Comments Add Comment

मानसरोबर खुल्ने–नखुल्ने अन्योल, हवाई र टुर व्यवसायी मारमा

२६ फागुन, काठमाडौं । कोरोनाको त्रासले गर्दा तिब्बतको चर्चित धार्मिक गन्तव्य कैलाश–मानसरोवरको यात्रा अन्योलमा परेको छ । यसबाट नेपाली हवाई कम्पनी तथा टुर व्यवसायीहरू मारमा परेका छन् ।

वार्षिक करिब ३० हजार हाराहारी भारतीय तीर्थयात्रु कैलाश–मानसरोवरको यात्रामा निस्कने गर्छन् । झण्डै एक हजार हाराहारी नेपालीसमेत त्यहाँ पुग्ने गरेका छन् । मानसरोवर जाने यात्रुको मुख्य गन्तव्य काठमाडौं–नेपालगन्ज–हिल्सा हो । भारतबाट सीधै नेपालगञ्ज आएर हिल्सा हुँदै पनि ठूलो संख्यामा पर्यटक मानसरोवर पुग्छन् ।

वैशाखदेखि भदौ (मे–सेप्टेम्बर) सम्म कैलाश यात्राको मुख्य सिजन हो । यात्राको बुकिङ गर्ने समय भने अहिले हो । तर, चीनमा फैलिएको कोरोनाको महामारीले गर्दा मानसरोवरमा जान तीर्थयात्रुहरु हच्किएका छन् । चीनले कैलाश यात्रा खुलाउने वा बन्द गर्ने भन्नेबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन । जसले गर्दा टूर र हवाई कम्पनीले समेत बुकिङ लिन नसकेको हेलिकोप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज शर्मा (कँडेल) ले जानकारी दिए ।

‘एक त चीनले खोल्ने–नखोल्ने निर्णय गरिसकेको छैन,’ उनले भने, ‘अर्कोतर्फ तीर्थ यात्रु सबैमा मानसिक त्रास छ ।’

भारतीय तीर्थालुका लागि नेपालको मार्ग सहज मानिन्छ । खासगरी भारतको राजधानी नयाँदिल्ली हुँदै कैलाश यात्रामा जानेहरूका लागि नेपालको रुट बढी उपयोगमा आउँछ ।

हवाई कम्पनी मारमा

वसन्त ऋतु नेपाली पर्यटनका लागि सबैभन्दा उर्वर मानिन्छ । यसबेला पर्वतारोहणका लागि ठूलो संख्यामा पर्यटक आउँछन् । त्यसकारण हवाई र हेलिकोप्टर कम्पनीको ध्यान लुक्लामा केन्द्रित हुन्छ । यसलगत्तै सुरु हुने कैलाश यात्राको सिजनले हवाई कम्पनीलाई ठूलो विजनेश दिने गरेको छ ।

काठमाडौं–नेपालगन्ज रुटमा ठूला हवाई कम्पनीले यात्रु बोक्छन् । नेपालगन्ज–सिमिकोट साना हवाईजहाजले यात्रु ओसार्छन् । सिमिकोटबाट भने हिल्सासम्म हेलिकोप्टर प्रयोग गरिन्छ । यसबाहेक काठमाडौं–ल्हासा हवाईमार्ग प्रयोग गरेर समेत मानसरोवरको यात्रामा पुग्न सकिन्छ । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै ल्हासासँगको हवाईमार्गमा अहिले उडान हुन सकेको छैन ।

स्थलमार्गमा समेत समस्या

नेपालको बाटो हुँदै मानसरोवर पुग्ने अर्को रुट काठमाडौं–केरुङ हो । तर, केरुङ नाकासमेत अहिले बन्द रहेको छ । काठमाडौं–रसुवागढी हुँदै केरुङ पुगेपछि सडकमार्गबाट मानसरोवर पुग्न सकिन्छ । अर्कोतर्फ काठमाडौं–तातोपानी रुट हुँदै पनि मानसरोवर पुग्न सकिन्छ ।

तर, यी रुट कैलाश यात्राका लागि चीनले खोल्छ या खोल्दैन भन्ने अन्यौल छ । सोही कारण कुनै पनि व्यवसायीले कैलाश यात्राका लागि बुकिङ लिन सकिरहेका छैनन् । त्यसो त बर्सेनि ठूलो संख्यामा भारतीय पर्यटक नेपालको मार्ग प्रयोग नगरी नै कैलाश पुग्न सक्छन् । भारतको सिक्किमबाट सीधै कैलाश जान सकिने भए पनि त्यो रुट मौसमका कारण कठिन हुने र चीन र भारतको राजनीतिक मामिलाका कारण समेत झन्झटिलो मानिन्छ । सोहीकारण सम्भव भएसम्म भारतीय नागरिक नेपाली बाटो हुँदै कैलाश–मानसरोवर जान रुचाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment