Comments Add Comment

आमा तिमी बोल्नुपर्छ, म पनि बोल्छु

नेपालमा ११० औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा नेपाली महिलामा के कति परिवर्तन आयो ? वर्षेनी नारी दिवस मनाउनुको औचित्य महिलाहरुको हक, अधिकार र सम्मानको मात्र कुरा होइन, यससँगै राष्ट्रको समृद्धि जोडिनुपर्छ ।

एउटा घर, समाज वा राष्ट्र मात्र नभएर पुरै विश्वलाई नै कल्पना गर्दा महिलाविनाको संसार कति निरस होला ? त्यसैले महिलाको प्रगति भनेको समग्र विश्वको प्रगति हो ।

नारी दिवसको अभियान र उत्सव नारी वर्ग विशेषप्रति मात्र लक्षित नभएर प्रगतिपथको एउटा अभियान हो । तसर्थ, नारी दिवसका दिन महिला सशक्तीकरणका लागि गरिएको चार्ज नसकियोस भनी रिचार्ज गरेर पुनःताजकीकरण गर्न उर्जा थप्ने दिनका रुपमा बर्षेनी मनाउने गरिन्छ ।

देशभर अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइरहँदा ग्रामीण क्षेत्र तथा वास्तविक पीडित श्रमिक महिलालाई भने यो दिवस के हो भन्नेसमेत थाहा छैन ।

थुप्रै महिला नेतृ तथा देशका मुख्य नेतृत्वले महिला हक अधिकारका आवाजहरु उठाएको पनि धेरै भयो । तर, आवाजमात्रै सुनिए । आवाजमै सीमित भए, व्यवहारमा लागु भएनन् । दुर्गम क्षेत्रका महिलाहरुको अवस्थाका बारेमा उनीहरुका आँखा जाँदैनन् ।

वास्तवमा नारी दिवस जसका लागि मनाइन्छ, उनै अनविज्ञ छन् । बलात्कारमा परेकीलाई कहिले आउँछ महिला दिवस ? दाइजो नल्याएको निहुँमा चरम यातना सहन नसकी आफ्नै शरीर जलाउनेलाई कहिले आउँछ यो दिवस ? जवानीमै श्रीमानको मृत्युपछि सिन्दुर, पोते, चुरासँगै भाग्य फुटेकीलाई कहिले आउँछ यो दिवस ? रजश्वला भई छाउपडीमा सुतेकीलाई कहिले आउँछ महिला दिवस ? साँच्चै घरभित्रदेखि समाजसम्म हिंसामा परेकीलाई कहिले आउँछ यो दिवस ?

महिला दिवसको प्रभावकारितालाई अहिलेको समयमा दूर–दराजसम्म पुर्याउन जरुरी छ । महिला सुरक्षित भएको भान हुनु जरुरी छ । महिलाको बाँच्न पाउने अधिकारको सुनिश्चितता हुनुपर्छ ।

आज पनि गाउँका महिलाहरु आफ्ना हक अधिकारका विषयमा जानकारी नै नभई विभिन्न हिंसा भोग्न बाध्य छन भने आफूले भोगेका हिंसालाई आफू महिला भएकैले सामान्य रुपमा लिई त्यसलाई सहने बानी परिसकेको छ ।

महिलाहरुलाई साँचोको झुप्पोकी मालिक्नी र रिमोट कन्ट्रोलकी हाकिम्नीमा मात्रै सीमित राख्ने पुरुषवादी चिन्तन अझै हटेको छैन । जबसम्म महिला आर्थिक रुपमा सशक्त र आत्मनिर्भर हुँदैनन्, तबसम्म उनीहरुमाथि हिंसा कम हुँदैन ।

अरु देशका नारीहरु चन्द्रमामा पुगिसके, हाम्रा देशका नारीहरु घाँसका भारीले किचिएका छन् । सारीको सप्कोमै रमाइरहेका छन् । एउटा रेशमी फरिया, सुनबुट्टे चोलीको आशामा हजारौं नारीको चोला सकिएको छ ।

