइसकेका छन् ।

ओलीसँगको संवादपछि सहायकमन्त्री लुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि फोन गरेर एमसीसी संशोधन नहुने बताएका छन् । प्रचण्डले आफू परियोजना अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेपनि पार्टीभित्र मतभेद रहेकाले केही समय पर्खिन आग्रह गरेका थिए ।

तर सहायकमन्त्री लुले अब पर्खिन नसक्ने र पारित नभए नेपालका नेताहरु चीनको कुरा सुनेर एमसीसीको विरोधमा लागेको भनेर आफूले बुझ्ने बताएका छन् । ‘हाम्रो अध्यक्ष प्रचण्डले एमसीसी अघि बढाउने पक्षमा नै आफूहरु रहेको र त्यसलाई चुनावसम्म स्थगित गरिदिन आग्रह गर्नुभएको थियो’ प्रचण्ड निकट एक नेताले भने, ‘तर उताबाट सकारात्मक जवाफ आएन । बरु एमसीसी फिर्ता भए नेपाललाई थप अप्ठ्यारो पर्ने चेतावनी आयो ।’

अमेरिकी सहायकमन्त्री लुसँगको संवादपछि अरु दलहरुसँग थप छलफल गर्नुपर्ने भन्दै प्रचण्डले शुक्रबारका लागि डाकिएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक नै स्थगित गरिदिएका छन् । एमसीसी अनुमोदन गर्ने प्रतिबद्धतासहित अमेरिकालाई पठाएको पत्र सार्वजनिक भएपछि पार्टीभित्रै पनि दबावमा परेका प्रचण्ड लुसँगको फोन संवादपछि थप अप्ठ्यारोमा परेका छन् ।

अमेरिकी सहायकमन्त्रीले नेपाललाई थप अप्ठ्यारो पर्न सक्ने चेतावनी दिएकाले अब संसदमा अनुमोदनका लागि टेबल गर्नैपर्ने अर्काे दबाव देउवालाई पनि छ । तर सभामुख अग्नि सापकोटा संसदमा एमसीसीबारे छलफल अघि बढाउन तयार छैनन् । त्यसैले एमसीसीका कारण मुलुकको विदेश सम्बन्ध मात्रै होइन, आन्तरिक राजनीति थप पेचिलो बन्नसक्ने आकलन नेताहरुको छ ।

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?