अरु देशका नारीहरु चन्द्रमामा पुगिसके, हाम्रा देशका नारीहरु घाँसका भारीले किचिएका छन् । सारीको सप्कोमै रमाइरहेका छन् ।

आवश्यकता वा परिस्थितिले मात्र मान्छेलाई आत्मनिर्भर बन्नुपर्छ भन्ने सोचले अघि बढ्ने हो भने आर्थिक क्षेत्रमा हाम्रो विकास र परिवर्तन कहिल्यै हुँदैन । महिलालाई आत्मनिर्भर बनाउन पनि अर्थोपार्जन आवश्यक छ ।

आत्मनिर्भर महिलाहरु निर्भिक हुन्छन् भन्ने कुरा त प्रमाणित भइसकेको छ । हरेक क्षेत्रमा अर्थपूर्ण महिला सहभागिता हुने हो भने समृद्धि आकाशको फल होइन, दैलोे अगाडि फलेको मेवा हो ।

महिलामाथि वस्तुसरह व्यवहार भइरहेका छन् । महिलालाई सधैं आफ्ना आकांक्षा परिपूर्ति गर्ने माध्यम बनाइन्छ । पुरुषका लागि त महिला एउटा उपभोग्य वस्तु हो, जुन वस्तुमा उसले आफूखुसी उपभोग चाहान्छ ।

महिलालाई राम्री बनाएर उपभोग गर्ने चाहानामा श्रृंगारका सामान बनाउने काम पुरुषबाट नै भएको छ । महिलाहरु त्यही लगाएर मख्ख परेका छन् । हिल भएका जुत्ता लगाएर महिलालाई दौडन नसक्ने बनाएर आक्रमणका लागि सजिलो बनाइदिएको महिलाले कहिले बुझ्ने ? खुट्टामा पाउजू लगाएर त्यसको आवाज मार्फत आफू नजिक भए–नभएको जनाउ दिइरहेको महिलाले कहिले बुझ्ने ?

पोथीहरुको हुलमा भालेले मच्चाउने बितण्ड प्रवृत्ति जस्तै सामाजिक अपराधहरुमा पुरुषहरु कै संलग्नता बढी देखिन्छ । यसरी हेर्दा कहिलेकाँही लाग्छ, कतै यो सृष्टिमै पुरुष जाति बितण्डाका लागि मात्र सिर्जित भएको त होइन । एक गम्भीर विषय हुन सक्छ यो ।

समाजमा केही पुरुषहरु अनुशासनहीन भइरहँदासम्म महिलाहरु हिंसाको शिकार हुनैपर्ने हो त ? पुरुष जति चेतनशील होस् अथवा बुद्धिमान, कानुन जति समान बनोस्, महिलाहरु शारीरिक, सामाजिक र संवेगात्मक रुपले बलिया नहुँदासम्म पुरुषले हेपीरहने जस्तो देखियो ।

विभेद अन्त्यका लागि नीति होइन, नियत परिवर्तन हुन जरुरी छ । नारी दिवस मनाउँदैमा वा विभिन्न प्रतिवद्धता जनाउँदैमा मानिसको सोचमा परिवर्तन आउँदैन, त्यसका लागि जीवनका हरेक आयामहरुमा होस, जागरुकता र सजगता कायम राख्न सक्नुपर्छ । र, सोचलाई सकारात्मक बनाउन जरुरी छ ।

हाम्रा कर्महरु र कर्मका फलहरु हाम्रै सोचका कारणहरु हुन् । समानता र स्वतन्त्रताका कुरा घरबाट सुरु गरौं र आफैबाट सुरु गरौं । दिनभरि नारी स्वतन्त्रताको वकालत गर्दै हिँड्ने एउटी महिला आफ्नै घरमा छोरी र बुहारीलाई फरक व्यवहार गर्छिन् । एक शिक्षित शहरीया नारी छोरा र छोरीबीच फरक व्यवहार गर्छिन् ।

अहिलेको समयमा सोच परिवर्तन भएको छ । मानिसको जीवनशैली फेरिएको छ र सोहीअनुरुप महिला हिंसाका स्वरुपहरु पनि फेरिएका छन् ।

संस्कार र इज्जतका नाममा हिजो बाबुले स्कुल गएकी छोरीको बिहेको कुरा छिन्दा बाल विवाह गर्न हुँदैन भनेर बोल्न नसक्ने आमा, छोरीको शरीरलाई गिद्दले लुछे जस्तोगरी लुछ्दा छोरीमाथि वैवाहिक बलात्कार भयो भनेर भन्न नसक्ने आमा, ज्वाइँले हरेक दिन विभिन्न लाञ्छना लगाउँदै छोरीलाई मरणासन्न कुटपिट गर्दा छोरी माथि घरेलु हिंसा भयो भनेर भन्न नसक्ने आमा, छोरीको जातलाई मारे पाप पाले पुण्य भन्दै कन्यादान दिएपछि उनीहरुको सेवा गर्नुपर्छ सबै चुपचाप सहनुपर्छ, त्यसैमा माइतीको इज्जत रहन्छ, तिमी घर फर्किजाउ छोरी, बरु एकछाक खाउ भनी छोरी फकाउँदा, अपराधीलाई कानूनको कठघरामा लान नसकेका आमा, आज आमाहरु अन्यायको विरुद्धमा बोल्ने भएका छन् ।

आज आमाहरु अन्यायको विरुद्धमा बोल्ने भएका छन् ।

आज आमाछोरीका साथमा संविधान बोल्छ । फौजदारी र देवानी संहिता बोल्छ । अन्यायको विरुद्धमा हरेक महिला बोल्छन् । बोल्न सक्ने बनाउनुपर्छ ।

प्रकृतिले सिर्जना गर्दा नै महिला र पुरुषको हिसाबमा मानिसको सिर्जना गरेको छ । अस्तित्वले दिएको स्वभाव र अधिकार कसैले खोसेर खोसिँदैन । लैङ्गिक समानताका लागि आवाज उठाउँ । आफ्नो अधिकारका बारेमा जानकारी राखौं । रुढीवाढी सोच र अभ्यासलाई त्यागौं ।
विषाक्त पुरुषत्वको प्रदर्शन बन्द गरौं । जात लिङ्ग, यौनिक पहिचान, छालाको रङ्गका आधारमा गरिने विभेदलाई कुनै पनि तरिकाले समर्थन नगरौं । आउँदो पुस्तालाई सही शिक्षा दिउँ ।

नेपालको संविधानमै महिला हक अधिकारका सम्बन्धमा अनेकन व्यवस्था छन् । नीति निर्माणदेखि राजनीतिक सहभागिता अनि अरु धेरै पक्षबाट महिला सहभागितालाई प्राथमिकतामा राखिएको छ । कुनै पनि क्षेत्रमा महिलाले आफ्नो सक्षमता प्रस्तुत गर्नसक्ने हो भने अवसर प्रशस्तै छन् ।

अब महिलाहरुले आरक्षणमा मात्र सीमित नभएर प्रत्यक्ष सहभागिता जनाउँदै आफ्नो क्षमता प्रस्तुत गर्न सक्नुपर्छ । समान हकका लागि आफैंले गरेर देखाउने बेला आएको छ ।

आशा गरौं, अबका दिनमा महिला भएका कारणले कसैले हेप्न सक्ने छैनन् र समान हकका लागि झण्डा बोकेर सडकमा उत्रिन पर्ने छैन ।

जय नारी !

(सीमा वन कृषि विकास बैंक बुटवल शाखाकी शाखा प्रबन्धक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment